• मंगलबार, ९ मङ्सिर, २०८३
  • Tuesday, 24 November, 2026
  • X

‘नदिने बुहारी बुधबार बार्छिन्’

डा. पुण्यसागर मरहट्टा

शनिबार मङ्सिर ६, २०८३ | Saturday November 21,2026
-नेपाल टच ग्राफिक्स

एनआरएनए क्यानडाको सामुदायिक भवन खरिद अभियान र सामाजिक मनोविज्ञानबारे केही लेख्न मन लाग्यो।

नेपाली समाजमा एउटा घतलाग्दो र व्यङ्ग्यात्मक उखान प्रचलित छ— ‘नदिने बुहारी बुधबार बार्छिन्’। अर्थात्, कसैलाई केही दिनु नपरोस् वा कुनै साझा दायित्वबाट पन्छिनु परोस् भन्ने मनसाय भएपछि मानिसले अनेकौँ बहाना, बारबन्देज र कृत्रिम तर्कहरू तेर्स्याउने गर्दछ। हाम्रो परम्परागत सामाजिक मनोविज्ञानको यो सूक्ष्म चित्रण आज प्रवासको नेपाली डायस्पोरा, विशेषगरी क्यानडामा चर्चामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको सामुदायिक भवन खरिद परियोजना र त्यसवरिपरि देखिएको सामाजिक प्रतिक्रियासँग ठ्याक्कै मेल खान पुगेको देखिन्छ।

सामान्यतः कुनै पनि सामुदायिक वा संस्थागत विकासको यात्रामा फरक मत, आलोचना र प्रश्नहरू उठ्नु स्वाभाविक र लोकतान्त्रिक प्रक्रिया हो। विगतमा प्रवासका कतिपय सहरहरूमा यस्ता परियोजनाहरू अघि बढ्दा तीव्र विवाद, गुटबन्दी र सामाजिक ध्रुवीकरण देखिने गरेका थिए। एडमन्टनमा सन् २०११ तिरको अनुभव त्यस्तै थियो। लेखक स्वयम् सह-कोषाध्यक्ष रहेको उक्त बोर्डमा गरिएका लामा बहस सम्झिन्छु।

आफैँले ‘भवन एसेट हुने हो कि लायबिलिटी?’ भनेर उठाएको प्रश्न सम्झिन्छु। तर, अहिले एनआरएनए क्यानडाको सन्दर्भमा भने परिस्थिति केही फरक र विचारणीय देखिएको छ। एकातिर सामुदायिक भवन खरिदको यो महत्त्वाकाङ्क्षी अभियानमा अपेक्षाकृत रूपमा कम सामाजिक विरोध वा प्रतिरोध देखिएको छ भने अर्कोतिर सहभागिता र आर्थिक सहयोगको पाटोमा भने एक किसिमको मौनता वा 'बुधबार बार्ने' प्रवृत्ति पनि उत्तिकै सल्बलाएको महसुस गर्न सकिन्छ।

यसै सन्दर्भमा हाम्रो घरायसी ठट्टा पनि सम्झिन्छु।

तीर्थयात्रामा हिँडेकी हाम्री फुपू दिदीलाई रेल यात्राले गलाएकै थियो। गर्मीको समय, उराठलाग्दो 'चाय गरम, चाय गरम' को आवाज दिदीले 'के गरम, के गरम' भन्ने सुन्नुहुँदो रहेछ। र झोक्किएर 'जे सुकै गर् मुर्दार' भन्नु भएछ। एउटा गजबको अवस्था हुन्छ मान्छेको, उसले अर्काले बोलेको आफ्नो भाषामा सुन्छ, बुझ्छ। सायद त्यस्तै भयो होला, एनआरएनए क्यानडाले एकथोक भनिरहेछ, समुदायले आफ्नै भाषामा बुझिरहेछ। व्यस्तता यति छ कि के भन्यो होला त भनेर सुन्ने फुर्सद पनि छैन। तर पनि यसबाट बुझ्न सकिने तथ्य के हो भने पश्चिम क्यानडामा गरिएको भवन खरिद र त्यसले सामुदायिक सेवामा पुर्‍याएको योगदानले नेपालीको घनत्व बढी भएको बृहत् टोरन्टो क्षेत्रमा पनि समुदायलाई उत्साहित गरेको छ। तथापि विगतमा एनआरएनए क्यानडा वा अन्य विविध सामुदायिक संस्थाहरूले गरेको असफल प्रयास र अपेक्षानुरूपको पारदर्शी आर्थिक कारोबार नहुनुले समुदायमा एक प्रकारको सन्देह हुनु स्वाभाविक हो। सन्देहका बाबजुद पनि किन कम छ त सामाजिक प्रतिरोध?

क्यानडामा बसोबास गर्ने ठुलो नेपाली समुदाय शिक्षित, व्यावसायिक र नीतिगत प्रक्रियाप्रति सचेत छ। भवन खरिदजस्तो दीर्घकालीन र संवेदनशील विषयमा विगतका अन्य देशका साथै प्रान्तीय तीता अनुभवहरूबाट पाठ सिक्दै पारदर्शिता र कानुनी प्रक्रियालाई प्राथमिकतामा राखिनुले खुलेर विरोध गर्ने ठाउँ साँघुरिएको हुन सक्छ। तथापि अपेक्षानुरूपको पारदर्शिता एनआरएनएजस्तो संस्थाले अन्य सामुदायिक संस्थाले झैँ दिन सकेको छैन। त्यसका विविध कारणमध्ये यसको देशैभरि फैलिएको संरचना, अपेक्षाकृत ठुलो बोर्ड, कर्पोरेट संस्कृतिको अभाव, ठुलो बजेट, गोपनीयता, आपसी संशय, र बोर्डभित्रै हुने हेलचेक्र्याइँ केही प्रमुख हुन्।

केही स्वयंसेवी साथीहरूले दिएको समयको सम्मानसमेत नहुने र त्यसको सिद्धान्तनिष्ठ विवेचनासमेत बोर्डभित्रै नहुने विगतदेखिको रोगको निरन्तरताले समयमै आयव्यय बाहिर ल्याउन कठिन भएको सत्य हो। उदाहरणार्थ, विगतदेखिनै केही स्पन्सर भनी कबोलिएको रकम उठेको छैन। कतिपय अवस्थामा त हामी आफैँ कबोलाउन कुद्छौँ, उठाउन कुद्दैनौँ। त्यसरी नकुद्दा नेतृत्व असफल भइहाल्छ कि भन्ने सोचाइ पनि छ होला। नेतृत्व असफल हुँदा अन्य कोही कसरी सफल हुन्छ होला र?

एउटा अकाट्य तथ्य के हो भने क्यानडाजस्तो विशाल भूगोलमा छरिएर रहेका नेपालीहरूका लागि आफ्नो भाषा, संस्कृति, चाडपर्व र नयाँ पुस्ताको पहिचान जोगाउने एउटा ‘साझा घर’ को आवश्यकता सबैले महसुस गरेका छन्। जब आवश्यकता नै साझा हुन्छ, तब खुलेर विरोध गर्दा समाजबाटै अलगथलग भइने डरले पनि कतिपय आलोचकहरू मौन बसेका हुन सक्छन्। तसर्थ, बाहिरबाट हेर्दा विरोध कम देखिनुलाई पूर्ण समर्थनकै रूपमा मात्र बुझ्नु अपूरो हुन सक्छ।

केही जायज प्रश्नहरू अहिले पनि समुदायबाट उठेका छन् हिजोको निर्वाचन प्रक्रिया र मतदाता खरिदबारे। ती प्रश्न गम्भीर छन्। र, जसले आज प्रश्न उठाएका छन्, ती निर्वाचन प्रक्रियामा संलग्न मात्रै नभई सदस्यता भेरिफिकेसन समितिमा नै थिए। र अधिकांश त निर्वाचनका प्रत्यासी नै थिए। त्यसो भन्दै गर्दा हिजो ‘तिमीहरूले गरेको गलत कार्यको भार हामी बोक्दैनौँ’ भन्नु अनुचित हुन्छ। तर अघिल्लो बोर्डले निर्णय गरेर टुङ्ग्याएको भनी जानकारी गराइएको विषयमा अहिलेको बोर्डको राय मागिनु कत्तिको उचित होला?

यसको तार्किक अवतरण आपसी छलफल, स्वतन्त्र लेखा संपरीक्षण र साधारण सभाबाट हुनसक्छ भनेर नै त्यसतर्फ गतिलो काम भएको छ। कता पढ्दै थिएँ, चुनाव आउँछ र फेरि यो मुद्दा फर्केर आउँछ भनेर। त्यसबाट नै अभीष्ट प्रष्ट हुन्छ। त्यतातिर नजाऊँ होला। तर सामुदायिक संस्थाको नेतृत्व लिन जो कसैले गैरकानुनी बाटो अपनाएको छ भने उसलाई कानुनबमोजिम कारबाही हुनुपर्छ। त्यसो भन्दै गर्दा सङ्गठन नै कुनै एक व्यक्तिको पछि कुद्न मिल्दैन। सङ्गठनले गैरकानुनी काम गर्दैन भन्नेमा भने सबैलाई आश्वस्त बनाउन सक्नुपर्छ। सम्भवतः विगतदेखि नै एनआरएनए क्यानडा त्यसमा शिथिल देखिएको छ।

यो कसैप्रतिको विरोध होइन, न औपचारिक जवाफ नै। तथापि, यस्ता प्रश्नका बाबजुद पनि थोरै मात्रै बुधबार बार्ने बुहारी देखिनु सुखद पक्ष हो।

अब थोरै ‘बुधबार बार्ने’ प्रवृत्तिका विविध रूपबारे चर्चा गरौँ। विरोध कम हुनु सकारात्मक पक्ष हो, तर अभियानलाई सफल बनाउन केवल विरोध नहुनु मात्र पर्याप्त हुँदैन; त्यसका लागि सक्रिय सहभागिता र स्रोतको जोहो अनिवार्य हुन्छ। यहाँनेर ‘नदिने बुहारी बुधबार बार्छिन्’ भन्ने उखानको सान्दर्भिकता झल्किन्छ। समाजका एकथरी तप्का यस्ता छन्, जो न त परियोजनाको खुलेर विरोध गर्छन्, न त खुलेर सहयोग नै गर्छन्। बरु, सहयोग गर्ने बेला आएपछि उनीहरूका 'बुधबार' हरू सुरु हुन्छन् :

  • प्रक्रियागत शङ्का : कहिले कार्यसमितिको वैधानिकता वा पारदर्शिताको प्रश्न उठाएर पन्छिने।

  • स्थानको बहाना : कहिले भवन खरिद गर्न लागिएको सहर वा स्थान आफ्नो पायक परेन भनेर तर्क गर्ने।

  • समयको अनुकूलता : कहिले आर्थिक मन्दी, महँगी वा व्यक्तिगत व्यस्तताको कारण देखाउँदै 'अहिले होइन, पछि हेरौँला' भन्ने।

  • विगतको दृष्टान्त : कहिले विगतका अन्य संस्थागत कमजोरीहरूलाई देखाएर वर्तमानको सकारात्मक पहललाई समेत एउटै डालोमा हालेर पन्छिने।

यी सबै तर्कहरू सुन्दा निकै तार्किक र बौद्धिक लागे पनि तिनको अन्तर्यमा प्रायः आफ्नो खल्तीबाट एक डलर पनि नझरोस् वा सामुदायिक दायित्वबाट जोगिन पाइयोस् भन्ने मनोविज्ञान लुकेको हुन्छ।

यसरी हेर्दा अबको एनआरएनएको भावी दिशा निष्क्रिय मौनताबाट सक्रिय अपनत्वतर्फ जानु वा लैजानु पर्ने देखिन्छ।

कुनै पनि सामुदायिक संरचना इँटा, काठ र सिमेन्टले मात्र बन्दैन; त्यो त समुदायका सदस्यहरूको विश्वास, अपनत्व र सामूहिक सङ्कल्पले निर्माण हुन्छ। एनआरएनए क्यानडाले समुदायका सदस्यहरूको विश्वास, अपनत्व र सामूहिक सङ्कल्पको लागि अझै मेहनत गर्नु त छँदैछ, उसले आफैँले अघि सारेको यो भवन खरिद परियोजना केवल एउटा भौतिक संरचना मात्र होइन, यो प्रवासमा नेपालीहरूको संस्थागत परिपक्वताको परीक्षा पनि हो भनी बुझाउनु जरुरी छ।

संस्थाले समुदायमा उठेका सानातिना जिज्ञासाहरूलाई पनि पूर्ण पारदर्शिता र संवादमार्फत सम्बोधन गर्दै कसैलाई पनि बहाना बनाउने ठाउँ नदिनु आवश्यक छ। हामी त्यसका लागि प्रतिबद्ध छौँ। अर्कोतर्फ, समुदायका सदस्यहरूले पनि ‘बुधबार बार्ने’ अर्थात् कृत्रिम बहानाबाजी गरेर पन्छिने प्रवृत्ति त्याग्नुपर्छ। आलोचनात्मक चेत राख्नु राम्रो हो, तर रचनात्मक योगदानबिनाको निष्क्रियताले वा विरोधका लागि विरोधले समाजलाई अगाडि बढाउँदैन। यदि हामीले आज साना बहानाहरू तेर्स्याएर यो अभियानलाई कमजोर बनायौँ भने भोलि हाम्रो भावी पुस्ताले प्रवासमा आफ्नो साझा पहिचान खोज्दा हामीसँग देखाउने एउटै मात्र चिज हुनेछ— बहानाहरूको लामो सूची। तसर्थ, बहाना होइन, हातेमालो गरेर ‘हाम्रो पहिचान, हाम्रो घर’ को सपनालाई यथार्थमा बदल्नु नै आजको बुद्धिमानी हो।

भनिन्छ नि, एक थुकी सुकी, सय थुकी नदी— हजुरहरूको सानोतिनो सहयोग एउटा सफल अभियानको हिस्सा बन्नेछ। एउटा कुरा प्रष्ट छ— यो परियोजनामा बोर्डमा रहेका कुनै पनि पदाधिकारी वा सदस्यको निजी स्वार्थ छैन, कसैलाई व्यक्तिगत लाभ छैन र मरेर लाने कीर्तिको लोभ भने नहुने कुरै भएन।

हजुर पनि त्यो कीर्ति राख्नेमध्येको एक हुन सक्नुहुन्छ। नबारौँ कि बुधबार?!

 

(न्युमार्केट, अन्टारियो निवासी लेखक गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाका वरिष्ठ उपाध्यक्ष हुन्। यो लेखकको निजी धारणा हो।)

तपाईंको प्रतिक्रिया