• शुक्रबार, २३ असोज, २०८३
  • Friday, 09 October, 2026
  • X

ब्राम्पटनमा वृद्धाको १९ हजार डलरको गहना लुटियो

नेपालTouch
बुधबार असोज २१, २०८३ | Wednesday October 07,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडाको पिल क्षेत्रमा मानिसको ध्यान भड्काएर गरिने चोरीका घटना बढेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ब्राम्पटनमा एक वृद्ध महिलाबाट करिब १९ हजार क्यानाडेली डलर मूल्य बराबरको सुनका गरगहना चोरी भएपछि प्रहरीले यस्तो चोरीको जोखिमबारे चेतावनी दिएको हो।

पिल क्षेत्रीय प्रहरीका अनुसार गत जुलाई २८ मा साँझ करिब ६ बजे चिङ्कुजी रोड र स्यान्डलवुड पार्कवे वेस्ट क्षेत्रमा हिँडिरहेकी महिलालाई सेतो रङको कारमा आएका दुई महिलाले रोकेका थिए।

उनीहरूमध्ये एक महिला गाडीबाट ओर्लिएर पीडितको खुट्टा छोएपछि उनलाई अँगालो हालेकी थिइन्। त्यही क्रममा उनले वृद्ध महिलाले लगाएको सुनको सिक्री फुकालेर त्यसको ठाउँमा धातुको सिक्री लगाइदिएकी थिइन्। साथै उनको हातमा रहेका तीनवटा सुनका चुरा पनि चोरी गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान पिल प्रहरीको २२ डिभिजनअन्तर्गतको आपराधिक अनुसन्धान ब्युरोले गरिरहेको छ।

प्रहरीका अनुसार यस वर्ष जनवरी १ देखि हालसम्म पिल क्षेत्रमा ध्यान भड्काएर गरिने चोरीका २६६ वटा घटना दर्ता भइसकेका छन्। सन् २०२४ मा यस्ता घटना २५ वटा रहेकामा २०२५ मा बढेर २२२ पुगेका थिए।

यस्ता चोरीका घटनामा एक वा बढी व्यक्तिले पीडितको ध्यान अन्यत्र मोडेर पैसा, पर्स, गरगहना, मोबाइललगायतका सामान चोरी गर्ने गर्छन्। प्रहरीले विशेषगरी एक्लै हिँडिरहेका वृद्धवृद्धालाई निशाना बनाउने गरेको जनाएको छ।

अधिकांश घटना दिउँसो हुने गरेका छन्। प्रहरीका अनुसार यस वर्ष दर्ता भएका यस्ता चोरीमध्ये करिब ८५ प्रतिशत घटना दिउँसो १२ बजेदेखि ४ बजेसम्म भएका छन्। त्यस्तै, ७७ प्रतिशत घटनामा सुनका सिक्री, चेन, लकेटलगायतका गरगहना चोरी भएको पाइएको छ।

प्रहरीका अनुसार यस्ता घटनामा संलग्न व्यक्तिहरूले अपरिचित व्यक्तिसँग बाटो सोध्ने, उपहार दिने, कुराकानी सुरु गर्ने वा सहयोग गर्ने बहानामा नजिकिने गरेका छन्। कतिपय अवस्थामा आफूलाई मैत्रीपूर्ण वा सहयोगी देखाएर पीडितको विश्वास जित्ने प्रयाससमेत हुने गरेको प्रहरीले जनाएको छ।

पिल क्षेत्रीय प्रहरीका उपप्रमुख मार्क एन्ड्र्युजले यस्ता घटना केही सेकेन्डमै हुन सक्ने भन्दै अपरिचित व्यक्तिले अस्वाभाविक रूपमा नजिकिन खोजे दूरी कायम गर्न आग्रह गरेका छन्।

उनले केही असहज वा शंकास्पद लागे कुराकानी अन्त्य गरेर त्यहाँबाट टाढा जान, आफ्ना सामान सुरक्षित राख्न र वरपरको अवस्थाबारे सचेत रहन आग्रह गरेका छन्।

प्रहरीले सर्वसाधारणलाई अपरिचित व्यक्तिसँग अनावश्यक शारीरिक सम्पर्कबाट जोगिन, आफ्नो वरपरको गतिविधिमा ध्यान दिन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। सम्भव भए घटनामा संलग्न व्यक्तिको हुलिया र प्रयोग गरिएको सवारीसाधनको विवरण टिपोट गर्न पनि प्रहरीले सुझाव दिएको छ।

यसबारे कुनै जानकारी भए पिल क्षेत्रीय प्रहरीलाई ९०५–४५३–२१२१ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया