• मंगलबार, २० असोज, २०८३
  • Tuesday, 06 October, 2026
  • X

टोरन्टो फिल्म फेस्टिभलमा 'एलिफेन्ट्स इन द फग' को नर्थ अमेरिकन प्रिमियर

नेपालTouch
सोमबार भदौ २९, २०८३ | Monday September 14,2026
-Agency

अन्टारियो । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (टिफ) को प्रतिष्ठित 'सेन्टरपिस' विधाअन्तर्गत नेपाली चलचित्र 'एलिफेन्ट्स इन द फग' को नर्थ अमेरिकन प्रिमियर हुने भएको छ।

अविनाश बिक्रम शाहद्वारा लिखित तथा निर्देशित १०८ मिनेट लामो यो चलचित्र नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सह-उत्पादनमा निर्माण भएको हो।

यसअघि अस्करमा मनोनयनमा परेका चर्चित नेपाली चलचित्रहरू 'कालो पोथी' र 'शम्बाला' का सह-लेखक समेत रहेका शाहको यो पहिलो पूर्ण लम्बाइको निर्देशकिय यात्रा हो।

घना जङ्गल र जङ्गली हात्तीहरूको त्रास रहेको नेपाली गाउँको पृष्ठभूमिमा आधारित यस चलचित्रले लैङ्गिक पहिचान, सामाजिक दायित्व र व्यक्तिगत स्वतन्त्रताबीचको सूक्ष्म द्वन्द्वलाई उठान गरेको छ।

चलचित्रको केन्द्रमा पिराती (पुष्पा थिङ लामा) छिन्, जो किन्नर (तेस्रो लिङ्गी) समुदायकी नाइके हुन्। आफ्नै परम्परा, रीतिरिवाज र आत्मीयताले बाँधिएको यस समुदायमा नयाँ सदस्यहरूलाई ब्रह्मचर्यको शपथ र एकापसमा समर्पणको भावका साथ भित्र्याइन्छ। तर, समुदायको नियम र नेतृत्वको जिम्मेवारी सम्हालिरहेकी पिराती एक स्थानीय पुरुष (आशान्त शर्मा) को प्रेममा परेपछि र उनीसँगै दिल्ली भाग्ने सपना देख्न थालेपछि कथाले नयाँ मोड लिन्छ।

आम दर्शकका लागि सेप्टेम्बर १३ आइतबार साँझ ६:३० बजे, सेप्टेम्बर १५ मंगलबार बिहान ११:३० बजे र सेप्टेम्बर १९ शनिबार साँझ ५:०० बजे स्कोसिया बैंक थिएटर टोरन्टोमा अन्तिम शो तय गरिएको छ

पिरातीको यो व्यक्तिगत सपना तब जटिल बन्छ जब उनकी धर्मपुत्री अप्सरा (अलिज घिमिरे) अचानक घना जङ्गलमा बेपत्ता हुन्छिन्। रमाइलो र विद्रोही स्वभावकी अप्सराको खोजीमा सिङ्गो समुदाय जुट्दा पिरातीभित्र एउटा आमाको रूपमा सुरक्षात्मक चेत जाग्छ।

यस घटनाले उनलाई आफ्नो समुदायप्रतिको निष्ठा र आफ्नै हृदयको चाहनाबीच एउटा कठिन रोजाइ गर्नुपर्ने परिस्थितिमा पुर्‍याउँछ।

चलचित्रले परम्परा र आधुनिकताबीचको टकरावका साथै समाजको किनारमा पारिएका पात्रहरूले आफ्नो अस्तित्व र मुक्ति खोज्दा चुकाउनुपर्ने मूल्यलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

महोत्सव अवधिभर यो चलचित्र टोरन्टोस्थित स्कोसिया बैंक थिएटरमा प्रदर्शन हुने तालिका रहेको छ।

चलचित्रको पहिलो प्रेस तथा मार्केट शो सेप्टेम्बर १० बिहीबार दिउँसो १२:२५ बजे सम्पन्न भइसकेको छ भने आम दर्शकका लागि सेप्टेम्बर १३ आइतबार साँझ ६:३० बजे, सेप्टेम्बर १५ मंगलबार बिहान ११:३० बजे र सेप्टेम्बर १९ शनिबार साँझ ५:०० बजे स्कोसिया बैंक थिएटर टोरन्टोमा अन्तिम शो तय गरिएको छ।

गैर-व्यावसायिक कलाकारहरूको प्राकृतिक अभिनय, नोए बाचको उत्कृष्ट सिनेमेटोग्राफी र जीवन्त दृश्य भाषाले भरिएको यो चलचित्रले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ थपेको छ।

पुष्पा थिङ लामा, अलिज घिमिरे र आशान्त शर्माका साथै साहव दिन मिया, जस्मिन विश्वकर्मा र जोएल गुरुङको अभिनय रहेको यस चलचित्रले दर्शकलाई एउटा भावुक र गम्भीर यात्रामा लैजान्छ।

तपाईंको प्रतिक्रिया