• शुक्रबार, २३ असोज, २०८३
  • Friday, 09 October, 2026
  • X

क्यानेडियन साहित्यकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

नेपालTouch
बिहीबार असोज २२, २०८३ | Thursday October 08,2026
-Agency

टोरन्टो । क्यानाडाकी प्रसिद्ध कवि तथा निबन्धकार एन कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। स्टकहोमस्थित स्वीडिश एकेडेमीले बिहीबार ७६ वर्षीया क्यानेडियन साहित्यकार कार्सनलाई सन् २०२६ को नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

स्वीडिश एकेडेमीका अनुसार शास्त्रीय साहित्य परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गर्दै समकालीन साहित्यमा नयाँ आयाम थपेबापत उनलाई यो सम्मान दिइएको हो। पुरस्कारको घोषणा हुँदा कार्सन आइसल्यान्डमा थिइन्।

टोरन्टोमा जन्मेकी कार्सनले क्यानाडा र अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरिसकेकी छन्। सन् १९८४ मा पहिलो कविता संग्रह प्रकाशित गरेकी उनका ‘इरोस द बिटरस्वीट’, ‘ग्लास, आइरनी एन्ड गड’ तथा ‘अटोबायोग्राफी अफ रेड’ जस्ता कृतिहरू चर्चित छन्।

सन् २००२ मा उनले बेलायतको प्रतिष्ठित ‘टिएस एलियट पुरस्कार’ जितेकी थिइन्। यो पुरस्कार पाउने उनी पहिलो महिला हुन्। यसका साथै उनले क्यानाडाको गभर्नर जनरल अवार्ड र पेन अमेरिका साहित्य पुरस्कार पनि प्राप्त गरिसकेकी छन्।

क्यानाडामा जन्मिएका साहित्यकारले साहित्यतर्फको नोबेल पुरस्कार पाएको यो तेस्रो पटक हो। यसअघि सन् १९७६ मा सोल बेलो र सन् २०१३ मा एलिस मुनरोले यो पुरस्कार पाएका थिए।

नोबेल पुरस्कार विजेताले १२ मिलियन स्वीडिश क्रोनर (लगभग १७ लाख क्यानेडियन डलर) प्राप्त गर्नेछन्। पुरस्कार आगामी डिसेम्बर १० मा स्वीडेनमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ।

तपाईंको प्रतिक्रिया