• मंगलबार, १८ कार्तिक, २०८३
  • Tuesday, 03 November, 2026
  • X

मिसिसागामा खुल्यो १ लाख ७६ हजार वर्गफिटको बहुसांस्कृतिक किराना पसल

नेपालTouch
आइतबार कार्तिक १६, २०८३ | Sunday November 01,2026

अन्टारियो। मिसिसागामा विभिन्न देशका खाद्य सामग्री एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित १ लाख ७६ हजार वर्गफिट क्षेत्रफलको नयाँ किराना पसल सञ्चालनमा आएको छ।

‘फुड वर्ल्ड प्लस’ नामको उक्त पसलमा पूर्वी तथा दक्षिण एसियाली खाद्य सामग्रीका साथै युरोप, क्यारेबियन र मध्यपूर्वका विभिन्न देशका खाद्य सामग्री पनि उपलब्ध छन्। यसको सेवा र सामग्रीको विविधताले क्यानाडाको चर्चित दक्षिण एसियाली किराना शृङ्खला टी एन्ड टी सुपरमार्केटसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

क्यानाडाली कम्पनी जेड ड्यास कर्पका प्रमुख सञ्चालन अधिकृत प्रीत दासका अनुसार पसललाई क्यानाडामा रहेका विभिन्न समुदायका उपभोक्ताको विविधता झल्किने गरी विकास गरिएको हो। कम्पनीको खुद्रा व्यापार, घरजग्गा विकासलगायत विभिन्न क्षेत्रमा कारोबार छ।

दासले एउटै ठूलो पसलमा विश्वका विभिन्न खाद्य संस्कृतिका सामग्री उपलब्ध गराउने आफ्नो उद्देश्य रहेको बताए। उनका अनुसार मिसिसागाका परिवारले विभिन्न समुदायका खाद्य सामग्री किन्न धेरै पसल धाउनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य राखिएको छ।

पसलमा ताजा फलफूल तथा तरकारी, मासु, हलाल खाद्य सामग्री, डेली र चिज, बेकरीका परिकार, मिठाई तथा तयार खानेकुरा उपलब्ध छन्। त्यस्तै दुग्धजन्य सामग्री, फूल, ग्लुटेनरहित खाद्य पदार्थ, विभिन्न देशका भान्सामा प्रयोग हुने सामग्री, मदिरा र बियरका लागि पनि छुट्टाछुट्टै विभाग राखिएको छ।

पसलले ‘भेराइटी रिवार्ड्स’ नामको ग्राहक सदस्यता कार्यक्रम पनि सुरु गरेको छ। नयाँ सदस्य बन्नेलाई १० हजार अतिरिक्त अङ्क दिने व्यवस्था गरिएको छ। उद्घाटनको पहिलो सातामा ५० क्यानेडियन डलर वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकले दोब्बर पुरस्कार अङ्क पाउनेछन्।

त्यस्तै, १०० डलर वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकलाई टोरन्टो र्‍याप्टर्सको खेलका दुई टिकट, एलोरा मिल्समा सप्ताहान्त बिताउने अवसर, ६५ इन्चको रोकु टेलिभिजन र हुन्डाई एलान्ट्रा कारमध्ये पुरस्कार जित्ने अवसरसहितको चिठ्ठामा सहभागी गराइने कम्पनीले जनाएको छ।

नयाँ पसल मिसिसागाको ५० म्याथेसन बुलेभार्ड इस्टमा रहेको छ। यसबारे ‘ग्रोसरी बिजनेस’ले अक्टोबर ३० मा समाचार प्रकाशित गरेको हो।

तपाईंको प्रतिक्रिया