• शनिबार, १५ कार्तिक, २०८३
  • Saturday, 31 October, 2026
  • X

ग्राहकका खातामा एआई एजेन्टको पहुँच रोक्दै क्यानाडाका बैंक

नेपालTouch
शुक्रबार कार्तिक १४, २०८३ | Friday October 30,2026

अन्टारियो। क्यानाडाका प्रमुख बैंकहरूले ग्राहकका अनलाइन बैंकिङ खातामा तेस्रो पक्षका कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टको प्रत्यक्ष पहुँच रोक्ने निर्णय गरेका छन्। ग्राहकको वित्तीय विवरणको सुरक्षा र अनधिकृत कारोबारको जोखिमलाई ध्यानमा राख्दै बैंकहरूले यस्तो कदम चालेका हुन्।

क्यानाडाको सबैभन्दा ठूलो बैंक रोयल बैंक अफ क्यानाडा (आरबीसी) ले मंगलबारदेखि आफ्ना डिजिटल सेवामा व्यक्तिगत एआई एजेन्टको प्रत्यक्ष पहुँच रोक्ने घोषणा गरेको हो। बैंकले ग्राहकको व्यक्तिगत जानकारी र प्रणालीको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ।

आरबीसीका प्रमुख कार्यकारी अधिकृत डेभ म्याकेका अनुसार एआई एजेन्टले ग्राहकको समय बचत गर्न सहयोग गर्न सक्ने भए पनि तिनको स्वायत्तता बढ्दै जाँदा गल्ती, ठगी र ग्राहकलाई आर्थिक क्षति पुग्ने जोखिम पनि बढेको छ।

टोरन्टो-डोमिनियन बैंक (टीडी) ले पनि प्रमाणीकरण आवश्यक पर्ने बैंकिङ सेवामा तेस्रो पक्षका व्यक्तिगत एआई एजेन्टको पहुँच रोक्ने जनाएको छ। बैंक अफ नोभा स्कोसियाले आफ्ना बैंकिङ प्लेटफर्ममा यस्ता एजेन्टको पहुँच सीमित गर्ने बताएको छ।

बैंक अफ मन्ट्रियलले आफ्ना डिजिटल सेवामा एआई एजेन्टलाई पहुँच दिन वा कारोबार गर्न अनुमति नदिने स्पष्ट पारेको छ। नेसनल बैंक अफ क्यानाडाले भने ग्राहकले प्रयोग गर्ने एआई एजेन्टबाट उत्पन्न हुन सक्ने अवसर र जोखिम दुवैको अध्ययन गरिरहेको जनाएको छ।

एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनअनुसार वेबसाइट र एपमा प्रवेश गरी कारोबारलगायतका काम आफैँ गर्न सक्छन्। तर यस्ता प्रणालीले प्रयोगकर्ताले दिएको अधिकारलाई फराकिलो अर्थमा बुझेर अनपेक्षित काम गर्न सक्ने चिन्ता बैंकहरूमा बढेको छ।

टोरन्टो विश्वविद्यालयका सहप्राध्यापक इभान लाइटले एआई एजेन्टलाई व्यक्तिगत बैंक खातामा पहुँच दिनु जोखिमपूर्ण हुन सक्ने बताएका छन्। उनका अनुसार यस्ता उपकरणको प्रयोग र सञ्चालनबारे पर्याप्त नियमन छैन। एआई एजेन्टले प्रयोगकर्ताको चाहनाविपरीत काम गरे त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय पनि स्पष्ट हुन आवश्यक छ।

क्यानाडाको वित्तीय प्रणालीको नियामक निकाय वित्तीय संस्थाहरूको सुपरिवेक्षण कार्यालय (ओएसएफआई) ले पनि एआई एजेन्टबाट उत्पन्न हुन सक्ने जोखिमप्रति चासो देखाएको छ। कार्यालयका प्रमुख पिटर रुटलेजले हालै एआई एजेन्टले आफूलाई दिइएको निर्देशनको सीमा फराकिलो रूपमा व्याख्या गर्न सक्ने जोखिम वित्तीय संस्थाहरूका लागि चुनौती बनेको बताएका थिए।

ओएसएफआईले वित्तीय क्षेत्रमा एआईको सुरक्षित प्रयोग सुनिश्चित गर्न आवश्यक मापदण्ड वा सुरक्षा संहिता बनाउनुपर्ने विषयमा समेत विचार गरिरहेको छ। यद्यपि, त्यसको स्वरूप र कार्यान्वयनबारे औपचारिक खाका तयार भइसकेको छैन।

बैंकहरूले एआई प्रविधिको सम्भावित उपयोगलाई अस्वीकार नगरे पनि ग्राहकको वित्तीय विवरण, कारोबार र खातामाथिको नियन्त्रण सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्।

तपाईंको प्रतिक्रिया