स्थायी बसोबासका लागि क्यानाडाका प्रान्तलाई १३९ दिनको समय
नेपालTouch
अन्टारियो। क्यानाडाको संघीय सरकारले स्थायी बसोबास (पीआर) का लागि थप हजारौँ कामदारलाई मनोनयन गर्न प्रान्त र क्षेत्रीय सरकारलाई आगामी मार्च ३१, २०२७ सम्मको समय दिएको छ।
यसका लागि अध्यागमन, शरणार्थी तथा नागरिकता क्यानाडा (आइआरसिसी) ले नोभेम्बर १२ मा समयसीमा सार्वजनिक गरेको हो।
थप मनोनयन क्युबेकबाहेक क्यानाडाका अन्य प्रान्त र क्षेत्रमा रहेका तथा प्रादेशिक मनोनयन कार्यक्रम (पीएनपी) मार्फत स्थायी बसोबासका लागि आवेदन दिन योग्य कामदार र उनीहरूका परिवारका सदस्यका लागि हो।
यो व्यवस्था संघीय बजेटमा घोषणा गरिएको सन् २०२७ सम्मको संक्रमणकालीन योजनाअन्तर्गत उपलब्ध गराइने एक लाखसम्मको आर्थिक आप्रवासनसम्बन्धी स्थायी बसोबास कोटाको हिस्सा हो।
यो कोटा सन् २०२७ का लागि पीएनपीमार्फत छुट्याइएको नियमित ९५ हजार स्थानभन्दा अतिरिक्त हुनेछ। नियमित कोटाबाट क्यानाडाबाहिर रहेका आवेदकले पनि स्थायी बसोबास पाउन सक्नेछन्।
थप कोटामध्ये कति स्थान कुन प्रान्त वा क्षेत्रमा बाँडिने भन्ने विवरण भने सार्वजनिक भएको छैन। थप मनोनयन प्रयोग गर्ने वा नगर्ने निर्णय सम्बन्धित प्रान्त र क्षेत्रले नै गर्न सक्नेछन्।
उनीहरूले आफ्ना समुदायमा स्थापित भइसकेका र श्रम बजारको आवश्यकता पूरा गर्ने कामदारलाई प्राथमिकतामा राख्न सक्नेछन्।
थप कोटा प्रादेशिक मनोनयन कार्यक्रमका नियमित तथा एक्सप्रेस इन्ट्रीसँग जोडिएका दुवै प्रक्रियामार्फत प्रयोग गर्न सकिनेछ।
यसका साथै, स्थायी बसोबासका लागि आवेदन दिएर निर्णयको प्रतीक्षामा रहेका कामदारलाई पनि प्रान्त र क्षेत्रले पहिचान गरी थप कोटाअन्तर्गत प्रक्रिया अघि बढाउन सक्नेछन्।
यसमा एट्लान्टिक आप्रवासन कार्यक्रममार्फत आवेदन दिएका कामदारका साथै नयाँ आवेदन बन्द भइसकेका स्टार्टअप भिसा, स्वःरोजगार व्यक्ति, कृषि तथा खाद्य क्षेत्र र घरमै हेरचाह गर्ने कामदारसम्बन्धी कार्यक्रमका आवेदक पनि समेटिन सक्छन्।
थप कोटाअन्तर्गत आफ्नो आवेदन प्रक्रिया अघि बढाउन आवेदकले छुट्टै कुनै कदम चाल्नुपर्ने छैन।
आइआरसिसीले सन् २०२७ को अन्त्यसम्म क्यानाडाभित्र रहेका एक लाखसम्म कामदार र उनीहरूका परिवारलाई स्थायी बसोबासको हैसियत दिने लक्ष्यसहित यो व्यवस्था ल्याएको हो।
यससँगै हङकङका स्थायी बसोबाससम्बन्धी प्रक्रियामा आवेदन दिएका ३२ हजारसम्म, युक्रेन परिवार पुनर्मिलन प्रक्रियाका १८ हजार ८ सयसम्म र मानवीय तथा करुणामूलक आधारमा स्थायी बसोबासका लागि योग्य ठहरिएका १२ हजार ६ सयसम्म व्यक्तिका लागि पनि स्थान उपलब्ध गराउने योजना छ।
त्यस्तै, क्यानाडामा स्थायी बसोबास पाइसकेका व्यक्ति तथा क्यानाडाली नागरिकका ४५ हजारसम्म पति वा पत्नी, कानुनी जीवनसाथी र आश्रित सन्तानलाई पनि यस योजनामा समेटिएको छ।
यी सबै गरी थप दुई लाखसम्म स्थान उपलब्ध गराउने व्यवस्था सन् २०२७ का लागि तोकिएको ३ लाख ८० हजार स्थायी बसोबास प्रवेश लक्ष्यभन्दा अतिरिक्त हुने आइआरसिसीले जनाएको छ।

सम्बन्धित खबर




.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया