• बुधबार, १९ कार्तिक, २०८३
  • Wednesday, 04 November, 2026
  • X

क्यानाडामा स्टेपल्सका ३०० स्टोरमा टोइज ‘आर अस'

नेपालTouch
बुधबार कार्तिक १९, २०८३ | Wednesday November 04,2026

अन्टारियो। क्यानाडामा चर्चित खेलौना ब्रान्ड टोइज ‘आर अस' नयाँ स्वरूपमा फर्किने भएको छ। कम्पनीले स्टेपल्स क्यानाडाका करिब ३०० स्टोरभित्र छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको छ।

स्टेपल्स क्यानाडाले टोइज ‘आर’ अस र नयाँ ब्रान्ड ‘पार्टीज ‘आर’ अस’ का सामग्री आफ्ना स्टोरमार्फत बिक्री गर्न नेक्स्ट सेन्चुरी आइप्को क्यान युएलसीसँग सम्झौता गरेको हो। यो साझेदारीको सुरुवात नोभेम्बर १४ मा अन्टारियोको रिचमन्ड हिलस्थित स्टेपल्स स्टोरबाट परीक्षणका रूपमा हुनेछ।

सन् २०२७ को अन्त्यसम्म क्यानाडाभरका करिब ३०० स्टेपल्स स्टोरमा टोइज ‘आर’ अस र पार्टीज ‘आर’ असका छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने कम्पनीहरूको लक्ष्य छ।

नयाँ व्यवस्थाअनुसार स्टेपल्सका स्टोरभित्र खेलौना तथा बालबालिकासँग सम्बन्धित सामग्रीका लागि छुट्टै ठाउँ उपलब्ध गराइनेछ। पार्टीज ‘आर’ असअन्तर्गत बेलुन, पार्टीका सामग्री, मौसमी आवश्यक वस्तु र विभिन्न चर्चित पात्रका तस्बिर तथा नाम भएका सामग्री बिक्री गरिनेछ।

टोइज ‘आर’ अस क्यानाडाको ट्रेडमार्क र बौद्धिक सम्पत्तिमध्ये १५० वटा नेक्स्ट सेन्चुरीले यसै वर्ष खरिद गरेको थियो। क्यानाडामा डग पुटम्यानले सञ्चालन गर्दै आएको उक्त खुद्रा व्यवसाय ऋणदाताबाट संरक्षण पाउने प्रक्रियामा गएपछि कम्पनीका सम्पत्ति बिक्रीमा राखिएका थिए।

नेक्स्ट सेन्चुरी अमेरिकी कम्पनी एड पपुलमसँग आबद्ध छ। एड पपुलमले पार्टी सिटीसहित खेलौना व्यवसायका विभिन्न कम्पनी सञ्चालन गर्छ। यसले अमेरिकाको टेनेसी राज्यस्थित एल्भिस प्रेस्लीसँग सम्बन्धित पर्यटकीय स्थल ग्रेसल्यान्डमा पनि संलग्नता राख्छ।

नयाँ साझेदारीपछि टोइज ‘आर’ असले छुट्टै ठूला स्टोर सञ्चालन नगरी स्टेपल्सको विद्यमान राष्ट्रिय सञ्जालमार्फत क्यानाडाभर आफ्नो उपस्थिति विस्तार गर्नेछ। स्टेपल्सका देशभर करिब ३०० स्टोर र ११ हजार कर्मचारी छन्।

तपाईंको प्रतिक्रिया