• बुधबार, १० मङ्सिर, २०८३
  • Wednesday, 25 November, 2026
  • X

भाषणले होइन, हिसाबले कमाइन्छ विश्वास

उमेश भण्डारी

बुधबार मङ्सिर १०, २०८३ | Wednesday November 25,2026
नेपाल टच ग्राफिक्स।

नेपाल टचमा हालै प्रकाशित एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा. पुण्यसागर मरहट्टाको लेख 'नदिने बुहारी बुधबार बार्छिन्' ले सामुदायिक भवन, सामाजिक सहभागिता र संस्थागत विश्वासबारे बहसको अवसर दिएको छ। महत्त्वपूर्ण विषय उठाउनुभएकोमा लेखकलाई धन्यवाद। प्रवासमा भाषा, संस्कृति र नयाँ पुस्ताको पहिचानसँग जोडिएको आफ्नै सामुदायिक परिसर हुनु स्वागतयोग्य कुरा हो। तर उद्देश्य सकारात्मक हुँदैमा त्यसलाई अघि बढाउने नेतृत्वको विगत, कार्यशैली र निर्णय प्रक्रियामाथिका प्रश्न स्वतः समाप्त हुँदैनन्।

सामुदायिक सम्पत्तिमा इँटा, काठ र जग्गासँगै समुदायको विश्वास पनि जोडिएको हुन्छ। त्यसैले बहस ‘भवन चाहिन्छ कि चाहिँदैन’ भन्नेमा सीमित हुनु हुँदैन। कसले नेतृत्व गर्छ, निर्णय कसरी हुन्छ र समुदायको योगदानप्रति को जवाफदेही हुन्छ भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण छन्।

सदस्यता विवाद र व्यक्तिगत विवरणको प्रयोग

सन् २०२३–२०२५ मा उपाध्यक्ष तथा सदस्यता समितिको संयोजकका रूपमा काम गर्दा सदस्यता प्रक्रियामा देखिएका अनियमितता र शङ्कास्पद गतिविधिबारे मैले बोर्डसमक्ष कुरा राखेको थिएँ। ती गतिविधि विधानविपरीत, अनैतिक र गैरजिम्मेवार थिए भन्ने मेरो तत्कालीन मूल्याङ्कन थियो। तत्कालीन अध्यक्ष, त्यस बेला बोर्डमा रहनुभएका वर्तमान अध्यक्ष तथा अन्य केही जिम्मेवार पदाधिकारीको भूमिकाप्रति समेत मैले आपत्ति जनाएको थिएँ। यी विषयको निरूपण उजुरी, पत्राचार, सदस्यता अभिलेख र निर्णय प्रक्रियाको स्वतन्त्र परीक्षणबाट हुनुपर्छ भन्ने मेरो अडान कायम छ।

मुख्य प्रश्न अझै अनुत्तरित छन्। सदस्य बनाइएका सबै व्यक्तिलाई आफ्नो सदस्यताबारे जानकारी थियो? शुल्क कसले, कुन उद्देश्यले र कसको सहमतिमा तिरेको थियो? आवेदनका कागजात वास्तविक थिए? घर खरिद वा बीमा गराउँदा रियल्टर तथा बीमा व्यवसायीलाई उपलब्ध गराइएका व्यक्तिगत कागजात अनुमतिबिना सदस्यता बनाउन प्रयोग भएका थिए कि थिएनन्? यी आशङ्काको निरूपण सम्बन्धित आवेदकको पुष्टि र मूल अभिलेखको परीक्षणबाट हुनुपर्छ।

त्यस्तै, सदस्यहरूको फोन नम्बर, इमेल र अन्य व्यक्तिगत विवरण निर्वाचनका उम्मेदवारहरूसम्म कसरी पुगे? कसले र कुन अधिकारमा उपलब्ध गरायो? संस्थागत प्रयोजनका लागि सङ्कलित विवरण चुनावी प्रचारमा प्रयोग गर्न सहमति लिइएको थियो? तत्कालीन उम्मेदवार तथा जिम्मेवार पदाधिकारीबाट पठाइएका भनिएका प्रचार सन्देशबारे अभिलेखसहित जवाफ चाहिन्छ।

अयोग्य आवेदन, अभिलेखको त्रुटि र जानाजानी गलत विवरण वा अरूको कागजात प्रयोग गरी बनाइएको सदस्यता फरक विषय हुन्। व्यक्तिको जानकारी वा सहमतिबिना सदस्यता बनाइएको वा विवरण प्रयोग गरिएको प्रमाणित भए त्यसलाई सामान्य प्रशासनिक कमजोरी मानेर छाड्न मिल्दैन। सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिँदै निष्पक्ष छानबिनबाट जिम्मेवारी निर्धारण गर्नुपर्छ।

विवादित सदस्यताले मतदाता सूची र निर्वाचनको परिणाममा कस्तो प्रभाव पार्‍यो भन्ने निष्कर्ष पनि प्रमाणबाट आउनुपर्छ। निर्वाचन सम्पन्न हुँदैमा सदस्यता प्रक्रियामाथिका प्रश्न समाप्त हुँदैनन्। भूमिकाबारे प्रश्न उठेका व्यक्ति नेतृत्वमा पुगेपछि आफ्नो संलग्नता स्पष्ट गर्नु झनै आवश्यक हुन्छ। समुदायको विश्वास जित्ने आधार निष्पक्ष प्रक्रिया, व्यक्तिगत विवरणको संरक्षण र नेतृत्वको जवाफदेहिता हो।

बोर्डको निर्णय कहाँ छ?

अघिल्लो बोर्डले सदस्यता विवाद टुङ्ग्याइसकेको भन्ने सार्वजनिक दाबीप्रति मेरो असहमति छ। मेरो प्रत्यक्ष सहभागिता र जानकारीका आधारमा, विवादित आर्थिक खर्चको अनुमोदन, सदस्यता शुल्क फिर्ता तथा सम्बन्धित सदस्यता सूचीबारे अहिले प्रस्तुत गरिएजस्तो औपचारिक निर्णय अघिल्लो बोर्डबाट पारित भएको थिएन।

मेरो सम्झनाअनुसार, दुईवर्षे कार्यकालमा म एउटा बैठकमा मात्र अनुपस्थित थिएँ। म नेपाल जाने जानकारी तत्कालीन अध्यक्षलाई गराइसकेपछि, नियमित मासिक बैठकको अभ्यासविपरीत एउटै महिनामा दुईवटा बैठक बोलाइएका थिए। तीमध्ये एउटामा सहभागी हुन सकिनँ। समय निर्धारणबारे मेरो असन्तुष्टि भए पनि यहाँ मुख्य प्रश्न निर्णयको प्रामाणिकता हो।

बोर्डले निर्णय गरेको हो भने प्रमाण देखाइयोस्। बैठक कहिले बस्यो? कार्यसूची र उपस्थिति के थियो? गणपूरक सङ्ख्या पुगेको थियो? प्रस्ताव कसले प्रस्तुत गर्‍यो, कसरी पारित भयो र माइन्युटस् (कार्यवृत्त) कहिले अनुमोदन गरियो? बैठकको सूचना, मूल माइन्युटस्, तत्कालीन पत्राचार र उपलब्ध भिडियो रेकर्डिङको एकसाथ परीक्षणबाट तथ्य स्पष्ट गरियोस्।

पारित नभएका विषयलाई पारित भएको देखाउने कार्यवृत्त तयार गरिएको भन्ने मेरो गम्भीर आपत्ति छ। कुनै व्यक्तिले तयार पारेको कागजात नयाँ बोर्डलाई हस्तान्तरण गर्दैमा त्यसले सामूहिक निर्णयको वैधता प्राप्त गर्दैन। मेरो भनाइसँग असहमति भए सम्बन्धित अभिलेखबाट तथ्यसहित खण्डन गरियोस्। स्वीकृतिबिना खर्च गरिएको वा नभएको निर्णयलाई भएको देखाइएको हो भने जिम्मेवारी निर्धारण हुनुपर्छ। संस्थाको रकम र सदस्यहरूको अधिकारसँग जोडिएका निर्णय प्रामाणिक र विधिवत् अनुमोदित अभिलेखमा आधारित हुनुपर्छ।

वर्तमान बोर्डले प्रश्न आफ्नै नेतृत्वबाट सुरु गरोस्

वर्तमान बोर्डमा सक्षम, अनुभवी र संस्थाप्रति समर्पित साथीहरू हुनुहुन्छ। विगतमा पनि त्यस्ता साथीहरूको मेहनतबाट राम्रा काम भएका छन्। उहाँहरूको योगदानको सम्मान गर्दै मेरो आग्रह छ—समुदायसँग विश्वास र आर्थिक सहयोग माग्नुअघि आफ्नै नेतृत्वलाई सोध्नुहोस्: अघिल्लो बोर्डले पारित गरेको भनिएका निर्णयका मूल प्रमाण कहाँ छन्?

बोर्डले सम्बन्धित अभिलेख हेरेर धारणा बनाएको छ, वा नेतृत्वबाट आएको जानकारीलाई मात्र स्वीकार गरेको छ? बोर्ड परिवर्तन हुँदैमा अनुत्तरित प्रश्न समाप्त हुँदैनन्। वर्तमान अध्यक्षको तत्कालीन भूमिकासमेत स्वतन्त्र परीक्षणका लागि खुला हुनुपर्छ। कुन विषय प्रमाणित छ, कुन विवादित छ र परीक्षण कसले तथा कहिलेसम्म गर्ने हो भन्ने स्पष्ट गरिनुपर्छ।

मेरो अनुभूतिमा केही सक्षम साथीहरू नेतृत्वको व्यवहारका कारण खुलेर बोल्न हिचकिचाउनुहुन्छ। सबैको मौनताको कारण एउटै नहोला। तर प्रश्नलाई व्यक्तिगत विरोध, असहमतिलाई असहयोग र अभिलेखको मागलाई अविश्वास ठानिने वातावरण छ भने त्यो संस्थागत कमजोरी हो। ‘मौनं सम्मतिलक्षणम्’ भनेझैँ मौनतालाई समर्थनका रूपमा बुझिन सक्छ। निर्णयको आधार बुझ्नु, प्रमाण माग्नु र आवश्यक पर्दा असहमति अभिलेख गराउनु पदाधिकारीको जिम्मेवारी हो।

वरिष्ठ उपाध्यक्षको लेखमा उल्लिखित हेलचेक्र्याइँ, पारदर्शिताको कमी र स्वयंसेवकको योगदानको उचित मूल्याङ्कन नहुने समस्यामा अब सुधारको जिम्मेवारी र समयसीमा तोकिनुपर्छ। आर्थिक विवरणमा भएको भनिएको ढिलाइ, आपत्तिको सुनुवाइ र निर्णयका अभिलेखबारे पनि स्पष्ट जवाफ चाहिन्छ। बोर्डका सक्षम सदस्यहरूले नेतृत्वप्रतिको व्यक्तिगत निकटताभन्दा संस्थाप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ।

सार्वजनिक संवाद र स्वतन्त्र समीक्षा

सदस्यता, निर्वाचन, आर्थिक कारोबार र निर्णय प्रक्रियाबारे उठेका प्रश्न स्पष्ट गर्न वर्तमान तथा अघिल्लो बोर्ड, सदस्यता समिति र निर्वाचन समितिको सहभागितामा सार्वजनिक जवाफदेहिता बैठक आयोजना गरिनुपर्छ। समुदायले प्रत्यक्ष वा अनलाइन माध्यमबाट छलफल सुन्न र प्रश्न राख्न पाओस्।

विवादमा प्रत्यक्ष संलग्न नभएको स्वतन्त्र संयोजक चयन गरी बैठकअघि छलफलका विषय र सार्वजनिक गर्न मिल्ने अभिलेख उपलब्ध गराइयोस्। सदस्यहरूको परिचयपत्र, सम्पर्क विवरण र अन्य संवेदनशील सूचना भने सुरक्षित राखिनुपर्छ।

सदस्यता प्रमाणीकरण, शुल्क फिर्ता, विवादित खर्चको स्वीकृति र कार्यवृत्तको प्रामाणिकतालाई स्पष्ट कार्यादेशसहित स्वतन्त्र समीक्षामा लैजानुपर्छ। आरोप, प्रमाण र सम्बन्धित पक्षको जवाफ छुट्याएर निष्कर्ष निकालियोस्। वित्तीय लेखापरीक्षणले सदस्यताको योग्यता, व्यक्तिगत विवरणको प्रयोग वा निर्णय प्रक्रियालाई नसमेटेको भए छुट्टै परीक्षण गरिनुपर्छ। निष्कर्षसँगै सुधारका उपाय, जिम्मेवार निकाय र कार्यान्वयनको समयसीमा सार्वजनिक होस्।

समुदाय किन टाढिएको छ?

समुदायको सहभागिता मूल्याङ्कन गर्दा आर्थिक सहयोगको आग्रहमा आएको प्रतिक्रियालाई मात्र आधार बनाउन मिल्दैन। सदस्यता र निर्वाचन विवाद, आर्थिक पारदर्शिता तथा नेतृत्वको व्यवहारले विश्वासमा पारेको प्रभाव पनि समीक्षा हुनुपर्छ।

सन् २०२५ मा स्कारबोरोमा आयोजित अधिवेशन र सम्बन्धित प्रक्रियाबारे उठेका आपत्तिको निरूपण अभिलेख तथा सहभागीहरूको भनाइका आधारमा गरिनुपर्छ। मेरो मूल्याङ्कनमा, त्यहाँका केही व्यवहार र निर्णय प्रक्रियाले विधानको मर्मलाई उपेक्षा गरेका थिए। कुन प्रावधान कसरी पालना भयो वा भएन भन्ने अभिलेखबाट स्पष्ट गरियोस्।

सहमतिको नाममा विधान मिच्न छुट हुँदैन। सामूहिक समर्थन जुट्दैमा निर्णयको औचित्य र प्रक्रियाबारे प्रश्न सोध्ने अधिकार समाप्त हुँदैन। सामाजिक सञ्जालका सबै अभिव्यक्ति प्रमाणित तथ्य नहोलान्, तर त्यहाँ उठेका ठोस प्रश्नको प्रमाणसहित जवाफ दिनु संस्थाको जिम्मेवारी हो।

व्यापक सहभागिताको सम्भावना बुझ्न एउटा उदाहरण हेरौँ: हामीले दाबी गर्दै आएको क्यानाडामा एक लाखभन्दा बढी नेपाली मूलका व्यक्ति रहेको सङ्ख्यालाई आधार मान्ने हो भने, त्यसको आधा अर्थात् ५० हजार जनाले प्रतिव्यक्ति १० देखि २० क्यानेडियन डलर योगदान गरे पाँचदेखि दस लाख डलर सङ्कलन हुन सक्छ। यो सम्भावनाको उदाहरण हो; त्यति योगदानकर्ता जुट्ने वा सम्पूर्ण लागत धानिने सुनिश्चितता होइन। तर केही व्यक्तिमाथि ठूलो भार थप्नुअघि धेरै व्यक्तिलाई सानो योगदानमार्फत जोड्ने आधार खोजिनुपर्छ।

संस्थाले अद्यावधिक सदस्य सङ्ख्या, सदस्यताको योग्यता, नवीकरण र क्षेत्रगत सहभागिता स्पष्ट गर्दै समुदाय संस्थाबाट टाढिनुका कारण बुझ्नुपर्छ। सीप, अनुभव र समय भएका व्यक्तिलाई जोड्न जिम्मेवारीको स्पष्ट बाँडफाँट, असहमतिको सुनुवाइ र योगदानको उचित मूल्याङ्कन आवश्यक छ। समुदायले सहयोग गरेन भनेर गुनासो गर्नुअघि समुदाय किन टाढिएको छ भन्ने बुझेर त्यसको समाधान खोजिनुपर्छ।

विश्वास माग्नुअघि विश्वासयोग्य व्यवहार

बोर्डमा यति धेरै अनुभव र योग्यता भएपछि त्यसको उपयोग ताली बजाउनसँगै प्रश्न उठाउन पनि होस्। बैठकमा टाउको हल्लाएको दृश्यभन्दा कार्यवृत्तमा विवेक बोलेको प्रमाण संस्थालाई बढी काम लाग्छ। निदाएकालाई ब्युँझाउन सकिन्छ, निदाएको अभिनय गर्नेलाई कठिन हुन्छ भनिन्छ। संस्थाको बैठक आत्मसमीक्षाको थलो बनोस्, सामूहिक निद्राको अभ्यास नबनोस्।

‘एक थुकी सुकी, सय थुकी नदी’ भन्दै सहयोग माग्दा त्यो नदी कहाँ बग्छ, कसले व्यवस्थापन गर्छ र हिसाब कहाँ देखिन्छ भन्ने उत्तर पनि चाहिन्छ। चन्दा माग्दा नदीको उपमा दिने नेतृत्वले हिसाब माग्दा कुहिरोको सहारा लिनु भएन। एनआरएनए क्यानाडा बोर्ड तथा आईसीसीका नेतृत्वकर्ताले प्रश्नकर्ताको मनसाय केलाउनुभन्दा उठेका प्रश्नको निष्पक्ष निरूपणमा सहयोग गरून् र त्रुटि पुष्टि भए सुधार गरून्।

सामुदायिक परिसरको अभियान अघि बढोस्। भवनको ठेगाना तय हुँदै गर्दा जवाफदेहिताको ठेगाना हराउनु भएन। समुदायको आफ्नै परिसर बनोस्; त्यसको जगमा समुदायले विश्वासपूर्वक आफ्नै भन्न सक्ने संस्था उभियोस्।

समुदायलाई ‘बुधबार नबारौँ’ भन्नुअघि नेतृत्वले पनि जवाफदेहिताको दिन सारिरहने अभ्यास अन्त्य गरोस्। सहयोगका लागि सातै दिन खुला रहने पात्रोमा हिसाब दिने दिन पनि भेटियोस्—त्यो सधैँ ‘अर्को बैठकमा’ नपरोस्।

विश्वास भाषणबाट मागिन्छ होला, तर हिसाब, निर्णय र आचरणबाट कमाइन्छ।

-भण्डारी गैरआवासीय नेपाली संघ, क्यानाडाका पूर्वउपाध्यक्ष (२०२३–२०२५) हुन्। 

तपाईंको प्रतिक्रिया