काठमाडौंमा भेटिएका नेपाली युवती र भियतनामी युट्युबरले गरे विवाह
नेपालTouch
काठमाडौंको एक रेस्टुरेन्टमा भएको सामान्य भेटघाटबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत भएको छ। भियतनामी युट्युबर हा भान भाङ र नेपाली युवती सोनाम पाल्जोमले गत अक्टोबर २८ मा भियतनामको आन जियाङ प्रान्तमा विवाह गरेका हुन्।
भियतनामको समाचार संस्था 'भिएनएक्सप्रेस'का अनुसार २९ वर्षीय भाङ सन् २०२६ को सुरुवातमा युट्युबका लागि भिडियो बनाउन श्रीलंका, भारत हुँदै नेपाल आएका थिए। काठमाडौंमा रहँदा उनी नियमित रूपमा एउटा रेस्टुरेन्टमा जाने गर्थे। त्यही रेस्टुरेन्टमा काम गर्ने २२ वर्षीया पाल्जोमको उनीसँग भेट भएको थियो।
भाङ क्यामेरा लिएर रेस्टुरेन्ट आउने गरेको देखेपछि पाल्जोमलाई उनको कामबारे जिज्ञासा भयो। उनले भाङको युट्युब च्यानल खोजेर भिडियोहरू हेर्न थालिन्। यात्राका क्रममा दर्शकबाट प्राप्त सहयोग आवश्यक परेका मानिसलाई बाँड्ने गरेको देखेपछि उनी भाङप्रति आकर्षित भएको बताएकी छन्।
भाङ लुम्बिनी जाने तयारीमा रहेको थाहा पाएपछि पाल्जोमले उनीसँग तस्बिर खिच्ने इच्छा व्यक्त गरिन्। त्यसपछि उनीहरू सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहे। अंग्रेजी भाषामा कुराकानी गर्न थालेका उनीहरूबीच एक सातासम्म निरन्तर संवाद भयो। त्यसक्रममा पाल्जोमले आफू भाङप्रति आकर्षित भएको बताइन्।
भाङले नेपालमा आफू कति समय बस्ने भन्ने निश्चित नभएको बताउँदा पनि पाल्जोम सम्बन्ध अघि बढाउन तयार भइन्। त्यसको दुई सातापछि उनी काठमाडौंको जागिर छाडेर लुम्बिनी पुगिन् र भाङसँगै बस्न तथा उनका यात्रामा सहभागी हुन थालिन्।
दुवैको बाल्यकाल सहज थिएन। भाङले परिवारलाई सहयोग गर्न कक्षा पाँचमै पढाइ छाडेका थिए। पाल्जोमले पनि सानै उमेरमा बुबा गुमाएकी थिइन्। छ दाजुभाइ तथा दिदीबहिनी भएको परिवारमा हुर्किएकी उनले भाङका भिडियो छायाङ्कनमा सहयोग गर्नुका साथै परोपकारी यात्रामा दोभाषेको भूमिका पनि निर्वाह गरिन्।
विदेशी युवकसँग छोरीको सम्बन्धबारे पाल्जोमको परिवार सुरुमा चिन्तित थियो। उनी भर्खरै विद्यालय तहको पढाइ सकेर काम गर्न थालेकी थिइन्। भविष्यमा विदेश जानुपर्ने अवस्था आउन सक्ने भन्दै परिवारले भाङलाई काठमाडौंमै भेट्न चाह्यो। परिवारका सदस्यसँग भेटेर कुराकानी गरेपछि भाङको व्यवहार र इमानदारीप्रति उनीहरू विश्वस्त भए र सम्बन्धलाई स्वीकार गरे।
जुलाईमा भाङको पर्यटक भिसाको अवधि सकिएपछि उनी कागजी प्रक्रिया मिलाउन भियतनाम फर्कने तयारीमा थिए। सुरुमा पाल्जोम नेपालमै बसेर उनको प्रतीक्षा गर्ने योजना थियो। तर छुट्टिनुपर्ने समय नजिकिँदै जाँदा दुवै भावुक भए। पाल्जोम रोएको देखेपछि उनलाई पनि सँगै भियतनाम लैजाने निर्णय गरेको भाङले बताएका छन्।
भियतनाम पुगेपछि पाल्जोमलाई भाङको परिवारले स्वागत गरेको थियो। भाषा, खानपान र रहनसहन फरक भए पनि परिवारको सहयोग र धैर्यका कारण उनी त्यहाँको वातावरणमा घुलमिल हुँदै गइन्।
पाल्जोमलाई भियतनाममा दीर्घकालीन रूपमा बस्न सहज होस् भन्ने उद्देश्यले अक्टोबर २८ मा विवाह गर्ने निर्णय गरिएको थियो। कागजी प्रक्रियाका कारण उनकी आमा विवाहमा सहभागी हुन सकिनन्। तर दुई दिदी र बाल्यकालदेखि हेरचाह गर्दै आएका काकाले उनको परिवारको प्रतिनिधित्व गरेका थिए।
भाङ र उनका बुबाले हो चि मिन्ह सहरस्थित तान सोन न्हाट विमानस्थलबाट पाल्जोमका आफन्तलाई लिन गाडीको व्यवस्था गरेका थिए। भियतनाम बसाइका क्रममा उनीहरूको खानपान, आवास र यात्राको खर्च पनि भाङको परिवारले बेहोरेको थियो।
करिब ४०० जना पाहुनाको उपस्थितिमा भएको विवाहमा पाल्जोमका आफन्तले भाङको परिवारका सदस्यलाई सेतो खादा लगाइदिएका थिए। तिब्बती संस्कृतिमा खादा सम्मान, शुभेच्छा र पवित्रताको प्रतीक मानिन्छ। विवाह समारोहमा पाल्जोमका काकाले उनका दिवंगत बुबाको प्रतिनिधित्व गर्दै परम्पराअनुसार उनलाई दुलाहाको जिम्मा लगाएका थिए।
भाङका सामाजिक सञ्जालका दर्शकले पनि उनीहरूको विवाहमा सहयोग गरेका थिए। अस्ट्रेलियामा बस्ने एक भियतनामीले विवाह खर्चका लागि एक करोड भियतनामी डङ (करिब तीन हजार नौ सय अमेरिकी डलर) सहयोग गरेका थिए। अमेरिकामा रहेका अर्का दर्शकले उनीहरूलाई लत्ताकपडा र सौन्दर्य सामग्री पठाएका थिए।
आफ्नो जन्मभूमि छाडे पनि परिवार गुमाएको महसुस नभएको पाल्जोमले बताएकी छन्। बरु माया र साथ दिने अर्को परिवार पाएकोमा आफू खुसी रहेको उनको भनाइ छ।

सम्बन्धित खबर











.png)



.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया