• मंगलबार, ९ मङ्सिर, २०८३
  • Tuesday, 24 November, 2026
  • X

एआईका कारण ब्ल्याक फ्राइडेका अनलाइन ठगी चिन्न कठिन

नेपालTouch
सोमबार मङ्सिर ८, २०८३ | Monday November 23,2026

टोरन्टो। क्यानाडामा ब्ल्याक फ्राइडेको किनमेल नजिकिँदै गर्दा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएका नक्कली विज्ञापन र अनलाइन पसलका कारण उपभोक्तालाई वास्तविक र ठगीपूर्ण प्रस्ताव छुट्याउन कठिन हुन थालेको छ।

रोयल बैंक अफ क्यानाडा (आरबीसी) ले ब्ल्याक फ्राइडेअघि गरेको सर्वेक्षणमा सहभागी ७२ प्रतिशत क्यानाडालीले एआईका कारण अनलाइनमा वास्तविक र नक्कली सामग्री छुट्याउन लगभग असम्भवजस्तै भएको बताएका छन्। यस वर्ष नोभेम्बर २७ मा ब्ल्याक फ्राइडे मनाइँदै छ।

आरबीसीका क्रेडिट तथा ठगी व्यवस्थापनसम्बन्धी वरिष्ठ उपाध्यक्ष अमित साधुका अनुसार ठगी गर्नेहरूले एआईको प्रयोग गरेर वास्तविक पसलजस्तै देखिने नक्कली वेबसाइट बनाउने र सामाजिक सञ्जाल तथा मोबाइल सन्देशमार्फत आकर्षक छुटका विज्ञापन फैलाउने गरेका छन्।

उनका अनुसार पहिले अनलाइन ठगीका संकेतका रूपमा हिज्जेमा गल्ती, अस्वाभाविक वाक्य संरचना वा कमजोर डिजाइनलाई लिन सकिन्थ्यो। तर एआईको प्रयोगले यस्ता पुराना संकेत हराउँदै गएका छन्।

अहिले सामाजिक सञ्जालमा देखिने विज्ञापन वा मोबाइलमा आउने छुटसम्बन्धी सन्देशले उपभोक्तालाई वास्तविकजस्तै देखिने नक्कली पसलसम्म पुर्‍याउन सक्छन्।

आरबीसीको सर्वेक्षणअनुसार आधाभन्दा बढी क्यानाडालीले सामाजिक सञ्जालमा नियमित रूपमा नक्कली पसलका विज्ञापन देख्ने गरेका छन्। तर अपरिचित ब्रान्ड वा अनलाइन पसलबाट किनमेल गर्नुअघि त्यसको विश्वसनीयता जाँच नगर्ने उपभोक्ता पनि छन्।

साधुका अनुसार आकर्षक छुट गुम्ने डर र छिटो किनमेल गर्ने प्रवृत्तिका कारण उपभोक्ता पसलको वास्तविकता जाँच नगरी भुक्तानी गर्न पुग्छन्। त्यसैले सामाजिक सञ्जालमा देखिएको लिङ्कबाट सिधै किनमेल गर्नुको सट्टा सम्बन्धित पसलको आधिकारिक वेबसाइटमा गएर छुटको प्रस्ताव वास्तविक हो कि होइन जाँच गर्न उनले सुझाव दिएका छन्।

अपरिचित पसलबाट सामान किन्नुअघि ग्राहकका प्रतिक्रिया र समीक्षाको सङ्ख्या दुवै हेर्नुपर्ने उनको सुझाव छ। शङ्का लागेमा क्रेडिट कार्डको विवरण राख्नुअघि विश्वासिलो व्यक्तिसँग सल्लाह लिन पनि उनले आग्रह गरेका छन्।

सर्वेक्षणमा सहभागीमध्ये करिब आधाले कुनै कुरा शङ्कास्पद लागेपछि किनमेलको निर्णयबाट पछि हटेको बताएका छन्। साधुले बलिया पासवर्ड प्रयोग गर्न, दुई तहको प्रमाणीकरण सुविधा सक्रिय राख्न र बैंक खातामा हुने कारोबारको तत्काल सूचना प्राप्त गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिएका छन्। यसले अपरिचित कारोबार भएमा समयमै थाहा पाउन मद्दत गर्नेछ।

तपाईंको प्रतिक्रिया