• बुधबार, १९ कार्तिक, २०८३
  • Wednesday, 04 November, 2026
  • X

संघीय बजेटसँगै क्यानाडाको आप्रवासन लक्ष्य सार्वजनिक हुने

नेपालTouch
बुधबार कार्तिक १९, २०८३ | Wednesday November 04,2026

अन्टारियो। क्यानाडा सरकारले सन् २०२६ को संघीय बजेटसँगै आगामी आप्रवासनसम्बन्धी वार्षिक लक्ष्य र योजना सार्वजनिक गर्ने भएको छ।

बिहीबार सार्वजनिक हुने बजेटमा आप्रवासनको नयाँ विवरण समेटिने सरकारी स्रोतलाई उद्धृत गर्दै क्यानाडाको 'ग्लोबल न्युज'ले जनाएको छ।

बजेटसँगै सार्वजनिक हुने यो विवरणमा क्यानाडाले आगामी दिनमा कति स्थायी बासिन्दा भित्र्याउने र अस्थायी बासिन्दाको संख्या कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेटिने अपेक्षा गरिएको छ।

लगातार दोस्रो वर्ष सरकारले वार्षिक आप्रवासनसम्बन्धी अद्यावधिक विवरण संघीय बजेटमै समावेश गर्न लागेको हो।

हालको योजनाअनुसार क्यानाडाले प्रत्येक वर्ष ३ लाख ८० हजार स्थायी बासिन्दा भित्र्याउने लक्ष्य राखेको छ।

यसबाहेक सन् २०२६ र २०२७ मा दुई विशेष कार्यक्रममार्फत थप १ लाख ४० हजार अस्थायी बासिन्दालाई स्थायी बसोबासको अनुमति दिने योजना छ। यो संख्या वार्षिक ३ लाख ८० हजारको लक्ष्यमा समावेश छैन।

यसअघि लिबरल सरकारले प्रत्येक वर्ष ५ लाख स्थायी बासिन्दा भित्र्याउने योजना अघि सारेको थियो। तर, तीव्र जनसंख्या वृद्धिले जीवनयापन खर्च र आवास संकट बढाएको क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले बताउँदै आएको छ।

प्रधानमन्त्री कार्नीले आप्रवासनलाई पुनः नियन्त्रणमा ल्याइएको बताउँदै आएका छन्। उनले गत सेप्टेम्बरमा 'न्युयोर्क टाइम्स'सँगको कुराकानीमा अब जनसंख्या वृद्धिलाई नियन्त्रित रूपमा कहिलेदेखि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका थिए।

अर्थमन्त्री फ्राँस्वा–फिलिप साम्पेनले पनि क्यानाडाले विगतमा सार्वजनिक सेवा र समुदायले धान्न सक्ने क्षमताभन्दा बढी मानिस भित्र्याएको बताएका छन्।

अटवास्थित क्यानेडियन क्लबमा बजेटअघि आयोजित कार्यक्रममा उनले आप्रवासन आवश्यक भए पनि नयाँ आउने मानिसलाई आधारभूत सेवा र पूर्वाधार उपलब्ध गराउन सक्ने स्तरमा मात्रै संख्या निर्धारण गर्नुपर्ने बताए।

उनका अनुसार सरकारले अहिले र भविष्य दुवैका लागि धान्न सकिने आप्रवासनको स्तर कायम गर्ने प्रयास गरेको छ।

टोरन्टोमा आयोजित अर्को कार्यक्रममा उनले क्यानाडाले आर्थिक वृद्धिका लागि कामदार र व्यवसायको उत्पादकत्व बढाउनुभन्दा जनसंख्या विस्तारमा बढी भर परेको बताएका थिए।

सरकारले क्यानाडाको कुल जनसंख्यामा अस्थायी बासिन्दाको हिस्सा पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। तर, तथ्यांक क्यानाडाका अनुसार गत जुलाई १ सम्म गैरस्थायी बासिन्दाको संख्या कुल जनसंख्याको ६.७ प्रतिशत थियो।

आप्रवासनसम्बन्धी वार्षिक विवरण नोभेम्बर १ भित्र संसद्‍मा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

संसद् अधिवेशन चलिरहेको अवस्थामा उक्त मितिभित्र विवरण पेस गर्नुपर्ने भए पनि यस वर्ष निर्धारित समयसीमा नाघेपछि मात्रै नयाँ विवरण सार्वजनिक हुन लागेको हो।

तपाईंको प्रतिक्रिया