• मंगलबार, २५ कार्तिक, २०८३
  • Tuesday, 10 November, 2026
  • X

अटावामा जीवनयापन गर्न प्रतिघण्टा २४.१० डलर आवश्यक

नेपालTouch
मंगलबार कार्तिक २५, २०८३ | Tuesday November 10,2026

अन्टारियो। क्यानाडाको राजधानी अटावामा आधारभूत जीवनयापनका खर्च धान्न कामदारले प्रतिघण्टा कम्तीमा २४.१० क्यानेडियन डलर कमाउनुपर्ने देखिएको छ। यो अन्टारियोको हालको न्यूनतम ज्याला १७.९५ डलरभन्दा ६.१५ डलर बढी हो।

ओन्टारियो लिभिङ वेज नेटवर्कले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदनअनुसार अटावाको जीवनयापनयोग्य ज्याला गत वर्षको तुलनामा ३ प्रतिशत बढेको छ।

सन् २०२५ मा अटावाका लागि यस्तो ज्याला प्रतिघण्टा २३.४० डलर तोकिएको थियो। यस वर्ष अन्टारियोका १० वटै क्षेत्रमा जीवनयापनयोग्य ज्याला बढेको छ।

प्रतिवेदनअनुसार अटावामा भएको वृद्धि प्रदेशका अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी हो। ग्रेटर टोरन्टो क्षेत्रमा जीवनयापनयोग्य ज्याला प्रतिघण्टा २७.६० डलर पुगेको छ, जुन प्रदेशका क्षेत्रमध्ये सबैभन्दा उच्च हो।

जीवनयापनयोग्य ज्याला निर्धारण गर्दा खाद्यान्न, आवास, लत्ताकपडा, यातायात, बाल हेरचाह, स्वास्थ्यसम्बन्धी खर्च, मोबाइल फोन र अन्य आधारभूत आवश्यकतालाई समेटिएको छ।

यसका लागि दुई सन्तान भएका दम्पती, सात वर्षको एक सन्तानसहितका एकल अभिभावक र एकल वयस्क गरी तीन प्रकारका परिवारको खर्चलाई आधार बनाइएको छ।

गणनामा परिवारले पाउन सक्ने सरकारी सहायता, कर तथा अन्य आम्दानीसम्बन्धी पक्षलाई समेत समावेश गरिएको छ।

जीवनयापनयोग्य ज्यालाले कामदारले आधारभूत आवश्यकता पूरा गर्दै समुदायमा सहभागी हुन आवश्यक पर्ने आम्दानीको अनुमान गर्छ।

प्रतिवेदनले अन्टारियोका कुनै पनि क्षेत्रमा न्यूनतम ज्यालामा पूर्णकालीन काम गर्दा सबै आधारभूत खर्च धान्न पर्याप्त नहुने जनाएको छ।

तपाईंको प्रतिक्रिया