• बुधबार, १९ कार्तिक, २०८३
  • Wednesday, 04 November, 2026
  • X

अध्यागमनसम्बन्धी गलत परामर्श दिनेलाई १५ लाख डलरसम्म जरिवाना हुने

नेपालTouch
सोमबार कार्तिक १७, २०८३ | Monday November 02,2026

अटावा। क्यानाडा सरकारले शुल्क लिएर अध्यागमनसम्बन्धी परामर्श तथा प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई कानुन उल्लङ्घन गरेको पाइएमा १५ लाख क्यानेडियन डलरसम्म जरिवाना गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको छ। अध्यागमनसम्बन्धी गलत सूचना दिने, अनुमति नलिई परामर्श गर्ने तथा जानीजानी गलत विवरण पेस गर्न सहयोग गर्ने व्यक्तिहरू यस व्यवस्थाको दायरामा पर्नेछन्।

क्यानाडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभाग (आइआरसीसी) ले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार, शुल्क वा अन्य आर्थिक लाभ लिएर अध्यागमनसम्बन्धी सेवा प्रदान गर्ने जोकोहीले कानुन पालना गर्नुपर्नेछ। यस्तो सेवा दिने व्यक्ति क्यानाडाभित्र वा बाहिर जहाँ रहे पनि एउटै नियम लागू हुने पनि उक्त सुचनामा जनाइएको छ।

आइआरसीसीका अनुसार सम्बन्धित निकायबाट अनुमति वा इजाजतपत्र नलिई शुल्क लिएर अध्यागमनसम्बन्धी परामर्श वा प्रतिनिधित्व गर्नु, अध्यागमन आवेदनमा झुटो, अपूर्ण वा भ्रामक जानकारी दिन सेवाग्राहीलाई सल्लाह दिनु वा त्यस्तो काममा सहयोग गर्नु वा आफैं गलत विवरण पेस गर्नु र सरकारी निरीक्षणका क्रममा कानुन पालना गरेको पुष्टि गर्न माग गरिएका आवश्यक कागजात उपलब्ध नगराएमा नियम उल्लंघन गरेको मानिने भनिएको छ।

एकपटकको उल्लङ्घनमा हजारौँ डलर जरिवाना

सरकारले उल्लङ्घनको प्रकृति, त्यसबाट प्रशासनिक प्रक्रियामा परेको असर, प्राप्त आर्थिक लाभ र विगतमा गरिएका उल्लङ्घनका आधारमा जरिवाना निर्धारण गरिएको जनाएको छ।

उल्लङ्घनअनुसार न्युनतम जरिवाना ५ हजारदेखि १५ हजार डलरसम्म हुन सक्छ। माग गरिएका कागजात उपलब्ध नगराएमा १० हजार डलर जरिवाना लाग्न सक्छ। एकपटक भन्दा धेरै नियम विपरित कार्य गरेको पाइएमा जरिवाना जोडिँदै अधिकतम १५ लाख डलरसम्म पुग्न सक्ने आइआरसीसीले जनाएको छ। उल्लङ्घनबाट आर्थिक लाभ लिएको प्रमाणित भए लिइएको लाभसमेत जरिवानामा थपिने व्यवस्था नियममा छ।

यसैगरी, कानुन उल्लङ्घन गरेको प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई आर्थिक जरिवाना गरिनेछ। साथै, उसको नाम, व्यवसाय वा रोजगारदाताको नाम, उल्लङ्घनको विवरण, जरिवानाको रकम र जरिवाना तिरेको वा नतिरेको अवस्थासमेत सरकारी वेबसाइटमा सार्वजनिक गरिनेछ।

आइआरसीसीले यस्तो व्यवस्था अध्यागमन तथा नागरिकतासम्बन्धी सेवामा पारदर्शिता र कानुनी जवाफदेहिता कायम गर्न ल्याइएको जनाएको छ। यो व्यवस्था व्यावसायिक नियमन गर्ने निकायको अनुशासनात्मक कारबाही तथा ठगी र गलत विवरणसम्बन्धी अपराधमा सीबीएसए र आरसीएमपीले गर्ने अनुसन्धान तथा अभियोजनभन्दा अलग रूपमा लागू हुनेछ।

सरकारका अनुसार यो नियम क्यानाडामा मात्र नभई विदेशमा बसेर शुल्क लिएर क्यानाडाको अध्यागमनसम्बन्धी परामर्श तथा प्रतिनिधित्व गर्ने व्यक्तिहरूमा समेत लागू हुनेछ।

आइआरसीसीको अँग्रेजी भाषामा रहेको सुचना यहाँ पढ्न सकिन्छ। 

तपाईंको प्रतिक्रिया