७ बुँदामा क्यानाडाको संघीय बजेट २०२६-२०२७
नेपालTouch
अटवा। अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहिबार नयाँ बजेट सार्वजनिक गरेको छ।
यस पटकको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारिएको छ। क्यानाडाले अमेरिकासँगको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको र ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्थामा फर्कने सम्भावना नरहेको जनाएको छ।
अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवर्धन र अन्तर्राष्ट्रिय साझेदारीलाई विविधीकरण गर्नु हो। बजेटले ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल तथा स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने योजना पनि अघि सारेको छ।
मार्क कार्नी प्रधानमन्त्री भएपछि दोश्रोपटक प्रस्तुत गरिएको क्यानाडाको बजेट २०२६ का मुख्य ७ कुराहरूः
१. कम आम्दानी भएका परिवारलाई खाद्यान्न तथा इन्धन राहत:
सन् २०२७ को सुरुवातमा 'क्यानाडा ग्रोसरिज एन्ड इसेन्सियल्स बेनिफिट' मार्फत एकपटकका लागि थप ५०% रकम उपलब्ध गराइनेछ। जसअन्तर्गत एकल व्यक्तिले अधिकतम ३३९ डलर र दुई सन्तान भएका दम्पतीले अधिकतम ६७९ डलरसम्म पाउनेछन्। यसैगरी, परिवारको दैनिक खर्च कम गर्न इन्धन कर निलम्बन, घर सुधारमा सहयोग र ५ वर्षमा २२ अरबभन्दा बढीको विभिन्न उपायहरू समेटिएका छन्।
२. स्थायी तथा अस्थायी आप्रवासीको स्थिर कोटा र अस्थायी र स्थायी वासिन्दा अवसर:
सन् २०२७ देखि २०२९ सम्म प्रत्येक वर्ष ३ लाख ८० हजार स्थायी बासिन्दा र ३ लाख ७० हजार नयाँ अस्थायी बासिन्दा भित्र्याउने लक्ष्यसहित आप्रवासन कोटा स्थिर राखिएको छ। सन् २०२७ को अन्त्यसम्ममा क्यानाडामै रहेका लामो समयदेखिका २ लाख अस्थायी बासिन्दाहरूलाई (नियमित कोटाबाहिर) पीआर दिने लक्ष्य छ।
३. आवास, जिएसटी छुट र घरबारबीहिन हुनेको संख्या न्यूनीकरण:
आवास निर्माण तथा घरबारबीहिनको अन्त्यका लागि ११ वर्षमा ४४.७ अर्ब लगानी गर्ने प्रस्ताव छ। यसैगरी, पहिलो पटक घर किन्नेहरूका लागि जिएसटी छुटको व्यवस्था गरिएको छ भने १० वर्षभित्र देशबाट घरबारबीहिन हुनेको संख्या पूर्ण रूपमा अन्त्य गर्ने योजना छ।
४. कामदार र हेरचाह गर्ने परिवारलाई कर सहयोगः
-
बिल्ड क्यानाडा वर्कर्स बेनिफिट मार्फत कामदारको आम्दानीमा थप सहयोग गरिने छ। क्यानाडा केयरगिभर क्रेडिटलाई पूर्ण रूपमा रिफण्डेबल बनाइने र त्यसबाट योग्य हेरचाहकर्ताले सन् २०२७ मा वार्षिक अधिकतम १२ सय ६० डलरसम्म कर क्रेडिट पाउन सक्नेछन्।
५. व्यवसाय, लगानी र स्टार्टअपका लागि ठूलो कर सहुलियत:
व्यवसायहरूले नयाँ उपकरण, प्रविधि र उत्पादनशील सम्पत्तिको लगानी लागत तुरुन्तै कटाउन पाउनेछन्। यसले नयाँ व्यावसायिक लगानीको प्रभावकारी सीमान्त करदर १३% बाट ६.४% मा झार्ने बजेटको लक्ष्य छ। आगामी ६ वर्षमा ४०० अर्ब पूँजीगत लगानी र स्टार्टअपका लागि १ करोड ५० लाखसम्म क्यापिटल गेनमा कर छुट दिने क्यानाडा ग्रोथ इन्सेन्टिभ कार्यक्रम ल्याइएको छ।
६. हरित ऊर्जा, प्रविधि, एआई रोजगारी र रक्षा खर्च:
विद्युत् प्रसारण प्रणाली (ग्रिड) क्षमता दोब्बर बनाउन ५० अर्बभन्दा बढी लगानी गरिनेछ। ८ लाखभन्दा बढी घरमा हिट पम्प र ५५ हजारभन्दा बढी इभी चार्जिङ स्टेसन थपिनेछ। युवाहरूका लागि ५ वर्षमा ९० हजार एआईसम्बन्धी रोजगारी सिर्जना गरिनेछ। बजेटले द्वितीय विश्वयुद्धपछिकै ठूलो रक्षा-खर्च वृद्धि गर्दै नाटोका लागि २% बजेट लक्ष्य समयअगावै पूरा गर्ने योजना अघि सारेको छ।
७. स्थानीय पत्रकारिता र सञ्चारमाध्यमलाई सहयोग: स्थानीय तथा स्वतन्त्र समाचार संस्थाहरूलाई सहयोग गर्न ४ वर्षमा १३ करोड ४० लाख र त्यसपछि वार्षिक ४ करोड १० लाख डलर उपलब्ध गराइनेछ। योग्य निजी अडियो तथा अडियोभिजुअल समाचार संस्थालाई पनि क्यानेडियन जर्नालिज्म लेबर ट्याक्स क्रेडिटको सुविधा उपलब्ध गराइनेछ।
यो बजेटमा नयाँ खर्च तथा कर सहुलियतका उपायहरूको कुल आकार १४२.१ अर्ब रहेको छ भने वित्त वर्ष २०२६–२७ मा ६२.३ अर्ब बजेट घाटा हुने अनुमान गरिएको छ। प्रत्यक्ष कार्यक्रम खर्चको वृद्धिदर ८% बाट २% मा झारेर बजेट अनुशासन कायम गर्ने प्रयास पनि गरिएको छ।

सम्बन्धित खबर






.png)
.png)

.png)





.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया