• मंगलबार, २५ कार्तिक, २०८३
  • Tuesday, 10 November, 2026
  • X

हेरिटेज सोसाइटी एडमन्टनले मनायो सामुहिक तिहार

नेपालTouch
मंगलबार कार्तिक २५, २०८३ | Tuesday November 10,2026

 एडमन्टन। नेपाल हेरिटेज सोसाइटी अफ एडमन्टन, अल्बर्टा, क्यानाडाद्वारा दीपावली तथा तिहारको शुभकामना आदानप्रदान तथा देउसी कार्यक्रम सम्पन्न गरेको छ।

नोभेम्बर ७ को साँझ एलेक्जेन्ड्रा कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा करिब १४० जनाको सहभागिता रहेको आयोजक संस्थाका कल्चरल डाइरेक्टर विनय ज्ञवालीले जानकारी दिए। संस्थाका पूर्वअध्यक्ष भूपेन्द्र लामिछानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सामूहिक लक्ष्मी पूजा, देउसी-भैलो, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। बालबालिकाहरूलाई तिहारसम्बन्धी जानकारीमूलक हाजिरीजवाफ गराउँदै तिहारको विशेषता र सांस्कृतिक महत्त्वको विषयमा सचिव सुरज खतिवडाले प्रकाश पारेका थिए।

सामूहिक देउसी-भैलो कार्यक्रममा प्राञ्जल अधिकारी, सृष्टि लम्साल, प्रशुभा ढकाल र सुनिता पराजुली, तथा सुरज खतिवडा र विनय ज्ञवालीको नेतृत्वमा देउसी-भैलो खेलिएको थियो। त्यस अवसरमा संकलित दक्षिणा संस्थाको हितका लागि खर्च गरिने संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले जानकारी दिए। 

कार्यक्रममा नेपालबाट आफ्ना सन्तान भेट्न आएका बुबाआमाहरूको पनि उल्लेख्य सहभागिता थियो। कावासोती, नेपाल स्थायी बसोबास भएका भुवानीप्रसाद तिवारीले संस्थाले गरेको देउसी-भैलोको निकै प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गरिरहनुपर्नेमा जोड दिए। गैँडाकोटबाट छोरा-बुहारी र नातिनातिनाहरू भेट्न आएकी विष्णुमाया पाण्डेले देउसी-भैलोको माहोलले नेपालमै भए जस्तो लागेको प्रतिक्रिया दिएकी थिइन्। 

संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले संस्थाले कला र संस्कृति जगेर्नाका लागि भविष्यमा पनि सामूहिक रूपमा चाडपर्व मनाउने क्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। लक्ष्मी पूजा र देउसी-भैलोमा सहभागी ४१ जना बालबालिकाहरूलाई संस्थाका तर्फबाट टीका एवं दक्षिणा प्रदान गरिएको थियो।

-भूपेन्द्र लामिछाने, एडमन्टन 

तपाईंको प्रतिक्रिया