क्यानाडाबाट सात महिनामा १२ हजारभन्दा बढी 'डिपोर्ट'
नेपालTouch
क्यानाडामा आप्रवासन नीतिहरू कडा पारिएसँगै देश निकाला (डिपोर्ट) हुने विदेशी नागरिकहरूको संख्यामा उच्च वृद्धि भएको छ।
क्यानाडा बोर्डर सर्भिसेस एजेन्सी (सीबीएसए) ले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांक अनुसार सन् २०२६ को पहिलो सात महिना अर्थात् जनवरीदेखि जुलाईसम्म कुल १२ हजार ४ सय ९१ जनालाई क्यानडाबाट निष्कासन गरिएको छ।
संघीय सरकारले अस्थायी बासिन्दाहरूको संख्या घटाउने, आप्रवासन प्रणालीलाई व्यवस्थित गर्ने र नियमहरूको पालना कडाइका साथ लागू गर्ने नीति लिएसँगै कारबाही तीव्र पारिएको छ।
एजेन्सीको विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी भारतीय नागरिकहरू देश निकालामा परेका छन्।
सन् २०२६ को पहिलो सात महिनामा ३ हजार ७ सय १७ जना भारतीय नागरिक निष्कासनमा परेका छन्, जुन कुल निष्कासनको करिब ३० प्रतिशत हो। यसअघि लगातार शीर्ष स्थानमा रहँदै आएको मेक्सिको यसपटक १ हजार ९ सय ३६ जना निष्कासनसहित दोस्रो स्थानमा झरेको छ।
निष्कासनमा पर्ने अन्य प्रमुख देशहरूमा संयुक्त राज्य अमेरिका (५१०), कोलम्बिया (४७३) र हाइटी (४१४) रहेका छन्।
अधिकांश निष्कासनहरू आपराधिक गतिविधिभन्दा पनि आप्रवासनसम्बन्धी नियम उल्लङ्घनका कारण भएका छन्। शरणार्थीसम्बन्धी दाबी अस्वीकृत भएका तथा भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइएको छ।
क्यानडा सरकारले देशको सीमा सुरक्षा र आप्रवासन प्रणालीको विश्वसनीयता कायम राख्न आगामी दिनहरूमा पनि नियम उल्लङ्घन गर्नेहरूमाथिको निगरानी र निष्कासन प्रक्रियालाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर


.png)





.png)



.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया