नेपाली युवाको मानसिक स्वास्थ्य र दुर्व्यसनबारे टोरन्टो प्रहरीसँग वेबिनार
नेपालTouch
टोरन्टो। क्यानाडामा बसोबास गर्ने नेपाली युवामा मानसिक स्वास्थ्य, तनाव र दुर्व्यसनसम्बन्धी समस्याबारे छलफल गर्न नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस) ले टोरन्टो प्रहरी सेवासँगको सहकार्यमा वेबिनार आयोजना गर्ने भएको छ।
‘मानसिक स्वास्थ्य र दुर्व्यसन : सचेतना, सहयोग र स्रोतसाधन’ शीर्षकमा हुने वेबिनार नोभेम्बर १६, सोमबार साँझ ७ देखि ८ बजेसम्म सञ्चालन हुनेछ।
एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटाका अनुसार नेपाली युवाहरूले सामाजिक सञ्जाल र विभिन्न फेसबुक समूहमा मानसिक स्वास्थ्य, तनाव तथा दुर्व्यसनसम्बन्धी समस्या व्यक्त गर्दै सहयोग मागिरहेको विषयलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको हो।
'हाम्रो समुदायका धेरै युवा र परिवारजन मानसिक तनाव तथा दुर्व्यसनको समस्यासँग जुधिरहेका छन् र सहयोगका लागि विभिन्न माध्यमबाट आवाज उठाइरहेका छन्,”'सापकोटाले भने, 'युवाको सुरक्षा, मानसिक स्वास्थ्य र उज्ज्वल भविष्यका लागि सही मार्गदर्शन तथा सरकारी र स्थानीय स्रोतसाधनसम्म पहुँच पुर्याउनु हाम्रो कर्तव्य हो।”'
टोरन्टो प्रहरी सेवासँगको सहकार्यले नेपाली युवा र अभिभावकलाई आधिकारिक जानकारी, कानुनी तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था र समयमै उपलब्ध हुन सक्ने सहयोगबारे जानकारी दिने अपेक्षा गरिएको उनले बताए।
वेबिनारमा टोरन्टो प्रहरी सेवाको 'कम्युनिटी पार्टनरसिप्स एन्ड इन्गेजमेन्ट युनिट'अन्तर्गतको रिस्क इन्टरभेन्सन टिमका प्रतिनिधि डान रामोस प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। कार्यक्रमको सहजीकरण एनसीसीएसका महासचिव टीकाराम पौड्यालले गर्नेछन्।
कार्यक्रम एनसीसीएसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। मानसिक स्वास्थ्य तथा दुर्व्यसनसम्बन्धी चुनौती भोगिरहेका युवा, अभिभावक, विद्यार्थी र समुदायका अन्य सदस्यलाई कार्यक्रममा सहभागी हुन संस्थाले आग्रह गरेको छ।

सम्बन्धित खबर












.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया