राष्ट्र सङ्घीय विशेष प्रतिवेदनकर्तासमक्ष सहयात्राको ज्ञापनपत्र
नेपालTouch
टोरन्टो। सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय सञ्जाल ('सहयात्रा) ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्की समकालीन जातीय भेदभाव, विदेशीप्रति घृणा र असहिष्णुता विषयक विशेष प्रतिवेदनकर्ता अश्विनी के.पी. समक्ष एक ज्ञापनपत्र बुझाएको छ।
उनको क्यानाडा भ्रमणका क्रममा ज्ञापन पत्र बुझाउँदै संस्थाले क्यानाडामा जात तथा वंशमा आधारित भेदभावलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताका रूपमा स्पष्ट मान्यता दिन राष्ट्रसङ्घसँग आग्रह गरेको छ।
सञ्जालका सभापति डा. द्रोण प्रकाश रसाली र अध्यक्ष सन्तोष विश्वकर्माद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा क्यानाडाका अधिकारीहरू तथा अन्तर्राष्ट्रिय निकायहरूलाई यहाँको मानव अधिकार ढाँचामा रहेको "ब्लाइन्ड स्पट" (अदृश्य पक्ष) लाई सम्बोधन गर्न आग्रह गरिएको छ।
क्यानाडाको बहुसंस्कृतिवाद र जातीय भेदभावविरोधी प्रतिबद्धताको प्रशंसा गर्दै संस्थाले जातमा आधारित विभेद अब दक्षिण एसियामा मात्र सीमित नरहेको कुरामा जोड दिएको छ। सहयात्राले बेलायती कोलम्बियाको मानव अधिकार ट्रिब्युनलले कार्यस्थलमा हुने जातीय गालीगलौजबारे गरेको निर्णय र अन्टारियो मानव अधिकार आयोगको निर्देशिकालाई उद्धृत गर्दै डायस्पोरा समुदायको दैनिक जीवन, रोजगारी, शिक्षा र सामाजिक सम्बन्धमा अझै पनि जातीय विभेदको प्रभाव कायमै रहेको उल्लेख गरेको छ।
विशेष प्रतिवेदनकर्तासमक्ष राखिएका प्रमुख मागहरू:
१. स्पष्ट कानुनी मान्यता: जातलाई अन्य व्यापक श्रेणीमा मात्र सीमित नराखी सङ्घीय, प्रान्तीय र क्षेत्रीय मानव अधिकार कानुनमा भेदभावविरुद्धको संरक्षित आधारका रूपमा स्पष्ट समावेश गर्ने।
२. राष्ट्रिय ढाँचा: जातीय भेदभावबारे स्पष्ट परिभाषा, उजुरी प्रणाली, संस्थागत मार्गदर्शन र जनचेतनाका लागि एकीकृत राष्ट्रिय ढाँचा तयार गर्ने।
३. तथ्याङ्क सङ्कलन: क्यानाडामा जातीय भेदभावको दायरा र प्रभावको सही मूल्याङ्कन गर्न नैतिक एवं समुदाय-सूचित तथ्याङ्क सङ्कलन विधि लागू गर्ने।
४. संस्थागत सचेतना: सार्वजनिक निकाय, रोजगारदाता, विद्यालय र स्वास्थ्य संस्थाहरूलाई जातमा आधारित विभेद र उत्पीडन रोक्न लक्षित मार्गदर्शन तथा तालिम प्रदान गर्ने।
५. समान सहभागिता र नेतृत्व: दलित तथा जात-प्रभावित समुदायका व्यक्तिहरूको नीति निर्माणमा प्रत्यक्ष सहभागिता र नेतृत्व सुनिश्चित गर्ने; साथै जातले लिङ्ग, गरिबी तथा बसाइँसराइसँग कसरी अन्तरसम्बन्ध राख्छ भन्नेमा विशेष ध्यान दिने।
६. वैश्विक नेतृत्व: सन् २०२५ मा क्यानाडाको जी-७ अध्यक्षता र दक्षिण अफ्रिकाको जी-२० अध्यक्षताका क्रममा पेस गरिएका ज्ञापनपत्रहरूका आधारमा क्यानाडाले वंशमा आधारित भेदभावविरुद्ध अन्तर्राष्ट्रिय पहलका लागि आफ्नो बहुपक्षीय पहुँचको प्रयोग गर्ने।
उक्त ज्ञापनपत्र मे २०२५ मा टोरन्टोमा आयोजित 'जातीय भेदभावमुक्त विश्वका लागि विश्व सम्मेलन' द्वारा पारित १७-बुँदे वैश्विक एजेन्डा 'टोरन्टो घोषणापत्र' मा आधारित छ।
ज्ञापनपत्रमा भनिएको छ, "हाम्रो यो प्रस्तुति कुनै पनि धर्म, संस्कृति वा समुदायलाई जन्मजात भेदभावपूर्ण चित्रण गर्ने उद्देश्यले गरिएको होइन। हाम्रो मुख्य सरोकार जन्म र वंशका आधारमा कायम रहेको वंशाणुगत विभेदको प्रणालीसँग हो। जातीय भेदभावको सामना गर्नु धार्मिक स्वतन्त्रता, बहुसंस्कृतिवाद र मानव मर्यादाप्रतिको क्यानडाको प्रतिबद्धतासँग पूर्ण रूपमा अनुकूल छ।"
विशेष प्रतिवेदनकर्ताको मूल्याङ्कन अवधिभर समुदायका प्रमाण, थप कागजात र साक्षीहरू उपलब्ध गराएर राष्ट्रसङ्घको यस प्रयासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता सञ्जालले पुनः दोहोर्याएको छ।
उक्त अवसरमा क्यानाडामा रहेका अन्य सरोकारवाला सङ्घ-संस्थाका प्रतिनिधिहरूले पनि क्यानाडामा हुने जातीय भेदभावका विषयमा आफ्ना धारणा राखेका थिए।

सम्बन्धित खबर










.png)











तपाईंको प्रतिक्रिया