'उपराष्ट्रपति अल गोरलाई माफी मगाउने नेपाली आर्किटेक्ट'
मानकाजी \'जेना\'
विभिन्न मुलुकहरूबाट प्राविधिक क्षेत्रमा उच्च शिक्षा र विद्यावारिधि समेत हासिल गरेका तत्कालीन श्री ५ को सरकारको आवास भवन तथा भौतिक परियोजना विभाग र नेपालको सरकारको भवन विभागमा, जहाँ म स्वयम वि.सं. २०३४ आश्विनदेखि २०५० फागुनसम्म कार्यरत थिएँ, अविच्छिन्न नोकरी गरेर उपमहानिर्देशकको जिम्मेवारी पश्चात सेवा निवृत्त हुनु भयो, डा. भरत शर्मा।
उहाँले सेवा निवृत्त भएपछि पनि इञ्जिनीयरिङ संस्थानहरूमा अध्यापन, विद्यावारिधि शोधकर्ताहरूका शोध निर्देशक, विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा सोसाइटी अफ नेप्लिज आर्किटेक्टसको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो। डा. शर्मा एक सरल, सहज, सहयोगी, समदृष्टि, स्पष्ट वक्ता, स्वाभिमानी तथा असाधारण र ८ दशक लामो खारिएको व्यक्तित्वका धनी हुनु हुन्छ।
तत्कालीन ‘हुकुमी शासन’को बेलामा एक ‘अपवाद्’को रूपमा उहाँलाई मैले चिनेको हुँ। डा. शर्माले तत्कालीन राजा र रानी वीरेन्द्र र ऐश्वर्या परिवारसँगको निकटताका कारण पनि 'निर्मल दृष्टिमा राजा वीरेन्द्र' नामक पुस्तक पनि लेख्नु भयो।
हाल निजी भ्रमणमा हाल टोरण्टो, क्यानाडामा रहनु नेपालका प्रथम ल्याण्डस्केप इञ्जिनियर वहाँसँग यहाँ भएको मौका पारेर नेपाल टचका लागि मैले यो वार्तालाप गरेको छु। वहाँको सरल जीवन, उच्च विचारका वावजुद बहुआयामिक व्यक्तित्वसँगको कुराकानी प्रेरणा मूलक जीवन दर्शन हुनेछ भन्ने आशा पनि लिएको छु।
तपाईंको बाल्यकालबाट शुरू गरौं। कहाँ र कहिले जन्मिनु भयो? पारिवारिक संरचना तथा सो ठाउँको माहोल र हुर्काई कस्तो थियो?
म १५ जनवरी १९४५ मा धनुषा जिल्लाको धबौली गाउँमा जन्मेको हुँ। मेरो बाजे राणा शासनका समयमा खरदारको जिम्मेबारी पाएर काठमाण्डूको चावेलबाट त्यहाँ सर्नु भएको थियो। मधेसी मुलका मानिसहरूले भरिएको गाउँमा चार पाँच घर वटा मात्र पहाडियाहरू थिए। तसर्थ, गाउँमा पूर्ण मधेशी वातावरण थियो। घरमा मात्र हामी नेपाली भाषा बोल्थ्यौँ नत्र पुरै मैथिली भाषा बोल्थ्यौं। नेपालीमा पनि मैथली भाषाको प्रभाव हुनु स्वाभाविक थियो। गुरुजीहरूसँगै हिँडेरै तीनचार किलो मिटर टाढा पढ्न जानआउन पर्थ्यो।
तपाईंले धेरै वटा छात्रवृत्ति पाउनु भएको रहेछ। उच्च शिक्षा अध्ययन गर्न कहाँ-कहाँ जानु भयो? के विषय अध्ययन गर्नु भयो?
गाउँको साधारण स्कुलपछि जिल्लामा एक मात्र विद्यालय सरस्वती हाई स्कूल जनकपुरमा कक्षा आठमा भर्ना भएँ। त्यसै स्कुलबाट २०१३ सालमा एसएलसी उतीर्ण गरें। त्यसपछि म काठमाण्डूमा त्रि-चन्द्र कलेजमा साइन्स पढ्न भर्ना भएँ। त्यहाँ सिट सिमित थियो र मेरिटको आधारमा भर्ना हुनेले फिस तिर्न पर्दैनथ्यो। त्यस बखतका चर्चित गुरुहरूमा गांगुली, आसुसेन, फडिन्द्र लोहनी, अम्बिकाप्रसाद, डा. ध्रुबमान, सुरेन्द्र सिंह रपि, प्रसन्नमान आदि थिए। अफसोस म आइएससीको दोस्रो वर्षमा विरामी भएर पढाइ छोड्नु पर्यो।
पछि कोलम्बो प्लान स्कलरसिप पाएर सिभिल इञ्जिनियरिङमा डिप्लोमा पढ्न भारतको लखनउ पोलिटेक्निक पुगें। १९६२ मा डिप्लोमा सकेर नेपाल फर्कें। आफुले सोचेको अनुरुप अध्ययन गर्न नसकेकाले मन खिन्न थियो। तर, अर्को मौका पाएँ फेरि।
अर्को कोलम्बो प्लान अन्तर्गत मलेसियामा आर्किटेक्चर पढ्ने मौका पाएँ। १९६७ मा कोर्स पुरा गरेर नेपाल फर्किएँ। त्यस लगत्तै अर्को कोलम्बो प्लानमा बरोडा युनिभर्सिटीबाट बि आर्क सकेर १९७० मा देश फर्किएर भवन विभागमा काम गर्न थालें। १९७८ मा युएन फेलोसिपमा हार्वर्ड युनिभर्सिटीबाट ल्याण्डस्केप आर्किटेक्ट एण्ड एन्भारोमेन्ट प्लानिङ विषय पढ्ने मौका पाएँ। दुई वर्षमा १९८० मा त्यो डिग्री हासिल गरें। आफुलाई राज्यले धेरै वटा छात्रवृत्ति उपलब्ध गराएको कुरा मनन गरी देसलाई योगदान दिने समय आएको कर्तब्य सम्झिएर अमेरिकामा एक दिन पनि बढी नवसी नेपाल नै फर्किएर भवन विभाग मै पुन: काम गर्न थालें। २०५८ सालमा अवसर भएपछि आइओई पुल्चोकमा पढाउन थालें किनकी अध्यापनमा मेरो अभिरुची थियो। आइओई र एनइसीमा पढाउने क्रममा नै त्रिभुवन विश्व विद्यालयबाट पिएचडी पनि हासिल गरें।
ल्याण्डस्केप वास्तुवीद् (आर्किटेक्ट) भनेको के हो? र विशेषगरी नेपालमा यसको उपादेयता कहाँ र कसरी छ?
हाल नेपालमा ल्याणस्केपबारे वुद्धिजीवि भनाउँदाले त बुझेका छैनन् भने अरुको के कुरा। “भिल्लका देश मे सोना।” यसको उपादेयता धेरै छ।
आफ्नो कार्यकालमा गरेका कुन-कुन कामको स्मरण गर्न चाहनु हुन्छ?
हावर्ड विश्व विद्यालयको मेरो अध्ययनले वातावरण विषयमा मेरो ज्ञानको दायरा निकै बढायो। त्यसले गर्दा त्यस क्षेत्रमा लगाव पनि बढ्न थाल्यो, विभागमा कार्यरत रहँदा होस् वा अध्यापन गर्दा। ति विषयका छलफलमा क्रियाशिल भई भाग पनि लिन्थेँ र धेरै लेखेँ पनि। यसै सन्दर्भमा इन्सेकका संस्थाका लागि वातावरणसम्वन्धि पुस्तिका पनि लेखें। सम्भवत यिनै कारणहरूले होला, युएनको ग्लोबल फोरमले ब्राजिलमा १९९२ मा भएको अर्थ समिटमा मलाई आमन्त्रण गरेको थियो। त्यहि फोरममा मैले अमेरिकाका उपराष्ट्रपति अल गोरलाई र्याखर्याखती पारेर प्रश्न गरेको थिएँ। मैले उनलाई अँग्रेजी भाषामा सोधेको थिएँ।
Mr. Vice-presdent, Why should mountenous country Nepal suffer from your emmision of carbondioxides CFC, methane which deplete ozone and we get ultra violet rays which is having detrimental on us. Is it fair?
मेरो यस्तो प्रश्न सुनेर उनी अवाक भए। र, उनले भने।
We are sorry. I had presented a paper on urbanization in UN sponsored seminar in Sri Lanka in 1987.
आज फर्की हेर्दा, आफ्नो व्यवसायिक जीवनका रोचक र घोचक कुराहरू के-के सम्झिनु हुन्छ?
मैले भवन विभागमा ओभरसियरको रुपमा सेवा सुरुवात गरेको थिएँ। शिक्षाको स्तर बढेसँगै क्रमश: त्यसै विभागमा आर्किटेक्ट, विभागको उपनिर्देशक र केहि समय कायम मुकायम निर्देशक पनि भएँ।
तपाईंलाई रोचक लाग्न सक्छ, एउटा सत्य घटना उल्लेख गर्न चाहन्छु। म मन्त्री र सचिवको दर्शनभेट गर्न जाने वा नयाँलाई दहीको कतारो पुर्याउन कुरा पटक्कै गर्दिनथें। म उनीहरू मातहत भए पनि देशको नोकर तर उनीहरूको होइन भन्ने मूल्य बोकेको मानिस हुँ। एक दिन सचिव डमरुवल्लभ भट्टराईले मलाई बोलाए। किनहोला भन्दै भेट्न पुगें। सचिवलाई कारण सोधें। उनले विभागीय मन्त्रीले बोलाएको बताउँदै भेट्न जाउँ भनेर प्रस्ताव राखे।
हामी मन्त्रीलाई भेट्न गयौं। मैले मन्त्री बालाराम धर्ती मगरसँग बोलाउनुको कारण सोधें। उनले भने, "बस्नुस् शर्माजी। तपाईंलाई महानिर्देशक बनाउन चाहेको छु।” मैले हाँसेर धन्यवाद मन्त्रीज्यु भने। देशको विकास म पनि चाहन्छु तर अहिलेका महानिर्देशकलाई हटाएर मलाई किन त्यो पद दिन खोज्नु भएको हो भनि सोधें। वहाँ (महानिर्देशक आनन्द पन्त) बाट केहि त्रुटी भको भए सुघार्ने अवसर दिनुस् भनेर सुझाव दिएँ। मन्त्रीले भने, "वहाँलाई मौका दिने कुरा छैन। मौका त म तपाईंलाई दिंदैछु।"
त्यहाँ पहिलेदेखि नै रहेका अन्य दुईजना मन्त्रीहरूले थपे, "मन्त्रीज्यूले तपाईंलाई मौका दिन खोज्दै हुनुहुन्छ तर तपाईं यस्तो राम्रो अवसरलाई इन्कार गर्दै हुनु हुन्छ। यो ठिक जवाफ भएन।" मैले मन्त्रीजीलाई जे उचित लाग्छ गर्नुहोला तर मैले आफ्नो विचार त राख्न पाउँछु नी होइन र? भनें।
त्यसपछि म निस्केर बबरमहल अफिस गएँ। भोलिपल्ट सचिवको फोन आयो र वहाँले भन्नु भयो, "भरतजी तपाईं त अद्भुत हुनु हुँदो रहेछ। अरुले सोर्स लगाएर महानिर्देशक बन्न खोज्छन् तर तपाईंले कुरा बिगार्नु भयो। पस्केको थाल पन्छाई दिनु भयो।"
त्यो थाहा पाएर मलाई केहि शुभचिन्तक साथीहरूले भन्नु भयो, “हुनत तपाईंको स्वभावले सायद तपाईं धेरै समयसम्म महानिर्देशक रहनु हुने थिएन होला, तै पनि महानिर्देशक भनेर विभागमा फोटो त झुन्डिने थियो होला।"
मैले साथीहरूलाई भनें, "त्यो कुरा निरर्थक हो। जहाँसम्म सेवाको कुरा छ अहिले पनि देसलाई आफ्नो ज्ञानद्वारा सक्दो गर्दैछु र गरिरहने छु।"
आफ्नो बुद्धि र बर्कतले हैन कि 'हाकिमले लाए अह्राए बमोजिम गर्नु’ भनेर नियुक्ति पत्रमा उल्लेख हुने अचम्मको देश नेपालमा ‘चाकडी र चापलुसी’, ‘नातावाद र कृपावाद'मा चुर्लुम्म डुबेको परिवेशमा हरकोही स्वाभिमानी कर्मचारीहरूलाई सही काम गर्न र जागिर धान्न एकदम चुनौती छ। त्यसका वावजुद तपाईं निष्कलङ्क रहन सक्नुको रहस्य के हो?
मुख्य र चुक्ने कुरा केहो भने नैतिकताको कवच लाएको मानिसको मनोवल सधैं उच्च रहन्छ र आत्मबलद्वारा संचालित मानिसले कोहीसँग अनावश्यक रुपमा जीहजुर गर्दैन र गर्ने कुरा आउँदैन। तर लोभ, लालच, नातावाद र कृपावादबाट आफुलाई अलग राख्न सक्ने स्वाभिमान शक्ति आफूमा सिर्जना गर्न सक्ने अठोट भने हुनपर्छ। मनसुन र भनसुनको असरबाट मुक्त हुन पर्छ जुन एक किसिमको तपस्या नै हो। मैले हालसम्म यिनै मान्यताहरूलाई अंगिकार गरेको छु। म अन्यथा सोच नै राख्दिन र पश्चाताप पनि गर्दिन।
अवकासकाल कसरी यापन हुँदैछ? यो कालखण्डसम्म आइपुग्दा सबभन्दा रमाइलो कुरा कुन चाहिँ र किन लाग्ने रहेछ?
म इञ्जिनियर भए पनि मलाई मेरो जागिरे जीवनमा कहिले पनि पैसाको आकर्षण हुने प्रोजेक्टहरूले लालायित गरेनन्। तसर्थ: अवकाशपछि मेरो अभिरुचि रहेको म अध्यापन कार्यमा लागें। मानिसले निस्काम अठोट गरे र नैतिक बल राखे मनमा सदा सन्तोष रहन्छ। सबैले यसैलाई जीवन शैलीको मेरुदण्ड बनाउनु पर्छ जस्तो लाग्छ।
नोकरीबाट अवकाश लिएपछि अध्यापन मात्र नगरी नियमनकारी निकाय जस्तै, नेपाल इञ्जिनीयरिङ काउन्सिलमा पनि आवद्ध भइसक्नु भएको छ। नेपालको प्राविधिक शिक्षा नीति तथा गतिविधिहरूका विषयमा के टिप्पणी छ?
अध्यापनको अतिरिक्त अन्य सम्वन्धित संस्थाहरू जस्तै नेपाल इञ्जिनियरिङ एसोसिएसन, सोसाइटी अफ नेपाल आर्किटेक्ट, नेपाल इञ्जिनियरिङ काउन्सिलको निर्वाचित सदस्यका रूपमा संलग्न भएँ। त्यहाँ केहि उपलब्धिमूलक सेवा गर्न सकिन्छ कि भनेर लागेको थिएँ, 'कार्ड भ्यालु अर्न' गरी घिच्रो फुलाउन हैन। अहिले नेपालमा व्यवसायिक शिक्षा अति नै ब्यापारिकरण हुँदै गएको छ तर स्तर खस्किरहेको छ। राजनैतिक दुस्परिणामको असरले नै यस्तो भएको हो, जुन अत्यन्त दुखद कुरा हो।
तपाईं आस्तिक कि नास्तिक? तपाईं केमा विश्वास राख्नु हुन्छ?
हिन्दु भएर जन्मिइयो। धर्मान्ध नभए पनि ठिक बाटोमा हिँड्न सकूँ सोचेर जगतका संचालक प्राकृतिक ईश्वरमाथि मेरो पक्का विश्वास छ, जसले मलाई सधैं ठिक बाटोमा डोर्याउन मद्दत गरिरहेको छ।
तपाईंको हकमा भाग्य र परिश्रममा कुन चाहिँ बढी लागु हुन्छ? साथै, यदि अर्को जन्म पनि मानव हुने मौका पाउनु भयो भने कहाँ जन्मिएर, के गर्न कोसिस गर्नु हुन्छ?
पुर्विय दर्शनमा भाग्य हुन्छ भनिन्छ र केहि हदसम्म भएजस्तो लाग्छ तर परिश्रम नै मूल तथ्य हो। पुनर्जन्मकाबारे मेरो विश्वास छैन। अगर रहेछ भने म नेपालको हिमालको काखमै जन्मन रुचाउँने छु र प्राकृतिक श्रोतको जगेर्ना गर्ने कोशिस गर्ने छु।
तपाईंको जीवनमा प्रभाव पारेका आदर्श वा उत्प्रेरक व्यक्तिहरू कोहि छन्?
सम्पदा संरक्षणमा नेपाललाई ठुलो योगदान दिएका हावर्ड युनिभर्सिटीका मेरा गुरू एडवर्ड सेकसर र लुम्बिनी विकासका मास्टर प्लानर केन्जो टान्गेलाई उच्च स्थानमा राख्छु। अन्य नामहरू पनि मननीय छन्।
यो रहस्यमय विश्व ब्रह्माण्डको समग्र डिजाइन र आर्किटेक्चर कस्तो लाग्छ? अनि, जलवायु परिवर्तनले विनास निम्त्याई रहेकोमा के भन्न मन लागेको छ?
मैले पहिले उल्लेख गरे झैं प्राकृतिक ईश्वर छन् र विश्व प्राकृतिक सम्पदाका रक्षक पनि उनै ”वडा ही सिआइडी है निली छतरीवाला, हर तालेकी चाबी रखे हर चाबीका ताला” हुन्।
मानव जातिले सामना गरिरहेको प्राकृतिक प्रकोपका लागि पश्चिमा देशहरू जिम्मेबार छन्। ग्लोबल वार्मिङ त्यहि मूर्खताका कारण उत्पत्ति भएको हो, जसले गरिब र धनी सबै देशहरू दुबै पीडित बनिरहेका छन्।
’सित्तैमा केही पाइँदैन’भन्ने बहुचर्चित अमेरिकी भनाई र गराइको वावजुद तथाकथित एमसिसि र एसपिपी सहयोग प्रकरणबारे तपाईंको टिप्पणी के छ?
अमेरिकाको चरम दबाबमा एमसिसी र एसपिपी पारित गरिनु अचम्म लाग्दो छ। त्यो नेपाली नेताहरूको गद्दारी हो। ति देश बेचुवा हुन्।
राजा वीरेन्द्रले तिमीलाई के चाहिन्छ भनी सोध्दा केही चाहिन्न भन्न सक्ने अपत्यारिलो र अपवाद व्यक्तित्व कसरी बन्नु भयो?
यसमा केहि ठुलो राज छैन। स्वच्छ, सदाचार व्यवहारले मनोवल उच्च राखछ त्यसले नैतिकशक्ति पनि प्रदान गर्छ।
पहिले, काठमाण्डू महानगर पालिका कै स्वीकृतिमा निर्माण भएका संरचनाहरू हाल आएर मापदण्ड विपरीत भन्दै विना क्षतिपूर्ति डोजर चलाउँदा के सर्वसाधारण सेवाग्राहीहरु अन्यायमा पर्दैनन्? नियम विपरीत नक्सा पास गर्ने तत्कालीन भ्रष्ट अधिकारीहरू उपर कार्यवाही गर्नुपर्ने होइन?
बेथितिले चलेको घरमा थितिको आशा गर्नु निरर्थक। नीति कथाअनुसार नै देश चलेको छ जहाँ घरमा बाजे चोर बावु चोर र नाती चोर हुन्छ त्यो घरको के स्थिति हामी अनुमान गर्न सक्छौं। त्यसरी कारवाही गर्न त अर्को कोतपर्व गर्नुपर्छ।
हाल स्वदेशमै उत्पादित विज्ञ तथा उच्च पदस्थहरू विदेशिनेको लर्को छ। तपाईंकै सन्तान पनि विदेशिएका रहेछन्। प्रतिभा पलायनका कारण र समाधानका सूत्रहरू के हुन सक्छन्?
सबैभन्दा पहिले नेपाललाई नेपाली नेतीहरूले नै ठगेका छन्। त्यसमा भूराजनीतिले वाह्य कारणले झन् खतरामा पारेको छ। निष्ठाको राजनीतिको कमी, व्यक्तिगत मूल्यको कमी, नेताहरूमा स्वार्थवस दासत्व प्रवृत्ति बढ्नु, नेपाल आमाप्रति कर्तव्यको स्खलन, लाहुरे बन्ने तृष्णा आदिलाई कारक मान्छ सकिन्छ।
कुनैपनि देशको विकासमा प्राविधिकहरूको अग्रणी भूमिका रहन्छ तर, नेपालले चाहे जस्तो ब्यवसायिक, निर्विवाद तथा सेवामुखी प्राविधिक किन पाउन नसकेको होला? पढाइको गुणस्तर तथा ब्यवसायिक धर्मबाट विचलन हुनुको कारण र निराकरणबारे के भन्नु हुन्छ?
हामी नेपालीहरू हरेक क्षेत्रमा धर्म र कर्म दुवैबाट विचलित हुँदै गएका छौं।
हाल नेपाल बनाउने भनिकन लागि परेका भनिएका वा हिम्मती देखिएका केही युवाहरू वा भनौ नयाँ अभियन्ताहरू जस्तै बालेन, रवि लामिछाने, हर्क साम्पाङ्प्रति किन सरकार आभारी हुनुको साटो एकदम असहिष्णु बनेको होला?
हेर्नुस्, मानकाजीजी यि नयाँ आवरणवाला नयाँ युवा नेताहरू पनि चटके लाग्छन् मलाई। उल्लिखित नामहरू पनि 'मारा'को दाउमा च्याँखे थापेर बसे जस्तो लाग्छ। तसर्थ, आश गर्नुस् तर भरोसा नगर्नुस्।
नेपालको भूत, वर्तमान र भविष्यको बारेमा कसरी समीक्षा गर्नु हुन्छ?
नेपालको भविष्य निष्ठावान नेपालीहरुले नै गर्ने हो। निस्वार्थ आचरण यसको पूर्व सर्त हो। पुरा गरे भविष्य पक्कै उज्ज्वल हुन्छ।
वास्तुकलाको हिसाबले नेपालको स्थान कहाँ पर्छ?
कुनै अष्ट्रेलियन विद्वानले मलाई भनेका थिए:
If wealth was to be assessed in terms of heritages and natural endoments then Nepal in general and Kathmandu in particular wii be the richest place on earth. यहि भनाइले पनि नेपाललाई अत्यन्त महत्वपूर्ण स्थानमा राखेको मान्न सकिन्छ।
प्रस्तुति: मानकाजी ‘जेना’ उर्फ ‘माकेन्जी यमी गस्पदिन’–सेवा निवृत्त प्रोफेसनल इञ्जिनियर, भ्यानकुभर, क्यानाडा

सम्बन्धित खबर.png)














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया