• शनिबार, ८ कार्तिक, २०८३
  • Saturday, 24 October, 2026
  • X

एआई च्याटबोट बजार: च्याटजीपीटी शीर्षमै, जेमिनी र क्लाउडको हिस्सा बढ्यो

नेपालTouch
बुधबार कार्तिक ५, २०८३ | Wednesday October 21,2026
-Agency

टोरन्टो । विश्वभर प्रविधिको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस क्षेत्रको बजार प्रतिस्पर्धामा उल्लेख्य फेरबदल आएको छ।

सिमिलरवेबको पछिल्लो तथ्यांकलाई उद्धृत गर्दै भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको विवरण अनुसार ओपनएआईको च्याटजीपीटी अझै पनि शीर्ष स्थानमा कायम छ, तर प्रतिद्वन्द्वी प्लेटफर्महरूको तीव्र वृद्धिका कारण यसको बजार हिस्सा भने खुम्चिएको छ।

सन् २०२६ को सेप्टेम्बर महिनामा विश्वभर भएका कुल एआई च्याटबोट वेबसाइट भिजिटमध्ये च्याटजीपीटी एक्लैले ५६ दशमलव चार प्रतिशत हिस्सा ओगटेको छ। उक्त महिना च्याटजीपीटीको वेबसाइटमा अनुमानित पाँच अर्ब ९० करोड पटक पहुँच दर्ता भएको थियो।

गुगलको जेमिनी २५ प्रतिशत बजार हिस्सा र दुई अर्ब ६१ करोड भिजिटसहित दोस्रो स्थानमा छ। च्याटजीपीटी र जेमिनी दुई प्लेटफर्मले मात्रै विश्वव्यापी एआई च्याटबोट वेब ट्राफिकको ८० प्रतिशतभन्दा बढी भाग ओगटेका छन्।

यसैगरी, एनथ्रोपिकको क्लोड ९ दशमलव छ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा उक्लिएको छ। सन् २०२५ को अक्टोबरमा दुई दशमलव तीन प्रतिशत मात्र हिस्सा रहेको क्लाउडले छोटो समयमै आफ्नो उपस्थिति झन्डै चार गुणाले बढाउँदै एक अर्ब भिजिट दर्ता गर्न सफल भएको हो।

तथ्यांक अनुसार सन् २०२५ को अक्टोबरदेखि सन् २०२६ को सेप्टेम्बरको अवधिमा जेमिनी र क्लाउडले मात्र आफ्नो बजार हिस्सा बढाउन सफल भएका छन्। गुगलले सन् २०२५ को अन्त्यतिर जेमिनी ३ सार्वजनिक गरेपछि र आफ्ना फराकिलो प्रयोगकर्ता आधार प्रयोग गरेपछि यसको मासिक भिजिट एक अर्ब १० करोडबाट बढेर दुई अर्ब ६० करोड पुगेको थियो।

अर्कोतर्फ, कोडिङ र ज्ञानमा आधारित कार्यमा उत्कृष्ट प्रदर्शन, विज्ञापनरहित सेवा र सन् २०२६ को सुरुवातमा सञ्चालित सशक्त बजारीकरणका कारण क्लोडको भिजिट १५ करोड ७० लाखबाट बढेर एक अर्ब पुगेको हो।

यसै अवधिमा अन्य प्रमुख एआई च्याटबोटहरूको बजार हिस्सा भने घटेको छ। चौथो स्थानमा रहेको डीपसीकले तीन दशमलव चार प्रतिशत (३५ करोड ६० लाख भिजिट), एक्सएआईको ग्रोकले दुई दशमलव तीन प्रतिशत (२४ करोड १० लाख भिजिट), माइक्रोसफ्टको कोपाइलटले एक दशमलव पाँच प्रतिशत (१५ करोड ७० लाख भिजिट) र पर्प्लेक्सिटीले शून्य दशमलव नौ प्रतिशत (नौ करोड ४० लाख भिजिट) हिस्सा ओगटेका छन्।

यी चारै वटा प्लेटफर्मको संयुक्त बजार हिस्सा ११ दशमलव चार प्रतिशतबाट घटेर आठ दशमलव एक प्रतिशतमा झरेको छ, जुन तेस्रो स्थानमा रहेको क्लोड एक्लैको हिस्साभन्दा कम हो।

च्याटजीपीटीको बजार हिस्सा घटे पनि यसको कुल ट्राफिक भने बढेको छ। सन् २०२६ को जनवरीमा पाँच अर्ब ७० करोड रहेको यसको मासिक भिजिट सेप्टेम्बरसम्म आइपुग्दा पाँच अर्ब ९० करोड पुगेको छ। तर, प्रतिस्पर्धीहरू अझ तीव्र गतिमा अघि बढेकाले यसको वर्चस्वमा दबाब परेको देखिन्छ।

तपाईंको प्रतिक्रिया