• मंगलबार, २५ कार्तिक, २०८३
  • Tuesday, 10 November, 2026
  • X

धर्मार्थ संस्थाबाट ५ लाख डलरभन्दा बढी ठगी गरेको आरोपमा कर्मचारी पक्राउ

नेपालTouch
मंगलबार कार्तिक २५, २०८३ | Tuesday November 10,2026

अन्टारियो। क्यानाडाको टोरन्टोमा एक दर्ता प्राप्त धर्मार्थ संस्थामा कार्यरत महिलाले संस्थाकै ५ लाख डलरभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।

प्रहरीले ४७ वर्षीया महिलालाई पक्राउ गरी ठगी, नक्कली कागजात प्रयोग र आपराधिक गतिविधिबाट प्राप्त रकम शुद्धीकरण गरेको आरोपमा मुद्दा चलाएको छ।

टोरन्टो प्रहरीका अनुसार संस्थामा कार्यरत रहँदा आरोपितले विभिन्न शङ्कास्पद कारोबारमार्फत संस्थाको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती कारोबारका कारण संस्थालाई ५ लाख डलरभन्दा बढी आर्थिक क्षति पुगेको प्रहरीको भनाइ छ।

प्रहरीले टोरन्टो निवासी अनाबेल मेनेजेसलाई गत अक्टोबर २० मा पक्राउ गरेको हो। उनीमाथि ५ हजार डलरभन्दा बढीको ठगी, नक्कली कागजात प्रयोग र आपराधिक गतिविधिबाट प्राप्त रकम शुद्धीकरण गरेको आरोप लगाइएको छ।

प्रहरीले पीडित संस्थाको नाम भने सार्वजनिक गरेको छैन। त्यस्तै, शङ्कास्पद कारोबार कसरी गरिएको थियो र रकम कहाँ प्रयोग भयो भन्नेबारे पनि थप विवरण खुलाइएको छैन।

मेनेजेसलाई आगामी डिसेम्बर १७ मा दिउँसो २ बजे टोरन्टोस्थित अन्टारियो अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। उनीमाथि लागेका आरोप प्रमाणित भइसकेका छैनन्।

तपाईंको प्रतिक्रिया