• आइतबार, २५ असोज, २०८३
  • Sunday, 11 October, 2026
  • X

क्यानाडामा मानसिक रोगका आधारमा इच्छामृत्यु दिने योजना स्थगित

नेपालTouch
शुक्रबार असोज २३, २०८३ | Friday October 09,2026

अन्टारियो। क्यानाडा सरकारले मानसिक रोग मात्रै भएका व्यक्तिलाई चिकित्सकीय सहायतामा मृत्यु रोज्न पाउने व्यवस्था विस्तार गर्ने योजना अनिश्चितकालका लागि स्थगित गरेको छ। यो व्यवस्था सन् २०२७ मार्चदेखि लागू गर्ने तयारी थियो।

न्यायमन्त्री सियन फ्रेजरले बुधबार सरकारले यससम्बन्धी कानुन संशोधन गर्ने विधेयक शरद ऋतुमा संसद्मा पेस गर्ने बताए। उनका अनुसार मानसिक रोगलाई मात्रै आधार मानेर चिकित्सकीय सहायतामा मृत्यु पाउने व्यवस्था विस्तार नगर्ने निर्णय गरिएको हो।

चिकित्सकीय सहायतामा मृत्यु (मेडिकल असिस्टेन्स इन डाइङ–मेड) सम्बन्धी व्यवस्था विस्तार गर्ने विषयमा चिकित्सा क्षेत्रमा सहमति नभएको र मानसिक स्वास्थ्य सेवामा सबैको पर्याप्त पहुँच नरहेको विषयले सरकारलाई चिन्तित बनाएको फ्रेजरले बताए।

सन् २०२६ जुनमा संसदीय समितिले मानसिक रोग मात्रै भएका व्यक्तिलाई यो सेवाका लागि योग्य बनाउने योजना अनिश्चितकालसम्म रोक्न सिफारिस गरेको थियो। समितिले मानसिक स्वास्थ्य सेवामा पर्याप्त र समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औँल्याएको थियो।

सरकारको निर्णयप्रति योजनाको विस्तारका पक्षधरले असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा मानसिक रोगबाट गम्भीर पीडामा रहेका व्यक्तिलाई अन्य रोग भएका व्यक्तिसरह अधिकार नदिनु समानताको सिद्धान्तविपरीत हुन्छ।

अधिकारकर्मी संस्था ‘डाइङ विथ डिग्निटी’की प्रमुख हेलेन लङले सरकारको निर्णयलाई निराशाजनक बताएकी छन्। गम्भीर र दीर्घकालीन मानसिक रोग भएका थोरै व्यक्ति मात्रै यस व्यवस्थाका लागि योग्य हुन सक्ने भए पनि उनीहरूको पीडालाई कम आँक्न नमिल्ने उनको भनाइ छ।

तर, मानसिक रोगलाई उपचारबाट निको नहुने अवस्थाका रूपमा कहिले र कसरी निर्धारण गर्ने भन्ने विषयमा चिकित्सकहरूबीच सहमति नभएको भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ। मानसिक स्वास्थ्य सेवामा पहुँच नपाएका व्यक्तिले आवश्यक उपचारको सट्टा मृत्युलाई विकल्पका रूपमा रोज्नुपर्ने अवस्था आउन सक्ने विषय पनि बहसमा छ।

सरकारको निर्णयलाई चुनौती दिँदै अदालतमा मुद्दासमेत विचाराधीन छ। मानसिक रोगबाट पीडित क्लेयर ब्रोसोले आफूलाई उपचारबाट निको हुन नसक्ने द्विध्रुवी मानसिक रोग रहेको बताउँदै कानुनविरुद्धको मुद्दामा सहभागी भएकी छन्। उनका वकिल माइकल फेनरिकले यस विषयमा लामो कानुनी लडाइँ हुन सक्ने बताएका छन्।

सरकारले प्रस्तावित विधेयकमा अर्को व्यवस्था पनि समेट्ने भएको छ। गम्भीर र निको नहुने रोग लागेका व्यक्तिले भविष्यमा आफ्नो निर्णय गर्ने क्षमता गुमाउनुअघि नै चिकित्सकीय सहायतामा मृत्युका लागि अग्रिम सहमति दिन सक्ने व्यवस्था प्रस्ताव गरिनेछ।

तर, अग्रिम सहमतिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने वा नगर्ने निर्णय प्रान्तीय सरकारहरूले गर्नेछन्। क्युबेकमा गम्भीर र निको नहुने रोगका कारण भविष्यमा निर्णय गर्ने क्षमता गुमाउन सक्ने व्यक्तिले अग्रिम अनुरोध गर्न पाउने व्यवस्था छ। अल्बर्टाले भने यस प्रकारको अग्रिम सहमतिलाई अनुमति नदिने कानुन पारित गरिसकेको छ।

क्यानाडामा सन् २०१६ मा चिकित्सकीय सहायतामा मृत्यु कानुनी बनेको थियो। सन् २०२१ मा कानुन विस्तार गर्दै मृत्यु निकट नभए पनि गम्भीर र निको नहुने रोगका कारण असह्य पीडा भोगिरहेका व्यक्तिलाई समेत यसका लागि योग्य बनाइएको थियो। तर, मानसिक रोग मात्रै भएका व्यक्तिलाई भने अस्थायी रूपमा यसबाट बाहिर राखिएको थियो।

यसअघि सन् २०२३ मा लागू गर्ने भनिएको मानसिक रोगसम्बन्धी व्यवस्था थप अध्ययनका लागि पटकपटक सारिएको थियो। पछिल्लो निर्णयसँगै उक्त व्यवस्था कहिलेदेखि लागू हुने भन्ने निश्चित समयसीमा हट्ने भएको छ।

तपाईंको प्रतिक्रिया