हिमालयन मेलामा तीज अघि नै प्रकास सपुतको देउसी
नेपालTouch
मंगलबार श्रावण २६, २०८३ | Tuesday August 11,2026
टोरन्टो। क्यानाडाको टोरोन्टोस्थित ऐतिहासिक नाथन फिलिपस् स्वायरमा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) को आयोजनामा १८औँ हिमालयन मेला २०२६ सम्पन्न भएको छ। सहभागिताका हिसाबले हालसम्मकै सबैभन्दा ठुलो मानिएको यस वर्षको मेलामा नेपाली समुदायका साथै गैरनेपाली दर्शकहरूको समेत उल्लेख्य उपस्थिति थियो।
मेलाको मुख्य आकर्षण चर्चित गायक प्रकाश सपुतलाई ढिलो स्टेजमा ल्याउँदा केही समय दर्शकहरू आयोजकसँग आक्रोशित बनेका थिए। तर, सपुतले मञ्च सम्हालेसँगै उनको रोमाञ्चक र ऊर्जावान प्रस्तुतिले दर्शकको रिसलाई उत्साह र सांगीतिक उमंगमा परिणत गरिदियो। उनले तीज नै नआउँदै देउसी गीत गाएर उपस्थित हजारौँ दर्शकको ध्यान ताने र उनले आफुसँगै गाउन बाध्य बनाए।
फराकिलो दायरा र अभूतपूर्व सहभागिता
क्यानाडामा नेपाली कला, संस्कृति, मौलिक परम्परा, पहिचान र सामुदायिक एकतालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित मेलामा क्यानाडाका विभिन्न शहरहरूबाट हजारौँ मानिस पुगेका थिए। विगतका वर्षहरूभन्दा धेरै स्टलहरू राखिएको यसपटकको मेलामा नेपालीबाहेक अन्य विदेशी समुदायको सहभागिता पनि निकै बाक्लो देखिन्थ्यो, जसले मेलालाई थप समावेशी र व्यापक बनाएको थियो।
कार्यक्रम स्थलमा दिनभर पाँच वटा म्युजिकल ब्याण्ड, १० भन्दा बढी जातीय तथा सांस्कृतिक समूहका झाँकी र दर्जानौँ स्थानीय कलाकारका प्रस्तुतिहरू रहेका थिए। ग्रेटर टोरन्टो एरिया क्षेत्रका विभिन्न संघ–संस्थाले आफ्ना मौलिक पोशाक र झाँकीसहित सामुदायिक परेडमा भाग लिँदै विविधता र एकताको सशक्त प्रदर्शन गरे।
मेलामा देउडाको आकर्षण
हिमालयन मेला २०२६ मा सुदूरपश्चिम समाज क्यानाडाले त्यहाँको मौलिक संस्कृति र पहिचानलाई भव्य रूपमा प्रस्तुत गर्यो।
मेलामा समाजको सहभागिता विशेष गरी सुदूरपश्चिमको मौलिक देउडा नृत्यमार्फत आकर्षणको केन्द्र बनेको थियो। नेपाली समुदायका हजारौँ दर्शकमाझ प्रस्तुत देउडाले सुदूरपश्चिमको लोकसंस्कृति, परम्परा र सामूहिकताको भावलाई क्यानाडाको नेपाली समुदायसम्म पुर्यायो।
समाजका सदस्य तथा कलाकारहरूले परम्परागत पहिरनमा सहभागी हुँदै देउडा प्रस्तुतिका साथै सामुदायिक परेडमा समेत उत्साहजनक सहभागिता जनाएका थिए।
परेडमा सुदूरपश्चिमको पहिचान झल्काउने प्रस्तुति र सहभागिताले क्यानाडामा हुर्कंदै गरेको नयाँ पुस्तामाझ आफ्नो भाषा, संस्कृति र मौलिक परम्पराप्रति गर्व गर्ने सन्देश दिएको थियो।
यस्ता सांस्कृतिक कार्यक्रममार्फत सुदूरपश्चिमको समृद्ध लोककला, परम्परा र पहिचानलाई क्यानाडामा संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने समाजले प्रतिबद्धता दोहोर्याएको छ।
मेलामा लाखे नृत्य, अन्य जातजातिका परम्परागत लोक नृत्य सहित आधुनिक नृत्यहरू पनि मेलाको आकर्षण बनेका थिए।
उच्चस्तरीय प्राविधिक व्यवस्थापन र लगानी
आयोजकले यस वर्ष मेलाको गुणस्तरमा विशेष ध्यान दिइएको थियो। अत्याधुनिक लाइटिङ, विशाल लेड स्क्रिन, डिजिटल प्रस्तुति र आकर्षक स्टेज डिजाइनले कार्यक्रमलाई नयाँ स्तरमा पुर्याएको एनसीसीएसका प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक सुदर्शन सापकोटाले बताए।
उनकाअनुसार मेला सम्पन्न गर्न कुल खर्च ७० हजार बढी खर्च भएको छ। "स्टेज, भिजुअल आर्ट्स र प्राविधिक पक्षमा गरिएको विशेष लगानीका कारण बजेट बढेको भए पनि यसले दर्शकको अनुभवलाई उच्च बनाउन मद्दत गर्यो", उनले भने। मेलाका लागि आवश्यक रकम विभिन्न प्रायोजक, व्यवसायी, प्रदर्शक र दाताहरूबाट संकलन गरिएको थियो भने यसको विस्तृत वित्तीय प्रतिवेदन आगामी केही साताभित्र सार्वजनिक गरिने जनाइएको छ।
व्यावसायिक सक्रियता र मूलधारका संस्था
मेलामा १५ वटा साना व्यवसाय, १९ वटा परम्परागत नेपाली खाद्य स्टल, दुई वटा फुड ट्रक र करिब २० वटा अन्य व्यावसायिक प्रदर्शनी स्टलहरू थिए। नेपाली व्यवसायीका साथै कस्टको (Costco), टीडी ब्याङ्क (TD Bank), आरबीसी (RBC बैङ्क), बीटीटी कलेज (BTT College), अल्टेर्ना बैङ्क (Alterna Bank) र ओसिला इन्टिच्युट (Osila Institute) जस्ता क्यानाडाका मूलधारका वित्तीय तथा शैक्षिक संस्थाहरूको सहभागिताले मेलाको व्यापकता देखायो। कार्यक्रमको मुख्य प्रायोजक पोखरेल ल फर्म तथा मनिट्रान्सफर कम्पनी लेम्फी थिए।
विशिष्ट अतिथि तथा सम्मान
मेलाको औपचारिक समारोहमा क्यानाडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौड्याल, टोरोन्टोकी मेयर ओलिभिया चाउ, एनआरएनए क्यानाडाका अध्यक्ष जगन सापकोटा, संघीय साँसद डोली बेगम, अन्टारियो प्रान्तकी साँसदे क्रिस्टिन वङ-टाम तथा काउन्सिलर नेथन शान लगायतका राजनीतिक र सामुदायिक व्यक्तित्वहरूको गरिमामय उपस्थिति थियो।
कार्यक्रममा करिब ४५ वर्षअघि नेपाल पुगी जनस्वास्थ्य सुधारमा योगदान पुर्याएका विशिष्ट अतिथि जन बर्थोलेट र उनकी पत्नि जुडी बर्थोलेटलाई विशेष स्वागत गरिएको थियो।
यसैगरी, नेपाली कला र सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै बीना बर्मालाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्रदान गरिएको थियो। संस्थाकी पूर्व अध्यक्ष बर्मालाई संस्थामा २५ वर्ष र मेलासँग २० वर्षको निरन्तर सहकार्यका लागि उक्त अवार्ड प्रदान गरिएको थियो। यसैगरी, नेपाली मौलिक बाजा मादलको संरक्षणका लागि सानुराजा महर्जनलाई 'मादल एक्सिलेन्स अवार्ड' बाट सम्मानित गरियो।
समारोह सञ्चालन र भावी प्रतिबद्धता
संस्थाका चेयर विमल बस्नेतको अध्यक्षता, टिकाराम पौडेलको औपचारिक सञ्चालन तथा अनिल भुसाल र सृष्टि श्रेष्ठको सांस्कृतिक संयोजनमा मेला सम्पन्न भएको थियो। संयोजक सापकोटाले स्वागत मन्तव्यसहित सहजीकरण गरेका थिए।
मेलाको सफलताबाट उत्साहित हुँदै सापकोटाले भने, "यस वर्षको ऊर्जा र सामुदायिक सहभागिताले हामीलाई थप जिम्मेवारी दिएको छ। यसपटकका अनुभवहरूबाट सिक्दै आगामी २०२७ को १९औँ हिमालयन मेलालाई अझ भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनेछौँ।"
आयोजक एनसीसीएसले मेला सफल बनाउन सहयोग गर्ने सम्पूर्ण बोर्ड सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार, सञ्चारमाध्यम तथा क्यानेडेली–नेपाली समुदायप्रति हार्दिक आभार प्रकट गरेको छ।







सम्बन्धित खबर








.png)













.png)






तपाईंको प्रतिक्रिया