• आइतबार, ३० कार्तिक, २०८३
  • Sunday, 15 November, 2026
  • X

१० वर्षभित्र घरबारविहीनता अन्त्य गर्ने क्यानाडा सरकारको लक्ष्य

नेपालTouch
शनिबार कार्तिक २९, २०८३ | Saturday November 14,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडा सरकारले आगामी १० वर्षभित्र देशमा घरबारविहीनताको समस्या अन्त्य गर्ने लक्ष्यसहित नयाँ योजना अघि सारेको छ।

अर्थमन्त्री फ्राँस्वा-फिलिप शाम्पेनले बिहीबार सन् २०२६ को संघीय बजेट सार्वजनिक गर्दै यसका लागि ११ अर्ब २० करोड डलर चार वर्षमा र थप १७ अर्ब ८० करोड डलर आगामी वर्षहरूमा खर्च गर्ने प्रस्ताव गरिएको बताए।

‘६५ हजार क्यानाडेली घरबारविहीन छन्। यो समस्या समाधान गर्नु सही काम हो,’ बजेट सार्वजनिक गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा शाम्पेनले भने।

सरकारको योजनाअनुसार घरबारविहीन अवस्थामा रहेका मानिसलाई स्थिर आवासमा पुर्‍याउने, मानसिक स्वास्थ्य तथा लागुऔषध दुर्व्यसन उपचारका सुविधा विस्तार गर्ने र घरबारविहीन हुनबाट रोक्ने कार्यक्रमलाई सहयोग गरिनेछ।

यसका लागि संघीय सरकारले प्रान्त, स्थानीय सरकार, आदिवासी समुदाय, निजी क्षेत्र र गैरनाफामूलक संस्थासँग सहकार्य गर्ने जनाएको छ।

बजेटले घरबारविहीनता न्यूनीकरणका लागि नयाँ कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। यसबाट स्वास्थ्य सेवा, दुर्व्यसन उपचार र सामाजिक सहयोगसँग जोडिएका आवास परियोजनालाई रकम उपलब्ध गराइनेछ। साथै देशभर सहयोगी तथा अस्थायी आवास निर्माण गरिनेछ।

योजनाअनुसार संघीय सरकारले आवास निर्माणको पुँजीगत खर्च बेहोर्नेछ भने प्रान्त र क्षेत्रीय सरकारले त्यसको सञ्चालन तथा आवश्यक सेवा उपलब्ध गराउनेछन्।

रोजगारीका लागि तालिम, आय सहायता र स्वास्थ्य सेवाजस्ता कार्यक्रम पनि यसै योजनामा समेटिएका छन्।

सरकारले मानसिक स्वास्थ्य तथा दुर्व्यसन उपचारका लागि सामुदायिक सुविधा निर्माण गर्न दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

यसका साथै घरबारविहीन पूर्वसैनिकलाई सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

सन् २०२५ मा गरिएको सरकारी गणनाअनुसार क्यानाडामा एकै रातमा करिब ६५ हजार मानिस घरबारविहीन अवस्थामा थिए।

सन् २०२२ मा तथ्याङ्क क्यानाडाले गरेको अध्ययनमा झन्डै आठमध्ये एक घरपरिवारले जीवनको कुनै न कुनै समयमा घरबारविहीनताको अनुभव गरेको देखिएको थियो।

आदिवासी समुदायमा यस्तो अनुभव गर्नेको अनुपात चारमध्ये एकभन्दा बढी रहेको अध्ययनले देखाएको थियो।

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेटमा प्रस्ताव गरेको यो योजनालाई घरबारविहीनता अन्त्य गर्ने दीर्घकालीन प्रयासका रूपमा अघि सारेको छ।

तपाईंको प्रतिक्रिया