ब्याजदर वृद्धिपछि टोरन्टोको घरजग्गा बजारमा अन्योल
नेपालTouch
अन्टारियो। बैंक अफ क्यानाडाले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर बढाएपछि टोरन्टोको घरजग्गा बजारमा थप अनिश्चितता देखिएको छ। ब्याजदर वृद्धिले घर किन्न ऋण लिनेहरूको लागत बढाउने भए पनि यसको प्रभाव कति गहिरो हुन्छ भन्नेबारे घरजग्गा व्यवसायीहरूबीच फरक आकलन छ।
बैंक अफ क्यानाडाले बुधबार आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर २.५० प्रतिशत पुर्याएको छ। सन् २०२३ जुलाईपछि पहिलोपटक ब्याजदर बढाइएको हो। मध्यपूर्वको युद्धका कारण ऊर्जा मूल्य बढ्दा मुद्रास्फीति थप फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर बैंकले यस्तो निर्णय गरेको जनाएको छ।
बैंककी वरिष्ठ डेपुटी गभर्नर क्यारोलिन रोजर्सले घरजग्गा क्षेत्रको अवस्था अहिले नै कमजोर रहेको र ऋणको लागतले बजारलाई दबाब दिइरहेको बताएकी छन्। ब्याजदर वृद्धिले यो दबाब केही थप बढाउने उनको भनाइ छ।
घरजग्गा कम्पनी रोयल लेपेजका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत फिल सोपरले ब्याजदर वृद्धि एकपटकको समायोजन हो वा लामो समयसम्म ब्याजदर बढ्ने क्रमको सुरुवात हो भन्ने मुख्य प्रश्न रहेको बताएका छन्। घरजग्गा बजारमा लामो समयदेखि देखिएको सुस्तताले आर्थिक वृद्धिमै असर पारिरहेको अवस्थामा ऋणको लागत बढ्दा चुनौती थपिने उनको भनाइ छ।
तर रोयल लेपेज सिग्नेचर रियल्टीका दलाल शाउन जिगलस्टाइनले तत्कालै ब्याजदर वृद्धिले घर किन्नेहरूको विश्वासमा ठूलो असर नपार्ने बताएका छन्। अहिलेको बजार सन् २०२२ जस्तो नभएको र त्यतिबेला जसरी घरको मूल्य निरन्तर तीव्र गतिमा नबढिरहेको उनको भनाइ छ। उनका अनुसार ब्याजदरमा ०.२५ प्रतिशत विन्दुको वृद्धिले धेरैजसो खरिदकर्ताको मासिक किस्तामा ठूलो फरक नपार्न सक्छ।
घर किन्न चाहने ग्राहकहरू ब्याजदरभन्दा पनि दैनिक जीवनयापनको बढ्दो खर्च, रोजगारीको अनिश्चितता, व्यापारसम्बन्धी तनाव र लगानीको अवस्थाबारे बढी चिन्तित रहेको जिगलस्टाइनले बताएका छन्। ब्याजदर थप बढ्दै गएमा भने ऋण महँगिने भएकाले मानिसहरूले खर्च र घर खरिदसम्बन्धी निर्णयमा पुनर्विचार गर्न सक्ने उनको भनाइ छ।
बैंक अफ क्यानाडाले झन्डै एक वर्षदेखि स्थिर राखेको ब्याजदर यसअघि लगातार कटौती गरिएको थियो। तर सेप्टेम्बरमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै मुद्रास्फीति ३.१ प्रतिशत पुगेपछि बैंकले ब्याजदर बढाउने निर्णय गरेको हो। ऊर्जा मूल्यको वृद्धि अन्य वस्तु तथा सेवाको मूल्यमा समेत फैलिन नदिन यस्तो कदम आवश्यक भएको बैंकको भनाइ छ।

सम्बन्धित खबर
.png)












.png)
.png)
.png)











तपाईंको प्रतिक्रिया