• शनिबार, १५ कार्तिक, २०८३
  • Saturday, 31 October, 2026
  • X

क्यानाडामा मतदाताले फेर्दैछन् नेतृत्व, लामो समयका जनप्रतिनिधि पनि पराजित

नेपालTouch
बुधबार कार्तिक १२, २०८३ | Wednesday October 28,2026

अन्टारियो। जीवनयापनको बढ्दो खर्च, आर्थिक अनिश्चितता र जनजीवनमा अपेक्षित सुधार नआएको असन्तुष्टिका कारण क्यानाडाका विभिन्न सहर र प्रान्तमा सत्तामा रहेका जनप्रतिनिधि पराजित हुन थालेका छन्। पछिल्ला निर्वाचनमा लामो समयदेखि पदमा रहेका मेयरदेखि प्रान्तीय सरकारका प्रमुखसम्मले पद गुमाएका छन्।

'ग्लोबल न्युज'का अनुसार सोमबार अन्टारियोका विभिन्न सहरमा भएको स्थानीय निर्वाचनमा लामो समयदेखि पदमा रहेका मेयर र काउन्सिलर पराजित भएका छन्। त्यसको केही दिनअघि ब्रिटिस कोलम्बियामा पनि प्रान्तीय निर्वाचनमा न्यु डेमोक्रेटिक पार्टीको सरकार र मुख्यमन्त्री डेभिड एबी पराजित भएका थिए। यसअघि अक्टोबरमा क्युबेकको गठबन्धन भविष्य क्युबेक (सीएक्यू) सरकारले प्रान्तीय निर्वाचनमा सबै सिट गुमाएको थियो।

राजनीतिक विश्लेषकहरूले अमेरिकाले लगाएको भन्सार शुल्क, मुद्रास्फीतिमा देखिएको उतारचढाव र जीवनयापन सहज हुने समयबारे अनिश्चितताले मतदातामा असन्तुष्टि बढाएको बताएका छन्।

हार्वर्ड विश्वविद्यालयका राजनीतिकशास्त्री लुइस क्रासिन्स्कीका अनुसार अहिले धेरै क्यानाडालीले आफ्नो जीवनस्तरमा अपेक्षित सुधार भइरहेको महसुस गरेका छैनन्। यस्तो अवस्थामा मतदाताले नयाँ विचार र समाधान दिन सक्ने नेतृत्व खोज्ने गरेको उनले बताए।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका राजनीतिकशास्त्रका प्राध्यापक रिचर्ड जोन्स्टनले लामो समय पदमा रहँदै आएको राजनीतिक नेतृत्वको प्रभाव घट्दै गएको बताए। विगतमा न्यु ब्रन्सविकमा प्रोग्रेसिभ कन्जरभेटिभ पार्टी १७ वर्ष र अल्बर्टामा ४३ वर्षसम्म सत्तामा रहेको उदाहरण दिँदै उनले अहिले सरकारको औसत कार्यकाल करिब १० वर्षमा सीमित भएको बताए।

जोन्स्टनका अनुसार कोभिड-१९ महामारीको व्यवस्थापन, आपूर्ति शृङ्खलामा आएका समस्या, मुद्रास्फीति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका भन्सार शुल्कले क्यानाडाली नागरिकमा आर्थिक दबाब बढाएको छ। त्यसको असन्तुष्टि मतदाताले स्थानीय र प्रान्तीय जनप्रतिनिधिमाथि पोखिरहेको उनले बताए।

मतदाताले नेतृत्व परिवर्तन गर्नुका कारण फरक–फरक हुन सक्ने क्रासिन्स्कीको भनाइ छ। लामो समय पदमा रहेका नेताप्रतिको असन्तुष्टि, नयाँ उम्मेदवारबाट परिवर्तनको अपेक्षा वा उपलब्ध विकल्पमध्ये राम्रो नेतृत्व छान्ने चाहनाले पनि मतदातालाई प्रभावित पार्न सक्ने उनले बताए।

अक्टोबर २६ मा भएको निर्वाचनमा ओन्टारियोको मिल्टनका मेयर गोर्ड क्रान्ट्ज पराजित भए। उनी सन् १९८० देखि मेयर पदमा रहँदै आएका थिए। त्यस्तै, सार्नियाका मेयर माइक ब्राडलीको ३८ वर्ष लामो कार्यकाल पनि नयाँ उम्मेदवार क्यारी म्याकइक्रेनसँगको पराजयसँगै समाप्त भयो।

एक कार्यकाल मात्रै पूरा गरेका केही मेयरले पनि पद गुमाएका छन्। ब्रिटिस कोलम्बियाको पोर्ट मुडीका मेघन लाहटी र न्यु वेस्टमिन्स्टरका प्याट्रिक जोनस्टोन तथा अन्टारियोको मिसिसागाका क्यारोलिन पारिस र ह्यामिल्टनकी एन्ड्रिया होरवाथ पराजित भएका छन्।

फ्रेजर भ्याली विश्वविद्यालयका राजनीतिकशास्त्रका सहप्राध्यापक हामिस टेलफोर्डले पछिल्लो चार वर्षमा जनताले अपेक्षा गरेअनुसार प्रगति नभएको ठानेपछि मतदाताले नेतृत्व परिवर्तन रोजेको बताए। मेयरले गरेका वाचाअनुसार आफ्नो जीवन वा सहरमा सुधार नदेखेपछि मतदाताले नेतृत्वको दिशामाथि प्रश्न उठाउने उनको भनाइ छ।

तर, सबै पदासीन जनप्रतिनिधि पराजित भएका छैनन्। टोरन्टोकी मेयर ओलिभिया चाउ, ब्राम्पटनका मेयर प्याट्रिक ब्राउन र ब्रिटिस कोलम्बियाका केही मेयरले पुनः पद जोगाएका छन्। मतदातासँगको व्यक्तिगत सम्बन्ध, पहिचान र विश्वास तथा बलियो प्रतिस्पर्धी उम्मेदवारको अभावले पनि पदासीन जनप्रतिनिधिलाई लाभ पुग्न सक्ने क्रासिन्स्कीले बताए।

तर, लामो समय पदमा रहेका नेताप्रतिको विश्वास र निर्णय क्षमतामाथि प्रश्न उठ्न थालेपछि व्यक्तिगत लोकप्रियताले मात्रै पद जोगाउन नसक्ने टेलफोर्डको भनाइ छ। क्यानाडामा प्रत्येक दशकजसो नेतृत्व परिवर्तनको लहर आउने गरेको उनले बताए।

तपाईंको प्रतिक्रिया