• आइतबार, १६ कार्तिक, २०८३
  • Sunday, 01 November, 2026
  • X

ईयूसँग नजिकिँदै क्यानाडा, नयाँ साझेदारीको खोजी

नेपालTouch
शुक्रबार कार्तिक १४, २०८३ | Friday October 30,2026

अन्टारियो। क्यानाडा र युरोपेली सङ्घ (ईयू) बीच नयाँ साझेदारीको स्वरूपबारे छलफल अघि बढ्ने भएको छ। ईयूले गैरसदस्य मुलुकसँग गर्दै आएका विद्यमान साझेदारीका कुनै पनि ढाँचामा क्यानाडा पूर्ण रूपमा नमिल्ने भएकाले दुवै पक्ष नयाँ व्यवस्था खोज्ने तयारीमा छन्।

यसै विषयमा छलफल गर्न ईयूका अधिकारीहरू अक्टोबर २९ र ३० मा हुने क्यानाडा–ईयू शिखर सम्मेलनका लागि मन्ट्रियलमा भेला भएका छन्। सम्मेलनपछि शुक्रबार सार्वजनिक हुने संयुक्त वक्तव्यमा दुई पक्षबीच अझ नजिकको सम्बन्ध विकास गर्ने प्रतिबद्धता समेटिने अपेक्षा छ। तर त्यसको ठोस स्वरूप भने अझै तय भइसकेको छैन।

ईयूले नर्वे, स्विट्जरल्यान्ड, बेलायत र जर्जियाजस्ता गैरसदस्य मुलुकसँग फरक–फरक प्रकारका सम्बन्ध कायम गरेको छ। तर तीमध्ये कुनै पनि ढाँचा क्यानाडाका लागि उपयुक्त नहुने क्यानाडाली अधिकारीहरूको निष्कर्ष छ। क्यानाडाले युरोपेली बजारमा पहुँच विस्तार गर्न चाहेको भए पनि त्यसका लागि आफ्नो स्वायत्तता र निर्णय गर्ने अधिकारमा सम्झौता गर्न नचाहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री मार्क कार्नीले ईयूसँगको सम्बन्धलाई पूर्ण सदस्यताभन्दा फरक र विशिष्ट साझेदारीका रूपमा अघि बढाउन चाहेका छन्। उनले यसलाई ‘भविष्यका लागि गठबन्धन’ को संज्ञा दिँदै व्यापार, सुरक्षा र रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव गरेका छन्।

ईयूकी अध्यक्ष उर्सुला भोन डर लेयेनले भने क्यानाडालाई सङ्घको पहिलो ‘सहसदस्य’ बनाउने प्रस्ताव अघि सारेकी छन्। तर ‘सहसदस्य’ को कानुनी हैसियत र त्यसअन्तर्गत क्यानाडाले पाउने अधिकार तथा जिम्मेवारीबारे स्पष्ट खाका बनेको छैन। ईयूका केही सदस्य राष्ट्रले पनि उक्त शब्दावलीप्रति असहमति जनाएका छन्।

क्यानाडा र ईयूबीच व्यापार, सुरक्षा तथा रक्षा क्षेत्रमा यसअघि नै सम्झौता र सहकार्यका व्यवस्था छन्। सन् २०१७ देखि अस्थायी रूपमा कार्यान्वयनमा रहेको व्यापक आर्थिक तथा व्यापार सम्झौता (सेटा) सहित रणनीतिक साझेदारी र सुरक्षा तथा रक्षा साझेदारी त्यसका आधार हुन्।

नयाँ साझेदारीमा व्यापार र श्रमिक आवागमनका साथै विद्यार्थी आदानप्रदान, रक्षा तथा सुरक्षा सहकार्यजस्ता विषय समेटिन सक्नेछन्। तर यस्ता व्यवस्थाले क्यानाडाको अर्थतन्त्र, घरेलु बजार र नीतिगत स्वायत्ततामा पार्न सक्ने प्रभावबारे पनि छलफल आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

क्यानाडाको अर्थतन्त्र ठूलो र विश्व बजारसँग गहिरो रूपमा जोडिएकाले युरोपका अन्य गैरसदस्य मुलुकले अपनाएका व्यवस्था जस्ताको तस्तै लागू गर्न कठिन हुने विश्लेषण गरिएको छ। क्यानाडा र ईयूबीचको नयाँ सम्बन्ध कस्तो हुने भन्ने विषयमा आगामी छलफल र वार्ताले टुङ्गो लगाउनेछ।

तपाईंको प्रतिक्रिया