मानिस—भाषा—संस्कृति सम्बन्ध
मोदनाथ खनाल
नेपाली चाडपर्वहरू धमाधम आइरहेका छन्, तर हामी नेपालबाट धेरै टाढा छौँ। मनोवैज्ञानिक, चेतसिक र शारीरिक हिसाबले पनि आफ्नो भाषा र संस्कृतिबाट टाढा हुँदा कस्तो असर पर्न सक्ला भनेर हामी प्रामाणिक रूपमा पुष्टि नै त गर्न सक्दैनौँ, तर पनि आध्यात्मिक हिसाबले बौद्धिक व्याख्या तथा विश्लेषण गर्न सकिन्छ। खासगरी योगशास्त्रका हिसाबले विज्ञानबाट प्रमाणित हुन नसक्ने कुरालाई आत्मानुभूत गरेर योगीहरू बोध गर्न सक्छन्। तसर्थ हामी हाम्रो स्वास्थ्यलाई बाहिरी वा शारीरिक र मानसिक हिसाबले मात्र हेर्न सक्दैनौँ, आत्मिक वा आध्यात्मिक हिसाबले पनि हेर्नुपर्छ; जसमा मनोवैज्ञानिक प्रभाव महत्त्वपूर्ण हुन्छ।
मानिस आफैँमा एउटा समग्र पहिचान हो। तर फेरि मानिसभित्रै अनेकौँ पहिचानका आयामहरू छन्। शरीर एवं चेतनाविज्ञानका हिसाबले मानिस एउटै हो। हरेक सामान्य मानिसको शरीरमा हुने शारीरिक संरचना उस्तै हो, मस्तिष्कको स्वरूप पनि उस्तै हो। मनोविज्ञान पनि आधारभूत रूपमा उस्तै हो, तर पनि मानिस बाहिरी चरित्रमा फरक देखिन्छ। त्यही बाहिरी चरित्रलाई हामी पहिचान भन्छौँ। बाहिरी अनुहार, रङ तथा पहिरन अनि जीवनशैलीका आधारमा मानिस अनेक मौलिक समुदायमा विभाजित छन्। अनेकौँ भाषाहरू छन्, संस्कृतिहरू छन्। मानिसका यी बाहिरी आवरणहरूलाई नै लौकिक हिसाबले पहिचानको मान्यता दिइएको छ, तर पनि लामो समयको अभ्यासबाट बाहिरी जीवनशैलीको छाया मानिसको आन्तरिक जीवनमा पर्दै नपर्ने चाहिँ होइन। खासगरी मानिसले बोल्ने भाषा र अपनाएको सांस्कृतिक अभ्यासबाट मनोविज्ञानमा गहिरो प्रभाव नपर्ने कुरै हुँदैन। मानिसका साझा इच्छा र आकाङ्क्षाहरूबाहेक समाज, भाषा तथा संस्कृतिजन्य भावनाहरू, विश्वास एवं मान्यताबाट पनि मानिसको मनोविज्ञान तयार हुन सक्छ।
मानिसले बोल्ने भाषा र अपनाएको सांस्कृतिक अभ्यासबाट मनोविज्ञानमा गहिरो प्रभाव नपर्ने कुरै हुँदैन।
हाम्रो बोलीबाट पनि स्वभाव, चरित्र र इच्छालगायतका मनोभावहरूको बिम्ब झल्किन्छ। बोली, शब्द र ध्वनि भनेको ‘स्फोट’ हो। स्फोट अर्थात् ध्वनि नित्य अर्थात् अविनाशी हुन्छ। हामी बोल्दा मुख मात्रै प्रयोग गर्दैनौँ, शारीरिक हाउभाउसहित बोल्छौँ, शरीरका सम्पूर्ण भावहरू प्रस्तुत गर्छौं। रिसाएर बोल्दा अनुहार रातो हुन्छ, भित्रैदेखि खुसी भएर बोल्दा अनुहारमा कान्ति पैदा हुन्छ। रोकिँदै बोल्दै गर्दा र नरोकिइकन धाराप्रवाह बोल्दा अभिव्यक्तिमा मात्रै स्पष्टता हुने होइन, शरीर र दिमागमा भएका हर्मोन या अन्य स्रावहरू तीव्र गतिमा प्रवाहित हुन्छन्, जसले गर्दा हरेक कोशिका (सेल) हरूमा रगतलगायतका अन्य अति महत्त्वपूर्ण रसायनहरू (न्यूरो केमिकल्स) पुग्छन्। यसले हाम्रो शारीरिक तथा मानसिक शुद्धीकरणमा मद्दत पुग्छ।
जब हामी आफ्नो मूल भाषाको ठाउँ छाडेर अर्कै भाषिक क्षेत्र (Linguistic Zone) मा पुग्छौँ, त्यतिबेला त्यहीँको भाषा हामीले प्रयोग गर्नुपर्ने हुन्छ। सानैदेखि बोलिएको भाषामा जस्तै स्वाभाविक गति र वाचिक सरलता अरू भाषामा हुने कुरै भएन। अरू भाषा बोल्दा स्वाभाविक रूपमा हाम्रो शरीरका अवयवहरू र स्नायु ग्रन्थिहरू (Nervous Glands) मा बढी भार पर्न जान्छ अनि हामी छिट्टै थाकेको अनुभव गर्छौं। आफ्नो भाषा बोल्दा हामी पर्याप्त विरेचन आनन्द प्राप्त गर्छौं, तर अरू भाषा बोल्दा त्यस्तो विरेचन आनन्द पाउन सकिन्न।
विदेशमा सबैको एउटै गुनासो हुन्छ— "म थाकेको छु, शिथिल भएको छु।" कार्यालयबाट घर फर्किएपछि एकछिन भए पनि सुत्ने वा आराम गर्ने चलन छ। घर फर्किँदा सवारी चलाउँदाचलाउँदै नै निद्राले झुपुक्क बनाउने, बस या ट्रेनको यात्रा गर्नेहरू निदाएर आफ्नो ओर्लिनुपर्ने स्टेसन नै ‘मिस’ गरेर अन्यत्रै पुग्ने कैयौँ उदाहरणहरू पाइन्छन्। नेपालमा हुँदा पनि त्यति काम गरेकै हो, तर दिमाग र शरीर त्यसरी थाक्दैनथ्यो भन्नेहरू धेरै हुनुहुन्छ। यसको मूल कारण नै हाम्रो शरीर, मन र मस्तिष्कले नयाँ ठाउँ, नयाँ भाषा एवं नयाँ परिवेशसँग धक मानिरहेको छ। आत्मविश्वासको अभाव भइरहेको हुन्छ, अपनत्वको कमी रहेको हुन्छ। "म अर्कैको देशमा र अर्कैको अधीन (अन्डर) मा छु" भन्ने मनोविज्ञानले काम गरिरहेको हुन्छ। यसबाट नजानिँदो ढङ्गले हाम्रो शक्ति क्षीण भइरहेको हुन्छ। प्रमस्तिष्क मेरुद्रव (Cerebrospinal Fluid) नै पर्याप्त मात्रामा पैदा भइरहेको हुँदैन। हाम्रो सम्पूर्ण शरीर र मस्तिष्कलाई सिञ्चन गर्ने द्रव नै प्रमस्तिष्क मेरुद्रव हो। दकस (संकोच), भय र हीनताबोध जस्ता अनुभूतिबाट शरीरमा यस्ता स्राव वा द्रव क्रमशः कम हुँदै जान्छन्। भएको द्रव पनि गुणात्मक हुँदैन, जसले गर्दा हाम्रो आत्मबल, मनोबल र शरीरबल घट्दै जान्छ।
संस्कृति जीवनपद्धति भएकाले आफू जन्मिएको र हुर्किएको ठाउँ छाडेपछि त्यो सांस्कृतिक जीवनपद्धति पनि छुट्छ। मनमा या चेतनामा त हुन्छ, तर स्मृतिमा मात्र।
संस्कृतिको कुरा पनि यस्तै हो। संस्कृति जीवनपद्धति भएकाले आफू जन्मिएको र हुर्किएको ठाउँ छाडेपछि त्यो सांस्कृतिक जीवनपद्धति पनि छुट्छ। मनमा या चेतनामा त हुन्छ, तर स्मृतिमा मात्र। अनेकौँ चाडपर्वहरू हाम्रा संस्कृति हुन् र हरेक दिन हामीले गर्ने व्यवहार, हाम्रा विचारका रङ, भावनाका तरङ्ग—सबै नै हामीले अभ्यास गर्दै आएका सांस्कृतिक मान्यताबाट अनुप्राणित भएका हुन्छन्। जब हामी बिदेसिन्छौँ, तब यस्ता विचार, भावना एवं इच्छाहरू खुम्चिँदै जान्छन्। यसको अर्थ हाम्रो रसिलो मन बिस्तारै शुष्क हुँदै जान्छ। जब मन निरस बन्छ अर्थात् सुक्दै जान्छ, हाम्रो मन, मस्तिष्क र शरीर पनि छिटो थाक्छ; सानो कुराले पनि तर्साउँछ, आत्मबल घटाउँछ र निराशा पैदा हुन्छ। जीवनप्रतिको रम्यतापूर्ण दृष्टि ढाकिँदै जान्छ। अलि कमजोर मान्छे त निराशा र चिन्ताजस्ता मानसिक समस्याबाट पनि ग्रस्त हुन्छन्।
तर जुन ठाउँमा गइन्छ, त्यो ठाउँका पनि आफ्नै छुट्टै विशेषता र सकारात्मकता हुन्छन्। जुन कुराको अभाव एवं वितृष्णा या बाध्यताका कारण बिदेसिएको छ, त्यहाँ अन्य विषयवस्तुको सहजताका कारण आफूले गुमाइरहेका भावनात्मक या आत्मीय कुराको क्षतिपूर्ति पनि भइरहेको हुन्छ। उदाहरणका लागि, नेपालमा हुँदा भोगिरहेको आर्थिक अभाव, रोजगारीको अभाव, पक्षपात वा विभेदजस्ता विषयहरूको पीडा बिदेसिएपछि धेरै कम हुन्छ नै। जस्तोसुकै भए पनि काम पाएको हुन्छ र त्यो कामले आफ्नो आधारभूत आवश्यकता पूरा भएको छ भने चित्त बुझाउने बाटो हुन्छ। अहिलेको समाज यसै पनि बढी भौतिकवादी भएका कारण मानिसहरू भौतिक प्राप्तिमा नै सबैभन्दा बढी खुसी पाउँछन्। यस अर्थबाट पनि बिदेसिएका नेपालीहरूले धेरै मानसिक क्षति भोग्नुपरेको देखिँदैन।
तैपनि गुमाइने विषयहरू धेरै नै छन्। पहिलो पुस्ता त जसोतसो आफ्नो भाषा र संस्कृतिसँग घुलमिल भइरहेकै छ। तर दोस्रो पुस्तालाई आफ्नो पुर्खाको भाषा र संस्कृतिप्रति खासै मोह हुँदैन। अभिभावकको करकापबाट मात्रै उनीहरू नेपाली भाषा र संस्कृतिप्रति केही आबद्ध भएजस्तो गर्छन्, तर मनैदेखि सम्बद्ध हुँदैनन्। उनीहरूले संस्कृतिको आकार त अलिअलि देख्छन्, तर भित्रको न्यानो महसुस गर्न सक्दैनन्; अनि उनीहरूमा गहिरो लगाव हुनै सक्दैन। दोस्रो पुस्ताका जति छन्, उनीहरू अर्कै संस्कृतिमा पनि गइहाल्दैनन्। आफ्नो पुर्खाको प्रभाव, दबाब र जिम्मेवारीबाट उनीहरू टाढिन पनि सक्दैनन्। यसरी दोस्रो पुस्ता संस्कृतिको अनुपम स्वाद लिने अवसरबाट वञ्चित भइरहेको छ।
यति मात्रै नभएर भाषाले पनि संस्कृतिलाई टाढा बनाइदिन्छ, किनभने भाषाले संस्कृति बोकिरहेको हुन्छ। खासगरी नेपाली भाषा र संस्कृति, संस्कृत भाषा र वैदिक ज्ञान-चेतनाबाट अनुप्राणित भएको हुनाले नेपाली र संस्कृत भाषाको ज्ञान नहुनासाथ सांस्कृतिक सभ्यता र मधुरताको आनन्द लिन सक्ने कुरा भएन। जन्मिएदेखि नै दसैँ, तिहारलगायतका पर्व, यी पर्वहरू मनाउन आफ्ना बा-आमाले गर्नुभएको तयारी, सामाजिक माहोल अनि पर्वहरूको मौसमी भाव तथा समग्र बस्तीको एकमुष्ट आनन्दबाट समाजमा तरङ्गित हुने रसिलो उमङ्ग विदेशमा प्राप्त गर्नै सकिँदैन।
-एडमण्टन, क्यानाडा

सम्बन्धित खबर.png)

.png)

.png)









.png)













तपाईंको प्रतिक्रिया