• आइतबार, ७ मङ्सिर, २०८३
  • Sunday, 22 November, 2026
  • X

विदेशमा जन्मिएका नेपाली आमाका सन्तानलाई नागरिकता लिन स्वघोषणा अनिवार्य

नेपालTouch
आइतबार कार्तिक ३०, २०८३ | Sunday November 15,2026

काठमाडौं। विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नेपाली नागरिकता लिन अब आफू र आमाले छुट्टाछुट्टै स्वघोषणा गर्नुपर्ने भएको छ। सरकारले आवश्यक स्वघोषणाको ढाँचा नेपाल नागरिकता नियमावलीको पाँचौँ संशोधनमार्फत स्पष्ट पारेको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको संशोधित नियमावलीमा नेपालको नागरिक आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गरेका, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका व्यक्तिले नागरिकता लिन स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (२ख) मा यसअघि नै यस्तो व्यवस्था थियो। उक्त प्रावधानअनुसार विदेशमा जन्मिए पनि नेपालमा स्थायी बसोबास गरेका, विदेशी नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले आमा र आफूले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्छन्। तर, स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट नहुँदा प्रक्रिया अघि बढाउन कठिनाइ हुन सक्ने अवस्था थियो।

नागरिकता नियमावलीको पाँचौँ संशोधन, २०८३ ले यस्तो नागरिकता लिन आवश्यक स्वघोषणाको ढाँचा अनुसूची–७ग मा समावेश गरेको हो। उक्त अनुसूची नियम ७ को उपनियम (१ख) को खण्ड (ङ) सँग सम्बन्धित छ।

नयाँ ढाँचाअनुसार सम्बन्धित व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गर्दै आएको, विदेशी नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गर्नुपर्नेछ।

स्वघोषणा गर्ने व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति उल्लेख गरी दायाँ तथा बायाँ औँठाछाप लगाउनुपर्ने व्यवस्था छ। स्वघोषणा गराउने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति खुलाउनुपर्नेछ।

नियमावलीमा आमाले गर्ने स्वघोषणाका लागि पनि छुट्टै ढाँचा राखिएको छ। आमाले आफ्नो सन्तान नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र सन्तानको बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गर्नुपर्नेछ।

त्यसका लागि आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी भएको जिल्ला र मिति तथा राष्ट्रिय परिचय नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था छ।

आमा र सन्तान दुवैले स्वघोषणामा उल्लेख गरेका विवरण सत्य भएको प्रतिबद्धता जनाउनुपर्नेछ। विवरण झुटो ठहरे कानुनबमोजिम जिम्मेवार हुने व्यहोरासमेत स्वघोषणामा समेटिएको छ।

यस संशोधनले विदेशमा जन्मिएका, तर नेपाली नागरिक आमाबाट जन्मिएको र कानुनले तोकेका अन्य सर्त पूरा गरेका सन्तानका लागि नागरिकता प्राप्त गर्ने प्रक्रिया थप स्पष्ट बनाएको छ।

तपाईंको प्रतिक्रिया