क्याम्लुप्समा सामूहिक तिहार
नेपालTouch
क्याम्लुप्स। ब्रिटिस कोलम्बियाको क्याम्लुप्सका नेपाली समुदायले सांस्कृतिक प्रस्तुति, लक्ष्मीपूजा तथा देउसीभैलो खेलेर यस वर्षको तिहार सामूहिक रूपमा मनाएको छ।
नेपाली कल्चरल सोसाइटी अफ क्याम्लुप्स (नेस्का) को आयोजनामा कोहिनुर रेस्टुरेन्टको सभाहलमा नोभेम्बर १० मा कार्यक्रम गरिएको थियो। संस्थाका अध्यक्ष रामबाबु पौडेलको संयोजनमा सम्पन्न कार्यक्रम संस्थाका सदस्य अनिष बरालले सञ्चालन गरेका थिए। कार्यक्रममा क्याम्लुप्समा बसोबास गर्ने नेपाली परिवार तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, गायन तथा वाद्यवादन प्रस्तुत गरिएको थियो। बालबालिकातर्फ रुबी पौडेल, नियना पोखरेल, रियोम पौडेल र आयान सुवेदीले प्रस्तुति दिएका थिए। त्यसैगरी, महिलातर्फ प्रतिभा पौडेल, ईसु सापकोटा, पूजा अर्याल र ऋषिका सुवेदी तथा पुरुषतर्फ रामबाबु पौडेल, मिलन मगर, आशिष अधिकारी, राजेन्द्र श्रेष्ठ र डोलेन्द्र गुरुङले सांस्कृतिक प्रस्तुति दिएका थिए।
रेनुका र बुद्धि तथा अमृत र पूजा मगरको नृत्य र गायनले कार्यक्रममा सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। नेपाली मौलिक वेशभूषामा सजिएका सहभागी र कलाकारका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएकी डा. प्रनिता भूषणले यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो कला, संस्कृति र परम्पराबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
नेपालको नवलपुरबाट आएकी सुमित्रा बिडारीले आफ्ना नातिनातिनालाई कार्यक्रममा सहभागी भएको देख्दा खुसी लागेको बताइन्। त्यस्तै, धादिङबाट छोरी भेट्न आएका शिव र लक्ष्मी घिमिरे दम्पतीले देउसीभैलो कार्यक्रममा सहभागी हुँदा नेपालमै रहेको अनुभूति भएको बताए। कोहिनुर रेस्टुरेन्टका सञ्चालक रत्न थापाले यस्ता कार्यक्रमले नेपाली मौलिकता झल्काउनुका साथै विदेशमा आफ्नो चाडपर्व सामूहिक रूपमा मनाउने अवसर प्रदान गर्ने बताए।
कार्यक्रममा देउसीभैलोबाट संकलित रकम संस्थाको हितमा खर्च गरिने आयोजकले जनाएको छ। नेपाली संस्कृति र मौलिक पहिचान झल्काउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष पौडेलले जानकारी दिए।
–भूपेन्द्र शर्मा

सम्बन्धित खबर




.png)






.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया