• बिहीबार, २७ कार्तिक, २०८३
  • Thursday, 12 November, 2026
  • X

क्यानाडामा 'इन्टिमेट पार्टनर'बाट हुने हिंसा कीर्तिमानी उच्च विन्दुमा

नेपालTouch
बिहीबार कार्तिक २७, २०८३ | Thursday November 12,2026

टोरन्टो। क्यानाडाको तथ्याङ्क विभागले  सन् २०२५ मा क्यानाडामा प्रहरीमा दर्ता भएका घनिष्ठ साझेदारबाट हुने हिंसा (इन्टिमेट पार्टनर भायोलेन्स) को दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको जनाएको छ। लगातार ८ वर्षदेखि यस्ता हिंसाका घटना लगातार बढिरहेका छन्।

उक्त निकायका अनुसार सन् २०२५ मा घनिष्ठ साझेदार (इन्टिमेट पार्टनर)बाट हुने हिंसाका १ लाख ३३ हजार २५६ घटना दर्ता भएका छन्। १२ वर्ष र सोभन्दा माथिका प्रति १ लाख जनसङ्ख्यामा ३६६ पीडित रहेको तथ्याङ्कले उल्लेख गरको छ। यो दर सन् २०२४ को तुलनामा १.९ प्रतिशतले बढी हो भने सन् २०१८ को तुलनामा करिब १८ प्रतिशतले उच्च हो। सन् २०१८ मा पीडित महिला तथा बालिकाको दर प्रति १ लाख जनामा ३११ थियो।

सन् २०२५ मा प्रहरीमा दर्ता भएका कुल घटनामध्ये झन्डै ७८ प्रतिशत महिला तथा बालिका रहेकाले पीडितमध्ये उनीहरूको सङ्ख्या अत्यधिक रहेको देखिन्छ। पुरुष तथा बालकको पीडित दर प्रति १ लाखमा १६५ रहँदा महिला तथा बालिकाको दर भने ५६६ रहेको छ।

पारिवारिक हिंसा तथा घनिष्ठ साझेदारबाट हुने हिंसाको प्रवृत्तिसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनको एक हिस्साका रूपमा नोभेम्बर १० विभागले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। 

लैङ्गिक समानताप्रतिको बदलिँदो दृष्टिकोण, आर्थिक दबाब र उपलब्ध सहयोगहरूमा पहुँचको अभावलगायतका कारणले हिंसामा निरन्तर वृद्धि भइरहेको भन्दै अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो।

ग्लोबल न्युजसँगको एक अन्तर्वार्तामा वेस्टर्न युनिभर्सिटीको 'सेन्टर फर रिसर्च एन्ड एजुकेसन अन भायोलेन्स अगेन्स्ट वुमन एन्ड चिल्ड्रेन' की अन्तरिम निर्देशक केटलिन मेन्डेसले 'मी टू' जस्ता अभियानको प्रभावसहित बढ्दो जनचेतना र पीडितले पाउने सामुदायिक सहयोगले थप उनीहरूलाई दुर्व्यवहारविरुद्ध उजुरी दिन प्रोत्साहित गरेको हुन सक्ने बताइन्।

घनिष्ठ साझेदारबाट हुने हिंसाका घटनाहरू सधैंजसो कम मात्र दर्ता हुने भएकाले प्रहरीमा दर्ता भएका तथ्याङ्कले समस्याको एउटा पाटो मात्र देखाउने गरेको भन्दै उनले चेतावनी दिइन्।

डेलहाउजी युनिभर्सिटीको सामुदायिक स्वास्थ्य तथा महामारी विभागकी सह-प्राध्यापक अलेक्सा याकुबोभिचले कोभिड–१९ महामारीपछिको आर्थिक दबाबले पनि यस प्रवृत्तिमा योगदान पुर्‍याएको हुन सक्ने ग्लोबल न्युजलाई बताइन्।

उनले आवास अभाव, खाद्य असुरक्षा, आर्थिक अस्थिरता र बेरोजगारीलाई घनिष्ठ साझेदारबाट हुने हिंसाको जोखिम बढाउन सक्ने कारकका रूपमा उल्लेख गरिन्।

तपाईंको प्रतिक्रिया