• आइतबार, २३ कार्तिक, २०८३
  • Sunday, 08 November, 2026
  • X

क्यानाडामा ११८ औं 'देवकोटा जयन्ती' मनाइयो

नेपालTouch
आइतबार कार्तिक २३, २०८३ | Sunday November 08,2026
तस्विर सौजन्य: यम घिमिरे/ एडमन्टन

एडमन्टन । क्यानाडाको अल्बर्टास्थित एडमन्टनमा बसोबास गर्ने नेपाली समुदायमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जयन्ती हिजो नोभेम्बर ७ (कात्तिक २१) मा आयोजना भयो। एडमन्टनस्थित नेपालीको सामुदायिक संस्था ‘नेपाल हेरिटेज सोसाइटी’ र गैर-नाफाको विधिबाट नेपालमा परोपकारी काम गर्न एडमन्टनका पुराना भारतीय नागरिकहरू मिलेर बनाएको पुरानो संस्था 'सोसाइटी अफ फ्रेन्ड्स अफ नेपाल'को आयोजना र सहकार्यमा मनाइएको देवकोटा जयन्तीमा स्थानीय महिला, पुरुष कविहरूले उत्साह र अभिरुचिपूर्वक कविता वाचन, श्रवण गरेका थिए।

एडमन्टन सहरको टेरा सेन्टर कम्युनिटी हलमा गरिएको कार्यक्रममा कविहरू विनय ज्ञवाली, श्रीनिधि लम्साल, भूपेन्द्र लामिछाने, अनमोलमणि पौडेल, ध्रुव केसी, शोभा सुवेदी आचार्य, सुरज खतिवडा, देवेन्द्र कार्की, लक्ष्मीप्रसाद तिमल्सिना, नेपालबाट आउनुभएका जनक पौडेल, टेक खत्री, नीरभीम विष्ट, सृष्टि लम्साल, हुकुम बराल, पवित्रा सुवेदीले आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रममा गजल, कविता वाचनका अतिरिक्त महाकवि देवकोटाको योगदान र व्यक्तित्वमा चर्चा, केही वेद-वेदान्त चर्चा भएका थिए। वाचन गरिएका कवितामा हास्यव्यङ्ग्य, प्रेम, रतिराग, बाल्यकालीन सम्झना, मुगलाने जिन्दगीका पाटा र केस्राभित्रका अनुभव, भावना र ऐंठनहरू व्यक्त भएका थिए।

नेपालबाट सन्तान भेट्न आउनुभएका ज्येष्ठ जोडी जनक पौडेल र नारायणी पौडेलले आफ्नो देशबाट टाढा दूरदेशमा पनि नेपालकै जस्तो साहित्यिक, सांस्कृतिक जमघट, चर्चा र अनुभव साटासाटको माहोल पाएर भावुक भएको बताउँदै आफ्ना भनाइ राख्नुभयो। सुखसयल खोज्न बाउआमा, घर, सम्पत्ति, समाज छोडेर क्यानाडा हिँडेका सन्तानलाई असन्तुष्टिले प्रश्न गर्ने कविता सुनाउनुभयो कविको माइकबाट अभिभावक जनक पौडेलले।

कार्यक्रममा भाषा, कला, साहित्यप्रति गहिरो अनुराग भएका करिब ५० जनाको सहभागिता थियो। आयोजक संस्थाको यस किसिमको यो पहिलो कार्यक्रम भए पनि नेपाल हेरिटेज सोसाइटीका सक्रिय स्वयंसेवी अशोक आचार्यको दौडधुप, संयोजन र ऊर्जाले कार्यक्रम व्यवस्थित, छरितो र अनुभवी व्यवस्थापनको झल्को कार्यक्रमले दिएको थियो। कार्यक्रममा सहभागी सबै साहित्यप्रेमीहरू एक ढिक्का भएर अद्योपान्त एकचित्तले कविता र काव्यरसमा रमाएका थिए। कार्यक्रम अवधिभर सहभागीहरूको अभिरुचि, हाँसो, चर्चा, ठट्टाले हल जागृत रहेको थियो।

नेपाल हेरिटेज सोसाइटीका अध्यक्ष देवेन्द्र कार्कीले कार्यक्रम आयोजनाको सिलसिला र संस्थाको प्रथम प्रयासबारे गरेको चर्चाबाट सुरु भएको देवकोटा जयन्ती समारोहमा कवि एवं गीतकार नीरभीम विष्टले देवकोटाका बारेमा आफ्ना भनाइ राखेका थिए। कविता वाचनको क्रमलाई एकछिन रोकेर बीचमा चियाचमेनाका लागि संक्षिप्त विराम लिएपछि पुनः अघि बढेको थियो कार्यक्रम। कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सहभागी कविहरूलाई थान एक कलम र डायरीको चिनो पनि आमा नारायणीका करबाट वितरण गरिएको थियो।

कार्यक्रमको समापन गर्दै नेपाल हेरिटेजका महासचिव सुरज खतिवडाले कार्यक्रमका कुशल संयोजक अशोक आचार्य, कार्यक्रम सञ्चालक यम घिमिरे, सह-आयोजक ‘सोसाइटी अफ फ्रेन्ड्स अफ नेपाल’लाई सहकार्य र स्रोत-सहयोगका निम्ति र सम्पूर्ण सहभागीलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै संस्थाको पहिलो कार्यक्रम भए पनि यसले धेरै उत्साह र सांस्कृतिक ऊर्जाको सञ्चार गरेको र आगामी दिनमा यस कार्यक्रमलाई अझ विस्तारित र नियमित गरेर लैजाने संस्थाको मनसाय रहेको बताएका थिए।

तपाईंको प्रतिक्रिया