अपहरणको भिडियो आफैँ बनाएर सहानुभूति खोजेको ‘क्रिप्टो किङ’माथि आरोप
नेपालTouch
टोरन्टो। क्यानाडामा ‘क्रिप्टो किङ’का रूपमा चिनिएका एडेन प्लेटर्स्कीले आफू अपहरणमा परेको भिडियो लगानीकर्ताको सहानुभूति पाउन आफैँ बनाएको आरोप प्रतिरक्षा पक्षका वकिलले लगाएका छन्।
अपहरण तथा फिरौती असुलीसम्बन्धी मुद्दामा टोरन्टोस्थित अन्टारियोको सर्वोच्च अदालतमा बिहीबार भएको सुनुवाइका क्रममा प्रतिरक्षा पक्षका वकिल लिओरा शेमशले प्लेटर्स्कीले अपहरणको घटना नाटकका रूपमा प्रस्तुत गरेको दाबी गरिन्। उनले प्लेटर्स्कीले लगानीकर्ताको सहानुभूति पाउन भिडियो तयार गरेको जिकिर गरेकी हुन्। प्लेटर्स्कीले भने उक्त आरोप अस्वीकार गरेका छन्।
भिडियोमा प्लेटर्स्कीको अनुहारमा कुटपिटका चोट देखिन्छन्। उनले लगानीकर्तासँग माफी माग्दै उनीहरूको रकमबारे स्पष्टीकरण दिएका छन्। सुनुवाइका क्रममा उक्त भिडियो पहिले नै अदालतमा प्रस्तुत गरिएको थियो। शेमशले भिडियोमा प्लेटर्स्कीले प्रयोग गरेका शब्द र उल्लेख गरेका व्यक्तिगत विवरणबारे प्रश्न उठाउँदै अपहरणकै क्रममा उनले ती सबै कुरा कसरी बताए भन्ने जिज्ञासा राखिन्।
शेमशले भिडियो लगानीकर्तामाझ फैलियोस् र उनीहरूले प्लेटर्स्कीलाई देखेर सहानुभूति जनाऊन् भन्ने उद्देश्यले बनाइएको हुन सक्ने तर्क गरिन्। उनका अनुसार लगानीकर्ताले दिवालियापनसम्बन्धी प्रक्रियामार्फत आफ्नो रकम फिर्ता लिन प्रयास गरिरहेका थिए।
प्लेटर्स्कीले भने आफूलाई अपहरणकारीहरूले नै भिडियो रेकर्ड गर्न लगाएको बयान दिएका छन्। सन् २०२२ डिसेम्बरमा तीन दिनसम्म बन्धक बनाइएका बेला आफूलाई कुटपिट र यातना दिइएको तथा ज्यान जाने डर भएको उनले अदालतमा बताएका छन्। अपहरणकारीहरूले आफूले गरेको सबै गल्ती स्वीकार गर्न लगाएको उनको भनाइ छ।
करिब १४ मिनेट लामो भिडियोमा आफूले बोलेका केही कुरा सत्य, केही झुटा र केही अपहरणकारीको निर्देशनमा बोलेको उनले स्वीकार गरेका छन्। पूर्वघरधनी सन्दीप गुप्ताले आफ्नो सम्पत्ति लुकाएको भन्ने कुरा पनि अपहरणकारीहरूलाई छुटकारा पाउनका लागि भनेको उनको जिकिर छ। गुप्ताले भने यसअघि अदालतमा बयान दिँदै प्लेटर्स्कीको सम्पत्ति लुकाएको आरोप अस्वीकार गरेका थिए।
सुनुवाइमा प्लेटर्स्कीले दिवालियापनको प्रक्रिया सुरु हुनुअघि आफ्ना केही महँगा गाडी र रोलेक्स तथा ज्याकोब एन्ड कम्पनीका घडी गुप्ताकहाँ राखेको विवरण पनि आएको थियो। तीन लाख डलरभन्दा बढी मूल्यमा किनेको भनिएको ज्याकोब एन्ड कम्पनीको घडी बिक्री गरेको तर कसलाई र कहिले बेचेको भन्ने आफूलाई याद नभएको प्लेटर्स्कीले बताएका छन्।
यसै मुद्दामा अर्का प्रतिवादी अकिल हेवुडका वकिल हुसेन अलीले पनि प्लेटर्स्कीमाथि प्रश्न गरेका थिए। उनले प्लेटर्स्कीले लगानीकर्ताको रकम व्यक्तिगत विलासितामा खर्च गरेको र आफ्नो लगानी योजनामा भएको ठगी तथा अपहरणसम्बन्धी बयानमा झुट बोलेको आरोप लगाए।
अलीले प्लेटर्स्कीले र्यापर ड्रेकको घरमा आयोजित पार्टीमा सहभागी भएको विषय पनि उठाएका थिए। हेवुड र ड्रेकबीच चिनजान रहेको तथा हेवुडका साथीको सुरक्षा कम्पनीबाट प्लेटर्स्कीले सुरक्षा सेवा लिएको विषयमा उनले प्रश्न गरे। प्लेटर्स्कीले भने ड्रेकको घरमा हेवुड पनि आउने आफूलाई थाहा नभएको र त्यहाँ भेट हुँदा हेवुडले आफ्नो रकम मागेको बताएका छन्।
अदालतमा प्रस्तुत अभियोजन पक्षको दाबीअनुसार हेवुडले प्लेटर्स्कीको लगानी योजनामा रकम गुमाएका थिए र अपहरणको योजनामा उनको मुख्य भूमिका थियो। हेवुड, अल्फ्रेडो पालाडिनो र राकिम हेनरीमाथि सन् २०२२ डिसेम्बरमा प्लेटर्स्कीलाई अपहरण गरी फिरौती मागेको आरोप छ। तीनै जनाले आरोप अस्वीकार गर्दै आएका छन्। पालाडिनो र हेनरीमाथि हतियार तथा कुटपिटसम्बन्धी थप अभियोग पनि लगाइएको छ।
२८ वर्ष पुगेका प्लेटर्स्की गत महिना लगानीकर्ताबाट ३ करोड क्यानेडियन डलरभन्दा बढी रकम लिएर त्यसको दुरुपयोग गरेको ठगी मुद्दामा दोषी ठहर भएका थिए। उनले उक्त रकम लगानीकर्ताका तर्फबाट कारोबार गर्न लिएको भए पनि ठूलो हिस्सा आफ्नो विलासी जीवनशैलीमा खर्च गरेको अभियोजन पक्षको दाबी थियो। उनलाई सजाय भने सुनाउन बाँकी छ।
तीन प्रतिवादीविरुद्धको अपहरण तथा फिरौतीसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ। प्लेटर्स्कीमाथि प्रतिरक्षा पक्षको जिरह शुक्रबार पनि जारी रहने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर





.png)


.png)




.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया