स्कार्बोरोमा गोली चल्दा दुई किशोरको मृत्यु, एक घाइते
नेपालTouch
अन्टारियो। क्यानाडाको टोरन्टोस्थित स्कार्बोरोमा आइतबार बिहान भएको गोलीकाण्डमा दुई किशोरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
टोरन्टो प्रहरीले मृत्यु हुने दुवै किशोर १६ वर्षका रहेको जनाएको छ। उनीहरूको पहिचान इजेकियल टारेन्स जोसेफ-जेफ्री र ज्याक्सन रोबिन क्लिफोर्ड पर्साउडका रूपमा गरिएको छ।
दुवै टोरन्टोका बासिन्दा हुन्। घाइते किशोरको अवस्था गम्भीर रहे पनि उनको स्वास्थ्यमा सुधार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १२ः३० बजे एलेस्मियर र ब्रिम्ली सडकनजिकै रहेको पेट्रो-क्यानाडा पेट्रोल पम्पमा गोली चलेको खबरपछि प्रहरी र आपत्कालीन उद्धार टोली घटनास्थल पुगेका थिए। त्यहाँ गोली लागेका तीन किशोर भेटिएका थिए।
उनीहरूलाई तत्काल अस्पताल लगिए पनि दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। तेस्रो किशोरको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नजिकैको औद्योगिक क्षेत्रमा आयोजित निजी जमघटपछि दुई समूहबीच विवाद भएको थियो।
उक्त कार्यक्रममा करिब ५० जना सहभागी रहेको र गोली चलेपछि उनीहरू विभिन्न दिशातर्फ भागेको अनुसन्धान अधिकारीले बताएका छन्।
प्रहरीले गोलीकाण्ड सुरुमा एलेस्मियर सडकको पश्चिमतर्फ भएको र घाइते किशोरहरू पछि पेट्रोल पम्पसम्म पुगेको हुन सक्ने जनाएको छ। घटनामा कम्तीमा १० राउन्ड गोली चलेको स्थानीय बासिन्दाले बताएका छन्।
घटनापछि भाग्ने क्रममा एउटा सवारीसाधनले एक जनालाई ठक्कर दिएको पनि प्रहरीले जनाएको छ। तर ती व्यक्तिलाई ठूलो चोट नलागेको र उक्त सवारीसाधन गोलीकाण्डमा संलग्न रहेको नदेखिएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न कुनै पनि शंकास्पद व्यक्तिको पहिचान भएको छैन। प्रहरीले ब्रिम्ली रोडदेखि मिडल्यान्ड एभिन्युसम्म र एलेस्मियरदेखि लरेन्स एभिन्युसम्मका बासिन्दा तथा व्यवसायीलाई आइतबार बिहान १२ः३० देखि १ बजेसम्मको निगरानी क्यामेराको दृश्य उपलब्ध गराउन आग्रह गरेको छ।
घटनाको अनुसन्धान टोरन्टो प्रहरीको हत्या तथा बेपत्ता व्यक्ति अनुसन्धान टोलीले गरिरहेको छ। प्रहरीले घटनाबारे जानकारी हुने व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर









.png)




.png)
.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया