• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

प्रवासी नेपाली मञ्चको अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

नेपालTouch
मंगलबार असोज २७, २०८३ | Tuesday October 13,2026

काठमाडौं। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौंमा हुने भएको छ।

अधिवेशनमा विश्वका ३९ देशबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। मञ्चका अध्यक्ष रमेश पौडेलले अधिवेशनको तयारी भइरहेको जानकारी दिएका छन्।

मञ्चका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख भक्त गुरुङका अनुसार हाल विश्वका ३९ देशमा मञ्चका राष्ट्रिय कमिटी गठन भएका छन् भने ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ। संगठनमा दशौँ हजार नेपाली आबद्ध रहेको मञ्चले जनाएको छ।

अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकारका विषयमा अधिवेशनमा छलफल हुने जनाइएको छ। गैरआवासीय नेपाली संघलगायत विभिन्न संघसंस्थासँगको सम्बन्ध र सहकार्य पनि छलफलको एजेन्डामा रहनेछ।

विभिन्न देशमा रहेका राष्ट्रिय कमिटीबीच समन्वय र सहकार्य बढाउने, संगठनलाई थप सुदृढ बनाउने तथा प्रवासमा रहेका नेपालीका साझा समस्या समाधानका लागि एकीकृत पहल गर्ने विषयलाई पनि अधिवेशनले प्राथमिकता दिनेछ। नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिमा प्रवासी नेपालीको योगदानलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत मञ्चले राखेको छ।

यसैबीच, अधिवेशनको सन्दर्भमा मञ्चले विश्वव्यापी ‘मिडिया कन्टेन्ट क्रिएसन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने एक जनालाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सूचना तथा प्रविधिको युगमा गुणस्तरीय र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मञ्चले जनाएको छ।

 

तपाईंको प्रतिक्रिया