• मंगलबार, ९ मङ्सिर, २०८३
  • Tuesday, 24 November, 2026
  • X

'क्युबेकका सांसदहरूले राजाका नाममा सपथ लिनु अनिवार्य'

नेपालTouch
सोमबार मङ्सिर ८, २०८३ | Monday November 23,2026

टोरन्टो। क्युबेकको उच्च अदालतका एक न्यायाधीशले राजा चार्ल्सप्रति निष्ठाको शपथ लिनु अनिवार्य नहुने प्रान्तीय कानुनलाई तत्कालका लागि रोकिदिएका छन्। न्यायाधीशले अब प्रान्तीय संसद (नेसनल एसेम्बली) मा प्रवेश गर्नुअघि सबै सांसदहरूले अनिवार्य रूपमा राजाप्रति निष्ठाको शपथ लिनुपर्ने आदेश दिएका हुन्।

न्यायाधीश इयान डेमर्सले सोमबार गरेको फैसलामा सन् २०२२ मा बनाइएको उक्त कानुनले क्युबेक सरकारले क्यानाडाको संविधानको सीमा नाघेको बताए। क्यानाडाको संविदानले बेलायताका राजालाई देशको राष्ट्रप्रमुखका रूपमा स्विकार्दै आएको छ।

"संविधान भनेको होटलको मेनु जस्तो होइन, जहाँ आफूलाई जे मन पर्छ त्यही खाना मात्र छान्न पाइयोस्," २२ पेज लामो फैसलामा न्यायाधीश डेमर्सले लेखेका छन्, "कुनै व्यक्तिको विचार र मान्यताले संविधान संशोधन गर्न प्रेरित गर्न सक्छ। तर ती विचार र मान्यताहरू आफैँ संविधानको विकल्प बन्न सक्दैनन्। अन्यथा, संवैधानिक व्यवस्था भत्किन सक्छ र अराजकता निम्तिन सक्छ।"

अदालतको यो फैसलाले आगामी डिसेम्बर १ देखि सुरु हुने भनिएको संसदीय अधिवेशन समयमै सुरु हुन्छ कि हुँदैन भन्ने अन्योल बढाएको छ र यसले ठूलो संवैधानिक विवाद निम्त्याउने देखिएको छ। यसअघि नोभेम्बर १७ का लागि तोकिएको संसद् बैठक दुई पटक सरिसकेको छ। तत्कालीन विपक्षी दल 'पार्टी क्युबेक्वा' को दबाबमा परेर प्रिमियर फ्रान्स्वा लेगोको सरकारले सन् २०२२ मा यो कानुन पास गरेको थियो।

सो कानुनअनुसार, नेसनल एसेम्ब्लीका सदस्यहरूले राजाप्रति नभई क्युबेकका जनताप्रति निष्ठाको शपथ लिने विकल्प पाएका थिए। अक्टोबर ५ मा सम्पन्न प्रान्तीय निर्वाचनपछि गत महिना शपथ लिँदा सदस्यहरूले त्यही विकल्प रोजेका थिए।

पार्टी क्युबेक्वाका नेता पल सेन्ट-पियरे प्लामन्डनले क्युबेकमा राजतन्त्रको अस्तित्वको कडा विरोध गर्दै आएका छन्।

यस वर्षको सुरुमा भएको प्रान्तीय चुनावको प्रचारका क्रममा उनले आफ्नो पार्टीको सरकार बनेमा क्युबेकका लेफ्टिनेन्ट-गभर्नर (राजाका प्रतिनिधि) को कार्यालयलाई दिइने बजेट रोकिदिने बताएका थिए।

साथै उनले क्युबेकमा बाँकी रहेको जस्तोसुकै 'राजतन्त्र'लाई पूर्ण रूपमा हटाउने' वाचासमेत गरेका थिए।

तपाईंको प्रतिक्रिया