• मंगलबार, २५ कार्तिक, २०८३
  • Tuesday, 10 November, 2026
  • X

नक्कली पहिचानमा क्यानेडियन राहदानी बनाउनेलाई दुई वर्ष जेल

नेपालTouch
मंगलबार कार्तिक २५, २०८३ | Tuesday November 10,2026

अन्टारियो। गलत पहिचानका आधारमा क्यानाडाको वास्तविक राहदानी प्राप्त गरी १५ महिनाको अवधिमा १६ पटक देशभित्र प्रवेश र बाहिरिएको एक घानाली नागरिकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ।

२२ वर्षीय जेफरसन जोर्मेलोले क्यानाडाको नागरिकता ऐन उल्लङ्घन गरेको अभियोगमा यसै वर्ष दोष स्वीकार गरेका थिए।

क्यालगरीमा सोमबार न्यायाधीश करेन मोलले उनलाई दुई वर्षको जेल सजाय सुनाएकी हुन्। पक्राउ परेदेखि हिरासतमा बिताएको समय कट्टा गर्दा उनले अब करिब १४ महिना जेलमा बिताउनुपर्नेछ।

न्यायाधीश मोलले जोर्मेलोको कार्यले क्यानाडाको नागरिकता प्रणालीको विश्वसनीयतामाथि प्रहार गरेको बताइन्।

यस्तो अपराधले सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउनुका साथै क्यानाडाको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत असर पार्ने उनको भनाइ थियो।

जोर्मेलो सन् २०२१ मा अध्ययन अनुमतिपत्र लिएर क्यानाडा आएका थिए। सन् २०२४ मा उनी शैक्षिक संस्थामा भर्ना नरहेको खुलेपछि अध्यागमन अधिकारीहरूले उनलाई देशबाट हटाउने आदेश जारी गरेका थिए।

त्यसपछि उनले गलत नाममा नागरिकताको प्रमाणसहितका पहिचानसम्बन्धी कागजात प्राप्त गरे। सोही कागजातका आधारमा सन् २०२४ डिसेम्बरमा ‘मिचेल लेब्लाङ’ नाममा क्यानेडियन राहदानी जारी भएको थियो।

त्यसपछिका १५ महिनामा उनले उक्त राहदानी प्रयोग गरी मन्ट्रियल, टोरन्टो र ह्यालिफ्याक्सका अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडा प्रवेश गर्ने र बाहिरिने गरी १६ पटक यात्रा गरेका थिए।

सन् २०२६ अप्रिलमा क्यालगरीस्थित अमेरिकी वाणिज्य दूतावासका अधिकारीलाई ‘मिचेल लेब्लाङ’ नामको नक्कली स्थायी आवासीय परिचयपत्र देखाएपछि उनी पक्राउ परेका थिए।

क्यानाडा सीमा सेवा निकायका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनको होटलको कोठा खानतलासी गर्दा गलत पहिचानमा जारी गरिएको राहदानी फेला परेको थियो।

मुद्दाको सुनुवाइका क्रममा सरकारी वकिल टायलर लर्डले पाँच वर्ष जेल सजाय माग गरेका थिए। प्रतिरक्षा पक्षका वकिल डेभिन फ्र्याङ्कले भने घानामा बाल्यकाल बिताउँदा जोर्मेलोले गरिबी र दुर्व्यवहार भोग्नुपरेको उल्लेख गर्दै पक्राउपछि हिरासतमा बिताएको करिब नौ महिनालाई नै सजाय मान्नुपर्ने माग गरेका थिए।

न्यायाधीश मोलले जोर्मेलो क्यानाडामा बस्न र काम गर्न निकै इच्छुक रहेको उल्लेख गर्दै उनले अपनाएको तरिका भने योजनाबद्ध र जटिल ठगी भएको बताइन्। आफ्नो बौद्धिक क्षमता प्रयोग गरेर यस्तो अपराध गरेको विषयलाई उनले सजाय निर्धारण गर्दा गम्भीर पक्षका रूपमा लिएकी थिइन्। ‘चतुर अपराधीले सार्वजनिक सुरक्षामा अझ ठूलो जोखिम निम्त्याउँछन्’, न्यायाधीश मोलले भनिन्।

 

तपाईंको प्रतिक्रिया