पाँच वर्षमा २ लाख ६० हजार भारतीयले लिए क्यानाडाको नागरिकता
नेपालTouch
अन्टारियो। सन् २०२० देखि २०२४ सम्म आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) का सदस्य राष्ट्रबाट ९ लाख २० हजारभन्दा बढी भारतीयले नागरिकता लिएका छन्।
अन्तरसरकारी संगठन ओईसीडीको ‘अन्तर्राष्ट्रिय आप्रवासन परिदृश्य’ प्रतिवेदनअनुसार सन् २०१५ देखि २०१९ सम्मको पाँच वर्षमा ६ लाख ५० हजार भारतीयले ती देशको नागरिकता लिएका थिए। पछिल्लो अवधिमा यो संख्या ४१ प्रतिशतले बढेको हो।
भारतीयले नागरिकता लिएका देशमध्ये क्यानाडा पहिलो स्थानमा छ। सन् २०२० देखि २०२४ सम्म २ लाख ६० हजार भारतीयले क्यानाडाको नागरिकता लिएका छन्।
यो संख्या सन् २०१५ देखि २०१९ को तुलनामा १५० प्रतिशत बढी हो। अमेरिका, बेलायत र अस्ट्रेलियामा पनि भारतीयले ठूलो संख्यामा नागरिकता लिएको प्रतिवेदनमा उल्लेख छ।
क्यानाडा, अमेरिका, अस्ट्रेलिया, बेलायत र न्युजिल्यान्ड भारतीयका लागि नागरिकता प्राप्त गर्ने प्रमुख गन्तव्य बनेका छन्। सन् २०२४ मा मात्रै यी पाँच देशमा करिब २ लाख ३० हजार भारतीयले नागरिकता पाएका थिए।
यसैबीच, भारत सरकारले सन् २०२० देखि २०२४ सम्म करिब नौ लाख भारतीयले आफ्नो नागरिकता त्यागेको जनाएको छ।
भारतको विदेश मन्त्रालयले संसद्लाई दिएको जानकारीअनुसार सन् २०२० मा ८५ हजार २५६, सन् २०२१ मा १ लाख ६० हजार, सन् २०२२ मा २ लाख २० हजार, सन् २०२३ मा २ लाख १० हजार र सन् २०२४ मा २ लाख भारतीयले नागरिकता त्यागेका थिए।
ओईसीडी सदस्य राष्ट्रमा अध्ययनका लागि जाने भारतीय विद्यार्थीको संख्या पनि बढेको छ। सन् २०२४ मा ती देशका विश्वविद्यालयमा ८ लाख २० हजार भारतीय विद्यार्थी अध्ययनरत थिए।
यो संख्या चीनपछि दोस्रो ठूलो हो। सन् २०१५ देखि २०२४ सम्म ओईसीडी सदस्य राष्ट्रमा अध्ययन गर्ने भारतीय विद्यार्थीको संख्या झन्डै चार गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार सन् २०२४ मा ओईसीडीका ३८ सदस्य राष्ट्रमा स्थायी आप्रवासन घटेको थियो। सन् २०२४ मा स्थायी आप्रवासनको विश्वव्यापी औसत ४.७ प्रतिशतले घटेको थियो भने सन् २०२५ मा थप १.६ प्रतिशतले कमी आएको थियो।
भारतबाट ओईसीडी राष्ट्रमा हुने आप्रवासन सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले घटेको थियो। उक्त वर्ष पाँच लाखभन्दा कम भारतीय ती देशमा पुगे पनि भारत आप्रवासीको प्रमुख स्रोत राष्ट्र बनेको प्रतिवेदनले जनाएको छ।
बेलायत जाने भारतीयको संख्या सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आधाले घटेर ६६ हजारमा सीमित भएको थियो। अस्ट्रेलिया, क्यानाडा र अमेरिकामा जाने भारतीयको संख्या पनि केही घटेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित खबर





.png)





.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया