क्यानाडाको नयाँ शरणार्थी नियम: अनलाइन प्रणाली र कडा समयसीमा
नेपालTouch
अटावा । क्यानाडा सरकारले देशको शरणार्थी (एसाइलम) प्रणालीलाई थप द्रुत, पारदर्शी र प्रभावकारी बनाउन अध्यागमन तथा शरणार्थी संरक्षण नियमावलीमा व्यापक संशोधन गर्दै नयाँ नियम लागू गरेको छ।
'आइआरसीसी' ले जारी गरेको अपडेट अनुसार, नयाँ व्यवस्थाले शरणार्थी दाबी दर्ता, प्रशोधन र निर्णय प्रक्रियालाई सरल र व्यवस्थित बनाउनेछ। नयाँ नियम अनुसार अब क्यानाडाभित्रैबाट वा सीमा नाकाबाट शरणार्थी क्लेम गर्ने सबैका लागि एउटै अनलाइन प्रणाली लागू गरिएको छ।
निवेदकले सुरुमा आइआरसीसी पोर्टलमा अनलाइन फारम भरेर आफ्नो विवरण र दाबीको इच्छा दर्ता गराउनुपर्नेछ। त्यसपछि अधिकारीहरूसँग इन-पर्सन अपोइन्टमेन्टको समय तोकिनेछ, जहाँ औपचारिक रूपमा दाबी दर्ता हुनेछ।
आवेदन अध्यागमन तथा शरणार्थी बोर्ड (आइआरबी) मा सिफारिस हुन योग्य ठहरिएमा निवेदकले ६० दिनभित्र सम्पूर्ण आवश्यक कागजात र आवेदन बुझाउनुपर्नेछ। विशेष कारणवश समय नपुगेमा एक पटकका लागि थप ३० दिनको म्याद थप (वन-टाइम एक्स्टेन्सन) पाउन सकिने सुविधा दिइएको छ।
आइआरबीमा सुनुवाइका लागि पठाउनुअघि सरकारी निकायहरूले सेक्युरिटी, ब्याकग्राउन्ड चेक र योग्यतासम्बन्धी अनुसन्धान पूरा गर्न निश्चित समयसीमा तोकिएको छ। यसले पूर्ण रूपमा तयार भइसकेका केसहरू मात्र सुनुवाइका लागि बोर्डमा पुग्नेछन्, जसले गर्दा हियरिङमा हुने अनावश्यक ढिलाइ हट्नेछ।
आवेदन दिएर पछि वास्ता नगरेका वा फिर्ता लिएका केसहरू कसरी हटाउने वा कुन अवस्थामा मन्त्रीद्वारा फेरि रिइनस्टेट गर्न सकिने भन्ने नियम स्पष्ट पारिएको छ। यसले निष्क्रिय मुद्दाहरूलाई प्रणालीबाट हटाउन मद्दत पुर्याउनेछ।
संरक्षणको दायरामा रहेका नाबालिग र प्रक्रिया बुझ्न नसक्ने निवेदकहरूका लागि तोकिने आधिकारिक प्रतिनिधिको नियुक्ति, जिम्मेवारी र समयावधिबारे नयाँ नियममा थप स्पष्टता ल्याइएको छ।
क्यानाडा र अमेरिकाबीचको सेफ थर्ड कन्ट्री एग्रिमेन्ट र यसको एडिसनल प्रोटोकलका प्रावधानहरूलाई नयाँ प्रणाली अनुकूल बनाइएको छ। १४ दिनको समयसीमा अब अनलाइन पोर्टलमा आवेदन दर्ता गरेकै मितिदेखि गणना हुनेछ।
योग्य शरणार्थी निवेदकहरूका लागि वर्क पर्मिट जारी गर्ने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी बनाइएको छ। निवेदकले पूरा आवेदन बुझाउनासाथ वर्क पर्मिटका लागि आवेदन दिन सक्नेछन्, जसले गर्दा मुद्दाको अन्तिम फैसला नआउन्जेल उनीहरूले क्यानाडाको श्रम बजारमा प्रवेश गरी आफ्नो जीविकोपार्जन गर्न सक्नेछन्।
नयाँ नियममा अयोग्य ठहराइने प्रावधानहरूमा केही अपवाद पनि राखिएको छ। अभिभावकविहीन बालबालिका र क्यानाडा आएको पहिलो वर्षभित्रै अनलाइन पोर्टलमा विवरण दर्ता गराइसकेका व्यक्तिहरूलाई केही अयोग्यताका नियमहरूबाट छुट दिइएको छ।
अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री लिना मेटलेज दियाबले नयाँ परिवर्तनहरूले शरणार्थी दाबी गर्नेहरूका लागि स्पष्टता र निश्चितता ल्याउने बताउनुभएको छ। सरकारले शरणार्थी प्रणालीलाई निष्पक्ष, दिगो र प्रभावकारी बनाउन यी सुधारहरू लागू गरिएको जनाएको छ।

सम्बन्धित खबर


.png)
.png)


.png)
.png)




.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया