• बुधबार, १० मङ्सिर, २०८३
  • Wednesday, 25 November, 2026
  • X

अमेरिकामा क्यान्सर उपचारको खर्च बेहोर्न माग गर्दै दुई बिरामी अदालतमा

नेपालTouch
बुधबार मङ्सिर १०, २०८३ | Wednesday November 25,2026

अन्टारियो। अन्टारियोमा क्यान्सरबाट पीडित दुई बिरामीले अमेरिकामा उपलब्ध उपचारको खर्च प्रान्तीय सरकारले बेहोर्नुपर्ने माग गर्दै अदालतमा कानुनी चुनौती दिएका छन्। उनीहरूले आफ्नो जीवन बचाउन सक्ने उपचारका लागि ओन्टारियो स्वास्थ्य बिमा योजना (ओएचआइपी) बाट आर्थिक सहयोग मागे पनि आवेदन र पुनरावेदन दुवै अस्वीकृत भएपछि अदालत पुगेका हुन्।

टोरन्टोस्थित ओस्गुड हलमा मङ्गलबारदेखि सुरु भएको सुनुवाइमा ३१ वर्षीया साब्रिना अपिट्ज–ग्रसम्यान र ५९ वर्षीय केभिन न्यासले अन्टारियो सरकारको निर्णयलाई चुनौती दिएका छन्। उनीहरूलाई आवश्यक उपचार अमेरिकामा उपलब्ध भए पनि क्यानाडामा उपलब्ध छैन।

अपिट्ज–ग्रसम्यान सिनोभियल सार्कोमा नामक क्यान्सरबाट पीडित छिन्। उनका वकिलले उपचारका लागि सरकारी सहयोग अस्वीकार गर्दा सरकारले दिएको कारण अस्पष्ट र पर्याप्त नभएको तर्क गरेका छन्। अपिट्ज–ग्रसम्यानका अनुसार चिकित्सकले उनको आयु १२ देखि १८ महिनासम्म हुन सक्ने बताएका छन्। उनले आफू उपचारका लागि अझै आशावादी रहेको बताएकी छन्।

मेटास्टेटिक मेलानोमा अर्थात् शरीरका अन्य भागमा फैलिएको छालाको क्यान्सरबाट पीडित न्यासले पनि तत्काल उपचार आवश्यक रहेको बताएका छन्। उपचारमा ढिलाइ भए आफूहरूका लागि समय नहुने उनको भनाइ छ।

बिरामीका कानुन व्यवसायीले उपचारको खर्च अस्वीकार गर्ने सरकारी निर्णयले उनीहरूको जीवन र व्यक्तिगत सुरक्षासम्बन्धी अधिकार उल्लङ्घन गरेको दाबी गरेका छन्। तर, अन्टारियो सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले सार्वजनिक स्वास्थ्य सेवामा कुन उपचारको खर्च बेहोर्ने भन्ने निर्णय गर्ने अधिकार प्रान्तसँग रहेको र यसअघि भएका अदालतका फैसलाले पनि त्यसलाई समर्थन गर्ने तर्क गरेका छन्।

यसअघि अन्टारियो सरकारले विदेशमा गरिने औषधि उपचारको खर्च बेहोर्ने नियममा संशोधन गरेको थियो। संशोधित व्यवस्थाअनुसार अन्टारियोमै सार्वजनिक खर्चमा उपलब्ध गराइने औषधि वा उपचार अस्थायी रूपमा उपलब्ध हुन नसकेको वा ढिलाइ भएको अवस्थामा मात्रै विदेशमा उपचारको खर्च बेहोर्ने व्यवस्था गरिएको छ।

सरकारले यो संशोधन पुरानै नीतिलाई स्पष्ट पार्न गरिएको बताएको छ। तर, बिरामीका पक्षले यस्तो व्यवस्थाले अन्टारियोमा उपलब्ध नभएका उपचार लिन चाहने बिरामीका लागि सरकारी सहयोग पाउने बाटो अत्यन्तै साँघुरो बनाएको बताएका छन्।

स्वास्थ्यमन्त्री सिल्भिया जोन्सका प्रवक्ताले विदेशमा उपचारको खर्च स्वीकृत गर्ने नीति दशकौँदेखि लागू हुँदै आएको र यस्ता निर्णय राजनीतिक तहबाट नभई सम्बन्धित निकायले गर्ने बताएका छन्।

मुद्दाको सुनुवाइ गरिरहेका तीन न्यायाधीशले बिरामीको अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सकेसम्म छिटो निर्णय दिने प्रयास गर्ने बताएका छन्। अदालतको निर्णय भने आइसकेको छैन।

तपाईंको प्रतिक्रिया