क्यानाडामा सबैभन्दा धेरै चोरी हुने सवारीसाधन होन्डा सीआर-भी
नेपालTouch
अन्टारियो। क्यानाडामा सवारीसाधन चोरीसम्बन्धी पछिल्लो सूचीमा होन्डा सीआर-भी पहिलो स्थानमा परेको छ। बिमा क्षेत्रको अपराध तथा ठगी नियन्त्रणमा काम गर्ने संस्था इक्विटे एसोसिएसनले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित सूचीअनुसार एसयूभी र पिकअप ट्रक चोरीको जोखिममा बढी देखिएका छन्।
सन् २०२५ मा क्यानाडाभर २ हजार १३७ वटा होन्डा सीआर-भी चोरी भएका छन्। दोस्रो स्थानमा रहेको होन्डा सिभिकका १ हजार ८१३ वटा चोरी भएका छन्।
त्यसैगरी टोयोटा आरएभी-४ का १ हजार १४७, डज राम १५०० का १ हजार ७२ र फोर्ड एफ-१५० का १ हजार ५७ वटा चोरी भएको तथ्यांकमा उल्लेख छ।
सबैभन्दा धेरै चोरी भएका सवारीसाधनको सूचीमा छैटौँ स्थानमा लेक्सस आरएक्स सिरिज परेको छ। यसका ९६४ वटा चोरी भएका छन्।
सातौँ स्थानमा सेभ्रोले/जीएमसी सिल्भेराडो/सिएरा १५०० सिरिजका ९२७, आठौँमा टोयोटा टुन्ड्राका ७८७, नवौँमा जिप र्याङ्लरका ६०३ र दसौँ स्थानमा हुन्डाई इलान्ट्राका ४८४ वटा चोरी भएका छन्।
इक्विटे एसोसिएसनको तथ्यांकअनुसार चोरी भएका सवारीसाधनको सङ्ख्याका आधारमा होन्डा सीआर-भी पहिलो स्थानमा रहे पनि बिमा गरिएका सवारीसाधनको अनुपातमा चोरीको दर हेर्दा लेक्सस टीएक्स सिरिज सबैभन्दा अगाडि छ।
सन् २०२४ मोडलका लेक्सस टीएक्समध्ये ११.३७ प्रतिशत चोरी भएका छन्। त्यसपछि टोयोटा ल्यान्डक्रुजर वागनको चोरी दर ११.३२ प्रतिशत छ। यो सूचीले चोरीको सङ्ख्या र चोरीको जोखिमको दर फरक सूचक भएको देखाउँछ।
क्यानाडामा चोरी भएका होन्डा सीआर-भीमध्ये झन्डै ७५ प्रतिशत अन्टारियोमा भएका छन्। अन्टारियोमा सवारीसाधन चोरीको दर देशका अन्य क्षेत्रको तुलनामा उच्च देखिएको छ। सन् २०२५ मा अन्टारियोमा टोयोटा ल्यान्डक्रुजर वागन र लेक्सस टीएक्सको चोरी दर क्रमशः २५.१६ र १९.४० प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।
समग्रमा भने क्यानाडामा सन् २०२५ मा सवारीसाधन चोरी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको छ। त्यस वर्ष देशभर ४६ हजार ९९९ वटा निजी प्रयोजनका सवारीसाधन चोरी भएका थिए।
चोरीका कारण क्यानाडालीहरूले करिब ९० करोड डलर बराबरको आर्थिक क्षति बेहोरेको प्रतिवेदनमा उल्लेख छ। चोरी भएका सवारीसाधन फिर्ता प्राप्त हुने दर पनि सन् २०२५ मा बढेर ५९ प्रतिशत पुगेको छ।
इक्विटे एसोसिएसनका अनुसार संगठित अपराध समूहले विशेषगरी नयाँ र महँगा सवारीसाधनलाई निशाना बनाउने गरेका छन्।
ती सवारीसाधन घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा पुनः बिक्री गर्न वा पार्टपुर्जाका रूपमा प्रयोग गर्न सकिने भएकाले चोरीमा संलग्न समूहको आकर्षण बढेको प्रतिवेदनमा उल्लेख छ।
सवारीसाधनको चाबीबाट निस्कने सङ्केत प्रयोग गरी ढोका खोल्ने र चाबीको नक्कल वा पुनःप्रोग्रामिङ गरेर गाडी चोर्ने प्रविधि पनि प्रयोग भइरहेको छ।
सवारीसाधन चोरीको जोखिम घटाउन घरभित्र चाबीलाई सङ्केत अवरुद्ध गर्ने विशेष थैलीमा राख्ने, स्टेयरिङ लक प्रयोग गर्ने, जीपीएस ट्र्याकिङ उपकरण जडान गर्ने तथा सुरक्षित स्थानमा गाडी पार्क गर्ने उपाय अपनाउन सकिने सुझाव दिइएको छ।
चोरी भएमा क्षतिपूर्ति पाउन सवारी बिमा योजनामा पूर्ण कभरेज समावेश छ कि छैन भन्नेबारे बिमा कम्पनीसँग बुझ्न पनि सुझाव दिइएको छ।

सम्बन्धित खबर







.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया