• शनिबार, ६ मङ्सिर, २०८३
  • Saturday, 21 November, 2026
  • X

टोरन्टो र आसपासका क्षेत्रमा अर्को सातादेखि चिसो बढ्ने

नेपालTouch
शुक्रबार मङ्सिर ५, २०८३ | Friday November 20,2026

टोरन्टो। केही दिनदेखि सामान्यभन्दा न्यानो मौसम अनुभव गरिरहेका टोरन्टो र ग्रेटर टोरन्टो क्षेत्र (जीटीए) मा अर्को साताको सुरुदेखि तापक्रम उल्लेख्य रूपमा घट्ने भएको छ। यस साताको अन्त्यसम्म न्यानो मौसम कायम रहे पनि आइतबार दक्षिणी अन्टारियो प्रवेश गर्ने चिसो हावाको प्रणालीका कारण सोमबार र मंगलबारदेखि जाडो बढ्ने मौसमविद्ले बताएका छन्।

'सिटी न्युज' की प्रमुख मौसमविद् नताशा रामसहाईका अनुसार साताको बाँकी दिन र सप्ताहान्तमा तापक्रम १४ देखि १५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। घाम लाग्ने र उच्च वायुमण्डलीय चापको प्रभावका कारण तापक्रम सामान्यभन्दा बढी रहनेछ।

बिहीबार केही बादल लागे पनि शुक्रबार र शनिबारसम्म न्यानो मौसम कायम रहने पूर्वानुमान छ। तर, आइतबार दक्षिणी अन्टारियोमा चिसो हावाको प्रणाली प्रवेश गरेसँगै मौसममा परिवर्तन आउनेछ।

आइतबार दिउँसो तापक्रम ११ देखि १२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। दिनको उत्तरार्द्धमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। वर्षा साँझ करिब ६ बजेपछि सुरु हुने सम्भावना रहेकाले टोरन्टोमा हुने सान्ता क्लज परेडका अधिकांश कार्यक्रम वर्षाबाट प्रभावित नहुने अनुमान गरिएको छ। यद्यपि, वर्षाको समय परिवर्तन हुन सक्ने बताइएको छ।

सोमबार बिहान करिब ९ डिग्री सेल्सियसबाट सुरु हुने तापक्रम दिनभर घट्दै दिउँसो ४ डिग्रीसम्म झर्नेछ। सोमबार अधिकतम तापक्रम ४ र न्यूनतम माइनस ४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ। छिटपुट वर्षा हुँदै पछि हिउँका मसिना फुल्का झर्न सक्ने सम्भावना पनि छ।

मंगलबार अझ चिसो हुने अनुमान गरिएको छ। त्यस दिन अधिकतम तापक्रम २ र रातिको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियससम्म पुग्नेछ। छिटपुट हिमपातको सम्भावना रहे पनि पछि आकाश खुल्दै जाने मौसम पूर्वानुमानमा उल्लेख छ।

मौसमविद् रामसहाईले सोमबार र मंगलबार बाहिर निस्कनेहरूलाई हल्का ज्याकेटको सट्टा बाक्लो जाडोका कपडा लगाउन सुझाव दिएकी छन्। चिसो हावाका कारण वास्तविक तापक्रमभन्दा बढी जाडो महसुस हुन सक्नेछ।

टोरन्टोको पाँचदिने मौसम पूर्वानुमानअनुसार शुक्रबार नोभेम्बर २० मा आंशिक बदलीसहित घाम लाग्नेछ। अधिकतम तापक्रम १४ र न्यूनतम ५ डिग्री सेल्सियस रहनेछ। शनिबार नोभेम्बर २१ मा बिहान कुहिरो लाग्ने र पछि आंशिक बदली हुने अनुमान छ। त्यस दिन अधिकतम १४ र न्यूनतम ८ डिग्री सेल्सियस रहनेछ।

आइतबार नोभेम्बर २२ मा बादल लाग्ने र दिनको उत्तरार्द्धमा हल्का वर्षा हुन सक्नेछ। अधिकतम तापक्रम ११ र न्यूनतम ८ डिग्री सेल्सियस रहने अनुमान छ। सोमबार नोभेम्बर २३ मा छिटपुट वर्षापछि हिमपात हुन सक्नेछ भने तापक्रम अधिकतम ४ र न्यूनतम माइनस ४ डिग्रीमा झर्नेछ। मंगलबार नोभेम्बर २४ मा छिटपुट हिमपातपछि आकाश खुल्ने र अधिकतम २ तथा न्यूनतम माइनस ३ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।

 

तपाईंको प्रतिक्रिया