'एयरबीएनबी'मा बस्दा अब पाहुनाले आफैँ सफाइ गर्नु नपर्ने
नेपालTouch
अन्टारियो। क्यानाडासहित विश्वभरका एयरबीएनबीमा बस्ने पाहुनाले कोठा छाड्नुअघि ओछ्यानको तन्ना निकाल्ने, भाँडा माझ्ने र फोहोर घरबाहिर लैजानेजस्ता काम गर्नुपर्ने बाध्यता हट्ने भएको छ।
अल्पकालीन आवास भाडामा दिने कम्पनी एयरबीएनबीले नोभेम्बर २०, २०२६ देखि लागू हुने गरी पाहुनाले गर्नुपर्ने सफाइसम्बन्धी काममा नयाँ सीमा तोकेको छ।
नयाँ नियमअनुसार घरधनीले पाहुनालाई धेरै समय वा मेहनत लाग्ने अथवा सामान्यतया व्यावसायिक सफाइकर्मीले गर्ने काम गर्न बाध्य पार्न पाउने छैनन्।
भाँडा माझेर राख्ने, ओछ्यानको तन्ना निकाल्ने र फोहोर आवासबाहिर लगेर फाल्ने काम गर्न लगाउन पाइने छैन।
तर पाहुनाले प्रयोग गरेका भाँडा सिङ्कमा राख्ने, प्रयोग गरिएका तौलिया एक ठाउँमा जम्मा गर्ने तथा फोहोर र पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्टाछुट्टै भाँडामा राख्ने जस्ता सामान्य काम गर्न भने अनुरोध गर्न सकिनेछ।
स्थानीय अवस्था र सुरक्षाको आवश्यकताअनुसार केही अपवाद पनि लागू हुन सक्ने कम्पनीले जनाएको छ। उदाहरणका लागि, भालु पाइने क्षेत्रमा फोहोर जनावरले नछुने भाँडामा राख्न वा खडेरीका कारण पानीको अभाव भएका ठाउँमा नुहाउने समय सीमित गर्न अनुरोध गर्न सकिनेछ।
नयाँ नियम नोभेम्बर २० वा त्यसपछि गरिने बुकिङमा लागू हुनेछ। कम्पनीले आवास बुक गर्नुअघि नै पाहुनाले पालना गर्नुपर्ने सबै नियम स्पष्ट रूपमा देखिने व्यवस्था पनि गरेको छ।
घरधनीले बुकिङ पुष्टि भइसकेपछि सन्देश पठाएर, आवासभित्र सूचना टाँसेर वा अन्य माध्यमबाट नयाँ नियम थप्न पाउने छैनन्।
एयरबीएनबीले घरधनीका नियमलाई सातवटा मानक श्रेणीमा व्यवस्थित गरेको छ। यसमा रात बिताउन पाउने पाहुनाको सङ्ख्या, शान्ति कायम गर्नुपर्ने समय, कार्यक्रम आयोजना, घरपालुवा जनावर, धूमपान, व्यावसायिक तस्बिर तथा भिडियो खिच्ने व्यवस्था र आवास छाड्दा ढोका बन्द गर्ने विषय समेटिएका छन्।
कम्पनीका अनुसार नियम अस्पष्ट र झन्झटिला हुँदा पाहुना तथा घरधनी दुवैलाई समस्या हुने गरेको छ। नयाँ व्यवस्थाले बुकिङ गर्नुअघि नै अपेक्षा स्पष्ट पार्ने र आवास छाड्ने बेलामा अनावश्यक विवाद कम गर्ने उद्देश्य राखेको छ।
सफाइ शुल्क तिरेपछि पनि पाहुनालाई विभिन्न कामको लामो सूची दिइने गरेको भन्दै एयरबीएनबी प्रयोगकर्ताले असन्तुष्टि जनाउँदै आएका थिए। सन् २०२५ को अप्रिलदेखि कम्पनीले घरधनीलाई सफाइ शुल्क छुट्टै देखाउन अनिवार्य नगरी कुल मूल्यमा समावेश गर्न सक्ने व्यवस्था गरेको थियो। तर सफाइ शुल्कको अधिकतम सीमा भने तोकिएको छैन।
नयाँ नियमले घरधनीलाई पाहुनामाथि आफ्नै तर्फबाट जरिबाना वा अन्य आर्थिक दण्ड लगाउन पनि रोक लगाएको छ। आवासमा पाहुनाका कारण सामान्यभन्दा बढी क्षति भएमा भने कम्पनीका विद्यमान क्षतिपूर्ति व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउन सकिनेछ।
नियम उल्लङ्घन हुने खालका अनुरोध पहिचान भएमा एयरबीएनबीले घरधनीलाई सच्याउन वा त्यसबारे पुनरावलोकनका लागि निवेदन दिन अवसर दिनेछ। नियम नसच्याएमा आवासको विवरणमा चेतावनी देखिन सक्ने कम्पनीले जनाएको छ।
नयाँ व्यवस्था लागू भएपछि नोभेम्बर २० वा त्यसपछि आवास बुक गर्ने क्यानाडाका यात्रुले बुकिङ गर्नुअघि घरधनीका नियम र सर्त ध्यानपूर्वक हेर्नुपर्नेछ।

सम्बन्धित खबर





.png)








.png)

.png)










तपाईंको प्रतिक्रिया