• शनिबार, ६ मङ्सिर, २०८३
  • Saturday, 21 November, 2026
  • X

क्यानाडामा दोस्रोपटक आपतकालीन सूचना प्रणालीको परीक्षण गरिँदै

नेपालTouch
मंगलबार मङ्सिर २, २०८३ | Tuesday November 17,2026

अन्टारियो। क्यानाडाको राष्ट्रिय आपत्कालीन सूचना प्रणाली  ‘अलर्ट रेडी’ ले यस वर्ष दोस्रो पटक बुधबार परीक्षण गर्ने भएको छ। नोभेम्बर १८ मा हुने परीक्षणका क्रममा देशभरका टेलिभिजन, रेडियो र मोबाइल फोनमा एकैसाथ चेतावनीको आवाजसहित सन्देश प्रसारण हुनेछ।

परीक्षणको उद्देश्य प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेको सुनिश्चित गर्नु र नागरिकलाई आपत्कालीन सूचनाबारे सचेत गराउनु रहेको छ। एलटीई वा फाइभजी सञ्जालमा जोडिएका मोबाइल उपकरणमा पनि परीक्षण सन्देश आउनेछ।

प्रान्त तथा क्षेत्रअनुसार परीक्षणको समय फरक हुनेछ। ब्रिटिस कोलम्बिया, अल्बर्टा, सास्काचेवान, मनिटोबा, क्युबेक, नोभा स्कोसिया, नर्थवेस्ट टेरिटोरिज, युकोन र नुनाभुटमा दिउँसो १ बजेर ५५ मिनेटमा सूचना प्रसारण हुनेछ।

अन्टारियोमा दिउँसो १२ बजेर ५५ मिनेट, प्रिन्स एडवार्ड आइल्यान्डमा १२ बजेर ५५ मिनेट, न्यु ब्रन्सविकमा बिहान १० बजेर ५५ मिनेट तथा न्यु फाउन्डल्यान्ड र ल्याब्राडोरमा बिहान ९ बजेर ५५ मिनेटमा परीक्षण गरिनेछ।

‘अलर्ट रेडी’ प्रणालीमार्फत सरकारले टोर्नाडो, बाढी, डढेलो तथा बालबालिका हराएको अवस्थामा जारी गरिने एम्बर अलर्टलगायत आपत्कालीन सूचना नागरिकसम्म पुर्‍याउँदै आएको छ।

परीक्षणका क्रममा आउने सूचना प्राप्त गर्नबाट नागरिकले आफूलाई अलग राख्न सक्ने छैनन्। परीक्षण सूचना वा समग्र ‘अलर्ट रेडी’ प्रणालीबाट बाहिरिने विकल्प उपलब्ध छैन। यो प्रणालीको परीक्षण सामान्यतया मे र नोभेम्बरमा गरिन्छ।

तपाईंको प्रतिक्रिया