• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

जनप्रतिनिधि हुनु नागरिकप्रति जवाफदेही हुनु होः डा. यज्ञ पौडेल

नेपालTouch
मंगलबार असोज २७, २०८३ | Tuesday October 13,2026
नेपाल टच ग्राफिक्स।

डा. यज्ञ पौडेल बायोटेक्नोलोजी र अनुसन्धान क्षेत्रमा लामो अनुभव रहेका वैज्ञानिक हुन्। उनले क्यानाडाको मिल्टन, वार्ड २ बाट क्षेत्रीय काउन्सिलर (Regional Councillor) पदका उम्मेदवारी दिएका छन्। मिल्टनको तीव्र सहरीकरण, पूर्वाधार अभाव र समुदायका समस्याहरूलाई समाधान गर्न तथा आफ्नो वैज्ञानिक ज्ञानलाई जनहितमा प्रयोग गर्न आफु राजनीतिमा होमिएका बताउँछन्। 

आगामी अक्टोबर २६ मा हुने निर्वाचनका सन्दर्भमा उनका योजना र लक्ष्यका बारेमा नेपाल टचले गरेको लिखित कुराकानीको सम्पादित अंशः  

१. बायोटेक्नोलोजी र अनुसन्धान जस्तो प्राज्ञिक क्षेत्र छाडेर मिल्टन वार्ड २ को क्षेत्रीय काउन्सिलर पदमा उम्मेदवार बन्ने निर्णय किन गर्नुभयो?

उत्तरः बायोटेक्नोलोजी र अनुसन्धानले मलाई समस्याको गहिराइ बुझ्न, तथ्यका आधारमा निर्णय लिन र दीर्घकालीन समाधान खोज्न सिकाएको छ। मिल्टनमा बढ्दो जनसङ्ख्यासँगै सडक, यातायात र सार्वजनिक सेवामा परेको चाप देख्दा आफ्नो ज्ञान र अनुभव समुदायको हितमा प्रयोग गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले मेरो उम्मेदवारी करियर परिवर्तन मात्र होइन, समाजमा प्रत्यक्ष योगदान पुर्‍याउने प्रयास हो।

२. तपाईंको निर्वाचनको मूल नारा 'पहिले पूर्वाधार, त्यसपछि विकास' छ। तीव्र जनसङ्ख्या वृद्धि भइरहेको मिल्टनमा सडक, यातायात (GO Transit) र आपत्कालीन सेवाको क्षमता सुधार्न तपाईंका मुख्य योजना के छन्?

उत्तरः मेरो विचारमा नयाँ घर र जनसङ्ख्या बढ्नु मात्र विकास होइन। त्यससँगै सडक, सार्वजनिक यातायात र आपत्कालीन सेवाको क्षमता पनि बढ्नुपर्छ। म ट्राफिक समस्याको तथ्याङ्कमा आधारित समाधान, GO Transit सेवाको विस्तारका लागि प्रान्तीय सरकार र Metrolinx सँग पैरवी, तथा प्यारामेडिक र अन्य आपत्कालीन सेवाको आवश्यकताअनुसार क्षमता बढाउन प्राथमिकता दिनेछु।

३. निर्वाचित भएको पहिलो १२ महिना भित्रै वार्ड २ का बासिन्दाले महसुस गर्न सक्ने गरी पूर्वाधार वा यातायातको क्षेत्रमा के-कस्ता परिवर्तन देख्न पाउनेछन्?

उत्तरः पहिलो वर्षमै सबै ठूला परियोजना सम्पन्न हुन्छन् भन्नु उचित हुँदैन। तर म वार्ड २ का मुख्य सडक, ट्राफिक, पैदलयात्री सुरक्षा र सार्वजनिक यातायातका समस्याको प्राथमिकता सूची तयार गरी तत्काल सम्भव हुने सुधारका कार्य अघि बढाउनेछु। साथै, नागरिकलाई योजनाको अवस्था र प्रगतिबारे नियमित जानकारी दिनेछु।

४. एकातिर स्वास्थ्य, यातायात र पूर्वाधारमा लगानी बढाउनुपर्नेछ भने अर्कोतिर सम्पत्ति करको भार नथप्ने चुनौती छ। करदातालाई अतिरिक्त भार नपारी बजेट सन्तुलन कसरी मिलाउनुहुन्छ?

उत्तरः करदाताले तिरेको पैसाको सही उपयोग हुनुपर्छ। म अनावश्यक प्रशासनिक खर्च घटाउने, ठेक्का तथा खरिद प्रक्रियालाई प्रभावकारी बनाउने, नयाँ परियोजनाको लागत र दीर्घकालीन लाभ मूल्याङ्कन गर्ने तथा प्रान्तीय र संघीय अनुदानको अधिकतम उपयोग गर्ने पक्षमा छु। सबै कर वृद्धि रोक्ने ग्यारेन्टी दिन नसकिए पनि करदातामाथिको भार कम राख्न जिम्मेवार बजेट व्यवस्थापनका लागि काम गर्नेछु।

५. नयाँ पूर्वाधार र मानसिक स्वास्थ्य जस्ता सेवामा लगानी बढाउँदा बजेट अभाव भएमा, करदातामाथि थप भार नपारी कुन-कुन क्षेत्र वा योजनाको खर्च कटौती गरेर बजेट व्यवस्थापन गर्नुहुन्छ?

उत्तरः सबैभन्दा पहिले दोहोरो प्रशासनिक काम, कमजोर खरिद व्यवस्थापन र अपेक्षित परिणाम नदिएका कम प्राथमिकताका कार्यक्रमको समीक्षा गर्नेछु। जहाँ सेवाको गुणस्तर नघटाई खर्च बचत गर्न सकिन्छ, त्यहाँ सुधार गर्नेछु। तर आपत्कालीन सेवा, सार्वजनिक सुरक्षा र आवश्यक मानसिक स्वास्थ्य सेवामा हचुवाका भरमा कटौती गर्ने पक्षमा म छैन।

६. हाल्टन क्षेत्रमा फ्यामिली डक्टर र स्वास्थ्य सेवा पाउन कठिन छ। काउन्सिलरका रूपमा स्वास्थ्य पूर्वाधार र सेवा विस्तारमा तपाईंको प्रत्यक्ष भूमिका कस्तो रहनेछ?

उत्तरः फ्यामिली डाक्टर पाउन कठिन हुनु धेरै परिवारले भोगेको वास्तविक समस्या हो। क्षेत्रीय काउन्सिलरले आफैँ डाक्टर नियुक्त गर्न नसके पनि स्वास्थ्य सेवाको आवश्यकता पहिचान गर्न र सम्बन्धित निकायसँग पहल गर्न सक्छ। म प्रान्तीय सरकार, हाल्टन हेल्थकेयर र सम्बन्धित स्वास्थ्य संस्थासँग सहकार्य गरी मिल्टनमा प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य केन्द्र र मानसिक स्वास्थ्य सहयोग विस्तारका लागि पैरवी गर्नेछु।

७. मिल्टनलाई ‘बेडरुम सहर’बाट मुक्त गरी बायोटेक्नोलोजी र स्वच्छ प्रविधिको केन्द्र बनाएर स्थानीय तहमै रोजगारी सिर्जना गर्ने ठोस रणनीति के छ?

उत्तरः मिल्टन बसोबास गर्ने सहर मात्र नभई रोजगारी सिर्जना गर्ने आर्थिक केन्द्र पनि बन्नुपर्छ। बायोटेक्नोलोजी र अनुसन्धानको मेरो पृष्ठभूमिलाई उपयोग गर्दै जीवन विज्ञान, स्वास्थ्य प्रविधि र स्वच्छ प्रविधिसम्बन्धी व्यवसाय आकर्षित गर्न पहल गर्नेछु। स्थानीय व्यवसाय, अनुसन्धान संस्था, कलेज र रोजगारदाताबीच सहकार्य बढाएर युवाका लागि सीप विकास र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न जोड दिनेछु।

८. वार्ड २ का नयाँ आप्रवासी, युवा र ज्येष्ठ नागरिकलाई क्षेत्रीय सेवा, रोजगारी र सामाजिक सुरक्षासँग जोड्न कस्ता कार्यक्रम ल्याउनुहुन्छ?

उत्तरः नयाँ आप्रवासीले स्थानीय सेवा र रोजगारीसम्बन्धी जानकारी सहजै पाउनुपर्छ। युवालाई रोजगारदाता र सीप विकास कार्यक्रमसँग जोड्नुपर्छ। ज्येष्ठ नागरिकका लागि यातायात, सामाजिक सहभागिता र उपलब्ध स्वास्थ्य तथा सहयोग सेवामा पहुँच महत्त्वपूर्ण छ। म यी समूहका आवश्यकता सुनेर सम्बन्धित संस्था र सरकारी निकायसँग सहकार्य गर्नेछु।

९. स्कुल सञ्चालनमा क्षेत्रीय काउन्सिलको अधिकार सीमित हुने अवस्थामा वार्ड २ का विद्यालयको गुणस्तर र 'रेटिङ' सुधार्ने प्रतिबद्धता कसरी पूरा गर्नुहुन्छ?

उत्तरः विद्यालय सञ्चालन र शैक्षिक गुणस्तर मुख्यतः स्कुल बोर्ड र प्रान्तीय सरकारको जिम्मेवारी हो। तर विद्यालयमा बढ्दो विद्यार्थी चाप, नयाँ विद्यालयको आवश्यकता, सुरक्षित पैदलमार्ग र यातायातजस्ता विषयमा काउन्सिलरले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। म अभिभावक र स्कुल बोर्डसँग नियमित संवाद गर्दै आवश्यक पूर्वाधार र शैक्षिक सुधारका लागि सम्बन्धित निकायसमक्ष आवाज उठाउनेछु।

१०. तपाईंका धेरै एजेण्डा Metrolinx, स्कुल बोर्ड वा प्रान्तीय सरकारसँग जोडिएका छन्। अन्य निकायहरूसँग सहकार्य गर्दै आफ्ना योजना लागू गराउन कसरी काम गर्नुहुन्छ?

उत्तरः म आफ्नो अधिकारक्षेत्रभित्रका काममा प्रत्यक्ष पहल गर्नेछु र अन्य निकायको जिम्मेवारीमा पर्ने विषयमा तथ्याङ्क तथा नागरिकको आवश्यकताका आधारमा निरन्तर पैरवी गर्नेछु। बैठक वा पत्राचारमा मात्र सीमित नभई प्रस्तावको प्रगति अनुगमन गर्नेछु। मेरो उद्देश्य जिम्मेवारी पन्छाउनु होइन, सहकार्यबाट परिणाम निकाल्नु हो।

११. नागरिकसँग नियमित सम्पर्क र पारदर्शिता कसरी कायम गर्नुहुन्छ?

उत्तरः म नागरिकले सजिलै सम्पर्क गर्न सक्ने प्रणाली, नियमित सामुदायिक भेटघाट र प्रत्येक तीन महिनामा सार्वजनिक प्रगति विवरण उपलब्ध गराउने व्यवस्था लागु गर्छु। कुन समस्या समाधान भयो, कुन प्रक्रियामा छ र अर्को कदम के हो भन्ने कुरा नागरिकले स्पष्ट रूपमा थाहा पाउनुपर्छ। जनप्रतिनिधि हुनु भनेको नागरिकप्रति जवाफदेही हुनु हो।

तपाईंको प्रतिक्रिया