• शनिबार, ६ मङ्सिर, २०८३
  • Saturday, 21 November, 2026
  • X

बक्स अफिसमार्फत पहिलो पटक क्यानाडामा रिलिज हुँदै ‘बाटुलो जुन’

नेपालTouch
शुक्रबार मङ्सिर ५, २०८३ | Friday November 20,2026

टोरन्टो।नेपाली चलचित्र ‘बाटुलो जुन’ क्यानाडामा पहिलो पटक नियमित बक्स अफिस प्रणालीमार्फत एकै पटक विभिन्न शहरहरूमा प्रदर्शनमा आएको छ। आगन इभेन्ट्स इंकको वितरणमा यो चलचित्र आजै (नोभेम्बर २०, २०२६) देखि दर्शकमाझ आएको हो।

यसअघि क्यानाडामा हल भाडामा लिएर ‘प्राइभेट स्क्रिनिङ’ मार्फत मात्र चलचित्र प्रदर्शन हुने गरेका थिए। जसका कारण टिकटको मूल्य तुलनात्मक रूपमा महँगो पर्ने गरेको थियो। तर, ‘बाटुलो जुन’ ले नियमित बक्स अफिस प्रणाली अपनाएसँगै दर्शकहरूले पहिलेभन्दा सस्तो मूल्यमा चलचित्र हेर्न पाउने वितरण संस्थाका जिआर भण्डारीले जानकारी दिएका छन्। " अबदेखि दर्शकले सम्बन्धित सिनेमा हलको वेबसाइट वा बक्स अफिसबाट सिधै टिकट खरिद गर्न सक्नेछन्", उनले भने।

अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको चलचित्रको सरी, बिसी, लन्डन, अन्टारायो र मन्ट्रियल, क्युबेक लगायतका शहरका शोहरू ‘हाउसफुल’ भइसकेका छन्। बढ्दो मागलाई मध्यनजर गर्दै शोहरू थपिने क्रम जारी रहेको वितरकले जनाएको छ।

वितरक संस्थाले सार्वजनिक गरेको तालिकाअनुसार अन्टारियोको मिसिसागास्थित सेन्ट्रल पार्कवे सिनेमाजमा नोभेम्बर २० शुक्रबार दिउँसो ३:३० बजे तथा नोभेम्बर २१ शनिबार र २२ आइतबार दिउँसो १२:०० बजे चलचित्र प्रदर्शन हुनेछ। यस हलको टिकट ‘omniwebticketing5.com/central-parkway’ बाट खरिद गर्न सकिनेछ। त्यसैगरी, ब्रिटिस कोलम्बियाको सरीस्थित ल्यान्डमार्क सिनेमाजमा नोभेम्बर २२ आइतबार राति ९:१० बजेको शो अग्रिम बुकिङमै हाउसफुल भएपछि दर्शकको मागअनुसार नोभेम्बर २३ सोमबार राति १०:४५ बजे र २४ मंगलबार राति १०:३५ बजेका लागि थप शो तय गरिएको छ।

अल्बर्टाको एडमन्टनस्थित सिटी सेन्टरमा रहेको ल्यान्डमार्क सिनेमाजमा नोभेम्बर २२ आइतबार साँझ ६:५० बजे चलचित्र लाग्नेछ। अन्टारियोको राजधानी अटावास्थित अर्लिन्स सिनेमाजमा भने नोभेम्बर २९ आइतबार साँझ ५:०० बजे प्रदर्शन तय गरिएको छ। अटवामा टिकट मूल्य २५ डलर तोकिएको छ। 

यसबाहेक भ्यानकुभरमा समेत चलचित्र प्रदर्शनको व्यवस्था गरिएको छ। भ्यानकुभर क्षेत्रका लागि अद्यावधिक शो समय सम्बन्धित थिएटरबाट लिन सकिने वितरकले जनाएको छ। अन्य शहरका थप शो विवरण बारेको जानकारी क्रमशः सार्वजनिक गरिँदै जाने जनाइएको छ।

तपाईंको प्रतिक्रिया