• आइतबार, ३० कार्तिक, २०८३
  • Sunday, 15 November, 2026
  • X

क्यानाडामा नेपाली इन्जिनियरहरू संगठित, पुरानो कमिटीलाई पनि समेटिने

नेपालTouch
शनिबार कार्तिक २९, २०८३ | Saturday November 14,2026

टोरन्टो। क्यानाडामा  रहेका नेपाली मूलका इन्जिनियरहरूलाई सङ्गठित गर्दै उनीहरूको व्यावसायिक क्षमता, अनुभव, विशेषज्ञता तथा योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले 'सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन क्यानाडा' (Society of Nepalese Engineers in Canada - SONEC) नामक संस्था गठन गरिएको छ। विधिवत् रूपमा दर्ता भएपछिको संस्थाको अध्यक्षमा इन्जिनियर ज्ञानप्रसाद गौतम चयन भएका छन्।

क्यानाडाका विभिन्न प्रोभिन्स तथा टेरिटोरिजको प्रतिनिधित्व समेटेर गठन गरिएको यस कमिटीले संस्थालाई राष्ट्रिय स्तरमा व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने दिशामा काम गर्ने संस्थाका एक बोर्ड सदस्य खगेन्द्र कँडेलले जानकारी दिए।

सन् २०१९ मै यही नाममा क्यानाडाका नेपाली इन्जिनियरहरू सङ्गठित भएका थिए। तर, अध्यक्ष गौतमका अनुसार त्यसलाई औपचारिक रूपमा दर्ता गरिएको थिएन। संस्थालाई गत अगस्ट २९, २०२६ मा कर्पोरेट क्यानाडामा दर्ता गरिएको थियो।

नयाँ संस्थामा ५१ जनाको बोर्ड बनाउने प्रावधान राखिएको छ तर हाल २१ जनाको मात्रै टुङ्गो लागेको छ। पुरानो अनौपचारिक संस्थाका कतिपय सदस्य र पदाधिकारीले उही नाममा नयाँ संस्था दर्ता गरेर प्रचारप्रसार गरेपछि आपत्ति जनाएका थिए। तर, अध्यक्ष गौतमले पुरानो टिमसँग कुराकानी भएको र सबैजनालाई समेटेर अघि बढ्ने समझदारी गरिएको नेपाल टचलाई जनाए।

"केहि दिनमा संस्थाका सबै पदाधिकारीको जानकारी सार्वजनिक गर्छौं", उनले भने।

उनले पुरानो संस्थाको कोसँग कुराकानी भएको हो भन्नेबारे भने खुलाउन चाहेनन्।

नवगठित कमिटीले आगामी एक वर्षभित्र संस्थाको पहिलो साधारण सभा आयोजना गरी नयाँ कार्यसमिति गठन गर्ने योजना बनाएको छ। साधारण सभापछि हालको कमिटीले आफ्नो जिम्मेवारी तथा कार्यभार नयाँ कार्यसमितिलाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ।

क्यानाडाभरिका नेपाली इन्जिनियरबीच एकता, सहकार्य, नेटवर्किङ तथा ज्ञान र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्दै व्यावसायिक विकासका अवसर विस्तार गर्नु सोनेकको प्रमुख लक्ष्य रहेको संस्थाले जनाएको छ।

तपाईंको प्रतिक्रिया