पुस्तान्तर
ईश्वर पोखरेल
“लौ! लौ! बाल्टिन पक्री ! छिटो! छिटो!!" घरको धुरीबाट धुँवाको मुस्लो निस्केकोतर्फ संकेत गर्दै भीमप्रसादको स्वर चर्कियो।
रोहनले हत्तपत्त बाल्टिन समात्यो। दुई पाइला दौडियो पनि, अनि टक्क रोकियो। हात गोजीतिर गयो।
रित्तो रहेछ– गोजी।
बाल्टिन त्यहीँ छोडेर ऊ घरतिर दौडियो।
टेबुल, सिरानीमुनि, खाटको चेप, ह्याङ्गरको पाइन्टको गोजी : सबै छामछुम पार्यो।
पुरानो झोला उल्ट्यायो।
हातमा पर्यो– 'नोकिया १२००'
एकछिन हेरिरह्यो। अनि रिसले भित्तामा बज्रिने गरी हान्यो। 'नोकिया १२००’ टुक्रा–टुक्रा भयो।
बाहिर भीमप्रसाद कराइरहेका थिए– “रोहन! कहाँ मरिस्?"
रोहन अमिलो मन लिएर निस्कियो। मनमनै गनगनायो– “नयाँ मोबाइलले भिडियो खिचेर स्टाटसमा हाल्न पाएको भए..."
भीमप्रसाद केराको थाम घिसार्दै एक्लै आगोतिर गइसकेका थिए।
रोहनले भुईंमा लडेको बाल्टिनलाई एक लात हान्यो र मनमनै भन्यो– "आफैं गए भइहाल्यो नि; यी बुढालाई किन चिच्याउनु परेको?”
-बोझेपोखरी, ललितपुर

सम्बन्धित खबर








.png)





.png)









तपाईंको प्रतिक्रिया