दोस्रो विश्वयुद्धमा गोप्य अभियानमा खटिएका क्यानेडियनको सम्मानमा हुलाक टिकट
नेपालTouch
अन्टारियो। दोस्रो विश्वयुद्धका बेला जापानी कब्जामा रहेका एसियाली क्षेत्रमा गोप्य सैन्य अभियानमा सहभागी भएका चिनियाँ मूलका क्यानेडियन नागरिकको योगदानको सम्मानमा 'क्यानाडा पोस्ट'ले नयाँ हुलाक टिकट जारी गरेको छ।
युद्धको सुरुवातमा चिनियाँ मूलका क्यानेडियनलाई सेनामा भर्ती हुन रोक लगाइएको थियो। तर सन् १९४४ मा उनीहरूलाई गोप्य अभियानका लागि आह्वान गरिएपछि करिब १५० जनाले स्वेच्छाले जोखिमपूर्ण जिम्मेवारी लिएका थिए।
उनीहरूलाई भाषा ज्ञान र स्थानीय परिवेशमा घुलमिल हुन सक्ने क्षमताका आधारमा जापानी कब्जामा रहेका एसियाली क्षेत्रमा शत्रुको नियन्त्रण पछाडि गोप्य अभियान सञ्चालन गर्न छनोट गरिएको थियो।
तीमध्ये केही बेलायतको विशेष सैन्य अभियान निकायअन्तर्गतको फोर्स १३६ र केही अस्ट्रेलियाको सेवा तथा गुप्तचर विभागमा आबद्ध थिए।
उनीहरूलाई जासुसी, तोडफोड, छापामार युद्ध, प्यारासुटबाट अवतरण र गुप्त सूचना सङ्कलनलगायतका विषयमा विशेष तालिम दिइएको थियो।
त्यतिबेला चिनियाँ मूलका क्यानेडियन नागरिकले जातीय विभेद भोगिरहेका थिए। सन् १९२३ को चिनियाँ आप्रवासन निषेध ऐनका कारण चीनबाट आप्रवासनमा कडा प्रतिबन्ध थियो।
उनीहरूलाई मतदानको अधिकारसमेत थिएन र विभिन्न पेसा व्यवसाय गर्न पनि कठिनाइ थियो। यस्तो अवस्थामा सेनामा भर्ती हुनु देशप्रतिको आफ्नो प्रतिबद्धता देखाउने र आप्रवासीप्रतिको व्यवहार परिवर्तन गराउने माध्यमका रूपमा धेरैले लिएका थिए।
फोर्स १३६ अन्तर्गत अपरेसन ओब्लिभियनमा सहभागी भएका ह्याङ वङका छोरा रिक वङले आफ्ना बुबाले त्यतिबेला आफ्नो योगदानलाई ठूलो कुरा नठानेको बताए। तर अहिले फर्केर हेर्दा पूर्ण नागरिक अधिकारसमेत नपाएका चिनियाँ मूलका क्यानेडियनले ज्यानकै जोखिम भएको अभियानमा सहभागी हुने निर्णय गर्नु असाधारण रहेको उनको भनाइ छ।
इतिहासकारहरूका अनुसार यी सैनिकको योगदान युद्धमैदानमा मात्र सीमित थिएन। उनीहरूको सेवाले मित्रराष्ट्रको युद्ध प्रयासलाई सहयोग पुर्याउनुका साथै क्यानाडाभित्र समान अधिकारका लागि भएको संघर्षलाई पनि बल दिएको थियो।
युद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा चिनियाँ आप्रवासन निषेध ऐन खारेज भयो। त्यसपछि चिनियाँ मूलका क्यानेडियनले मतदानसहित पूर्ण नागरिक अधिकार प्राप्त गरे।
क्यानाडा पोस्टले नोभेम्बर ३ मा भ्यान्कुभरमा नयाँ टिकट सार्वजनिक गरेको थियो। त्यसको अवसरमा रिमेम्बरेन्स डेअघि मंगलबार टोरन्टोमा पनि कार्यक्रम आयोजना गरिएको थियो।
ग्रेटर टोरन्टोको चिनियाँ सांस्कृतिक केन्द्रसँगको सहकार्यमा आयोजित कार्यक्रममा फोर्स १३६ मा सहभागी भएका व्यक्तिका परिवार तथा आफन्त उपस्थित थिए।
नयाँ टिकटमा सन् १९४५ मा स्वदेश फर्किने प्रतीक्षामा रहेका फोर्स १३६ का सदस्यको ऐतिहासिक श्यामश्वेत तस्बिर राखिएको छ।
त्यसमा फोर्स १३६ को रातो फिनिक्स चिह्नसमेत समावेश गरिएको छ। टिकटमा संस्थाको नाम अंग्रेजी, फ्रेन्च र परम्परागत चिनियाँ भाषामा लेखिएको छ।
ग्रेटर टोरन्टोको चिनियाँ सांस्कृतिक केन्द्रकी प्रतिनिधि शरिफा खानले आप्रवासीले क्यानाडा निर्माणमा योगदान दिनुका साथै देशका लागि युद्धसमेत लडेका थिए भन्ने तथ्यलाई क्यानाडा पोस्टले सम्मान गर्नु महत्त्वपूर्ण रहेको बताइन्। उनले यी कथा चिनियाँ समुदायमा मात्र नभई सबै क्यानाडाली पुस्तासम्म पुर्याउनुपर्ने उल्लेख गरिन्।
क्यानाडा पोस्टका अनुसार नयाँ टिकट र त्यससँग सम्बन्धित सङ्ग्रहयोग्य सामग्री नोभेम्बर ४ देखि क्यानाडाभरका हुलाक कार्यालय तथा संस्थाको वेबसाइटमार्फत उपलब्ध छन्।

सम्बन्धित खबर




.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया